ललितपुर।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर जिल्ला कमिटीले आफ्ना नेताहरूप्रति लक्षित गरी केही सञ्चारमाध्यममार्फत भ्रामक र अफवाहपूर्ण समाचार सार्वजनिक गरिएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ।
मंगलबार जारी विज्ञप्तिमा जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्य र प्रदेश कमिटी सदस्य प्रदीपप्रसाद चौलागाईंसँग जोडेर प्रचारित समाचारहरू राजनीतिक तथा व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित भएको आरोप लगाइएको छ।
नेकपा (एमाले) ललितपुरका अनुसार समाचारहरूमा सत्यतथ्य नपुगी आरोप–पत्रजस्तो शैलीमा विषय उठान गरिएको छ। उक्त समाचारहरूमध्ये www.hollywoodkhabar.com र www.himalisanchar.com लगायतका अनलाइन माध्यमहरूले प्रकाशन गरेका सामग्रीबारे प्रेस काउन्सिल नेपालमा औपचारिक उजुरी दर्ता गरिसकिएको पनि विज्ञप्तिमा उल्लेख छ।
यस्तै ललितपुर जिल्ला प्रशासन कार्यालयमा २०८२ असार ३० गते संस्थाको लेटरहेड, छाप र हस्ताक्षरको दुरुपयोग (किर्ते) सम्बन्धमा उजुरी दिइएको जानकारी गराइएको छ।
पार्टीका अनुसार घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेकोले साइबर ब्यूरोमा पनि उजुरी दर्ता गर्ने तयारी भइरहेको छ।
नेकपा (एमाले) ललितपुरले आम सञ्चारमाध्यम र जनसमुदायलाई अपिल गर्दै भनेको छ, “राजनीतिक र व्यक्तिगत पूर्वाग्रहबाट प्रेरित गलत सूचना र सामाजिक सञ्जालमार्फत फैलाइएको भ्रामक प्रचारप्रति भ्रममा नपर्नुहोस्। यी सबै खबरहरू कपोकल्पित र तथ्यविहीन छन्।”
विज्ञप्तिमा ललितपुरवासीको समृद्धि र सुशासनका लागि पार्टी र नेतृत्व प्रतिबद्ध रहेको समेत पुनः पुष्टि गरिएको छ।












प्रतिक्रिया