पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको व्यावसायिक योगदानको स्मरण, ‘एक प्रेरणादायी हस्ती गुमायौं’


ललितपुर।

ललितपुरका उद्योगी–व्यवसायीहरूले पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं ललितपुर महानगरपालिकाका पूर्वमेयर स्वर्गीय बुद्धिराज बज्राचार्यले व्यवसाय क्षेत्रलाई पु¥याएको अतुलनीय योगदानको स्मरण गरेका छन्।

ललितपुर उद्योग वाणिज्य संघले मंगलबजारस्थित कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै वक्ताहरूले बज्राचार्यको दूरदर्शी नेतृत्व, आत्मीय व्यवहार र व्यवसायप्रतिको समर्पणको चर्चा गरे।

संघका अध्यक्ष विश्वराज बज्राचार्यले स्वर्गीय बज्राचार्यलाई “एक प्रेरणादायी पथप्रदर्शक” को रूपमा स्मरण गर्दै भने, “उहाँजस्ता बहुआयामिक व्यक्तित्वको निधनले ललितपुरको विकास र व्यवसाय क्षेत्रले अपूरणीय क्षति बेहोरेको छ।”

संघका पूर्वअध्यक्ष शैलेन्द्रलाल प्रधानले स्वर्गीय बज्राचार्यको सामाजिक स्वभाव, सबैसँग मिल्ने बानी र सँधै हँसिलो अनुहारले उहाँलाई बालकदेखि वृद्धसम्म लोकप्रिय बनाएको स्मरण गरे।

प्रधानले २०३८ सालमा संघको अध्यक्ष रहँदा बज्राचार्यको नेतृत्वमा भएको आन्दोलन उल्लेख गर्दै भने, “उहाँको दृढ नेतृत्वले सरकारद्वारा व्यवसायीहरूलाई कालोबजार ऐनअन्र्तगत कारबाही गर्न बनाइएको मूल्य निर्धारण समिति खारेज गराइएको थियो। व्यवसायीको हकहितका लागि राजनीतिमा पनि सक्रिय हुनुपर्ने उहाँको सोच थियो।”

बज्राचार्यका जेठा छोरा वीरराज बज्राचार्यले बुबाको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभाले परिवारलाई कठिन घडीमा आत्मबल प्रदान गरेको बताए।

संघका महासचिव भूमीनन्दन कर्माचार्यले भने, “स्वर्गीय बज्राचार्य व्यवसायीहरूको हकहितका लागि संघको भूमिकालाई सशक्त बनाउन निरन्तर लागिरहनु भएको थियो। उहाँको निधनले हामीले एक अभिभावक गुमाएका छौं।”

स्वर्गीय बज्राचार्य ललितपुरमा प्लाईउड व्यवसाय सुरु गर्ने पहिलो व्यक्ति हुनुका साथै सुनचाँदी उपकरणको पसल स्थापना गर्ने व्यवसायीसमेत थिए। २०३२ सालतिर संघमा प्रवेश गरी उपाध्यक्ष हुँदै अध्यक्षसम्मको यात्रा तय गरेका उनी उद्योग वाणिज्य संघमा समर्पित नेतृत्वकर्ताको रूपमा चिनिन्थे।

सभामा पूर्वअध्यक्ष, पदाधिकारी, विभिन्न वस्तुगत संघका प्रतिनिधि, जातीय समाजका अगुवा र बज्राचार्य परिवारका सदस्यहरूको उपस्थिति थियो। कार्यक्रमको प्रारम्भमा एक मिनेट मौनधारण गरेर स्वर्गीय बज्राचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो।