आफूबिरुद्व ज्यानको षडयन्त्र भएको तनुश्रीको आरोप


बलिउड अभिनेत्री तनुश्री दत्ताले सामाजिक सञ्जालमा पछिल्लोपटक एक भिडियो पोस्ट गर्दै आफूलाई अभिनेता स्वं. सुशान्त राजपुत जस्तै तरिकाले मार्ने षड्यन्त्र भएको दाबी गरेकी छन्।

‘म आफ्नै घरमै लगातार छरछिमेकबाट उत्पीडन भोग्दै छु। सायद यो २०१८ को मीटुको आन्दोलनपछि शुरु भएको हो।’ –बुधबार राति उनले रुँदै एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेकी छन्। तनुश्रीले आफ्नो घरमा अज्ञात व्यक्तिहरूले पानीमा मिसावट, चोरी प्रयास र राति अनावश्यक आवाज लगाउने गरेको दाबी गरेकी छन्।

उनले आफ्नो जीवनको गति ३-४ वर्षयता अस्तव्यस्त भएको र आफूले घरमा सहयोगी पनि राख्न नसकेको समेत खुलाएकी छन्। ‘सहयोगीको साथ मेरो जहिले पनि नराम्रो अनुभव छ। उनीहरु घरमा भएको सामान चोरी गर्छन्। त्यस कारण पनि मैले आफ्नो घरको सबै काम आफै गर्नु परिरहेको छ।’ –उनले खुलाएकी छन्।

तनुश्रीले यस घटनाबाट जानकारी गराउन मुम्बई प्रहरीलाई बोलाए पनि प्रहरीले रिपोर्ट फाइल गर्न प्रहरी कार्यालयमै आउन आग्रह गरेको र घटनाबारे सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेपछि प्रहरी तुरुन्त घरमा पुगेर घटनाबारे जानकारी लिएको पनि जनाएकी छन्। यस मामलामा तनुश्रीले ओसिवारा प्रहरीमा सिकायत दर्ता गराएपछि बिहीवार बिहान प्रहरी उनको घरमा पुगेर मामलाबारे जानकारी लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

मिडियासँग प्रहरीले सो मामलामा औपचारिक जानकारी भने दिएको छैन।
यस घटनाले पुनः भारतमा मीटु अभियानलाई प्रकाशमा ल्याएको छ। तनुश्रीले २०१८ मा नाना पाटेकरविरुद्ध यौन उत्पीडनका आरोप लगाएकी थिइन्, जसले भारतमा मीटु आन्दोलनलाई गति दिएको थियो।