फिल्म जनै हराएको मान्छेमा समावेश गीत मसुरीको दाना सार्वजनिक गरिएको छ।
एसडी योगी र अञ्जु पन्तले गाएको गीतमा हर्क साउदको शब्द रचना र एसडी योगीकै संगीत रहेको छ। गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडीलगायतको आकर्षक उपस्थिति देखिन्छ। गीतको भिडियोमा निर्देशक हिमाल न्यौपानेको संयोजनमा कोरियोग्राफर सुनील क्षेत्रीले कोरियोग्राफी गरेका छन्। गीतले प्रेम र सम्बन्धका गहिरा धागालाई समेटेको छ। दुनियाँमा मन जित्न सक्ने पात्रहरू आफैं भने व्यक्तिगत जीवनमा अलमलिएको यथार्थबाट गीत शुरु हुन्छ। प्रेमिकाले आफूलाई प्रेमीका लागि योग्य ठान्ने भाव, प्रेमीको नजरले हुरुक्क पार्ने क्षण र सँगै जीवन जिउने सपना गीतको भावनात्मक केन्द्र हुन्।

मौलिक नेपाली शब्दावली प्रयोग गरिएको गीतले सादगीमा गहिरो भावना समेट्छ। नाच्न नजान्ने भनिएको कलाकार विजय बरालले यस गीतका लागि विशेष मेहनत गरेका छन्, जुन कोरियोग्राफीमा झल्किन्छ। फिल्ममा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडीसँगै सुशांक मैनाली, भोलाराज सापकोटा, रियर राई, कविता आले, तारा शर्मा, भावना खपांगी मगर, योगी रूपेश लामा, सुमन थापा, सविनरत्न शाक्य, सुवाससिंह ठकुरी, मौैसम राज, आरके मानन्धर, निरु खड्का गौतमलगायतका कलाकारले अभिनय गरेका छन्।
भानुभक्त ढकालको कथा, पटकथा र संवाद, अर्जुन पोखरेल, प्रभा बर्तौला र हर्क साउदको शब्द रचना, अर्जुन पोखरेल, थानेश्वर गौतम, प्रशान्त शिवाकोटी, एसडी योगी, मनीष सुनार र योगेशकाजीको संगीत, सुनील क्षेत्रीको कोरियोग्राफी, चुल्ठे काजीको एक्सन निर्देशन, मनोज बोगटीको कला निर्देशन, नवीन गुरुङ र कृष्ण परियारको छायांकन, भरत रेग्मीको सम्पादन र सुप्रिम पराजुलीको कलर ग्रेडिङ रहेका फिल्म कमल न्यौपाने र विमल न्यौपानेले पेपरक्लिप ब्यानरमा निर्माण गरेका हुन्। फिल्ममा नारायण तिमिसिना, चूडामणि शिवाकोटी, आरके मानन्धर, सीआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन कार्यकारी निर्माता रहेका छन्।
हालसम्मकै सर्वाधिक कमाई गर्ने पूर्णबहादुरको सारंगीजस्तो फिल्मपछि विजय बरालको मुख्य भूमिकामा पुनः आगमन भएकाले यो फिल्मलाई वर्षको बहुप्रतीक्षित फिल्मका रूपमा लिइएको छ।











प्रतिक्रिया