भेरी नदीमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा सकुसल उद्वार


काठमाडौँ।

डोल्पाको ठुलोभेरी नगरपालिका–३ स्थित धुपीचौरमा भेरी नदीको बीच भागमा फसेका चार जनालाई सशस्त्र प्रहरी बल नेपाल नं. ४६ गुल्म डोल्पाले सकुशल उद्वार गरेको छ।

उद्वार गरिएका व्यक्तिहरूमा त्रिपुरा सुन्दरी नगरपालिका–६ पालुङका ३३ वर्षका ललित बोहरा, २६ वर्षका नन्द प्रसाद बोहरा, ३५ वर्षका लाल कुमार बुढा, र ३७ वर्षका श्यामलाल बोहरा रहेका छन्।

उनीहरू मंगलबार बिहान दाउरा लिन गएका थिए, तर अचानक नदिमा पानीको बहाव बढेपछि उनीहरू बीचमा फसेका थिए। घटना थाहा पाउने बित्तिकै सशस्त्र प्रहरी नायव उपरीक्षक दीपकराज भट्टको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त प्रहरी टोली घटनास्थलमा पुगेको थियो। चारै जनालाई सुरक्षित तरिकाले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको डिएसपी एवं सह प्रबक्ता शैलेन्द्र थापाले जानकारी दिए।

उनका अनुसार उद्धार गरिएका व्यक्तिहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ।