नागदहमा नाग पञ्चमी मेलाको तयारी पूरा, नागदहमा स्नान गरे छाला सम्बन्धी रोग निको हुने जनविश्वास


ललितपुर। 

 हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन धापाखेलस्थित नागदहमा लाग्ने नाग पञ्चमी मेलाको तयारी पूरा भएको छ । ललितपुर महानगरपालिका वडा नम्बर २४ धापाखेलस्थित नागदहमा मंगलबार लाग्ने मेलाको तयारी लगभग पुरा भएको सो वडाले जानकारी दिएको छ ।  

मूल आयोजक रहेको वडा नम्बर २४ को संयोजकमा वडाअध्यक्ष दिनेशजंग पाण्डे रहेका छन् । 

हरेक वर्षको साउन शुक्ल पञ्चमीका दिन लाग्ने नागपञ्चमी मनाउने गरिन्छ । 

मेलालाई केन्द्रित गरेर सरसफाई, बाटोको खाल्डाखुल्डी पुर्ने , नागदह छेउमा रहेको नागमन्दिरलाई रंगरोगन र वरपर ध्वजा–पतकाले सिंगार्ने काम सम्पन्न भएको छ । नागपंचमी मेलालाई ब्यवस्थित पार्न नागदह भित्र रहेका जलकुम्भि झार हटाइएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । 

उनका अनुसार नागदहको मेलालाई केन्द्रित गरेर दहको छेउछेउका भागमा रहेका अनावश्यक झार र पात हटाउन स्थानीय यूवाहरुलाई लगाइएको छ

 नागदहभित्रको जलकुम्भी जार , सिसि, बोतल , प्लाष्टिक लगायतका फोहोरको व्यवस्थापन चक्रपथ सफाइ अभियान अन्तर्गत सिर्जनशिप सेवा प्रालि , वडास्थित महिला समूह , नगरप्रहरी , गिरी समाज लगायतले गरेको उनले बताए । 

मेलाका दिन विहान ३ बजेदेखि नै भक्तजनहरुलाई दर्शनको ब्यवस्था गरिने उनले बताए । यदि भक्तजनको चाप भएमा स्वयंसेवकलाई लाइनको व्यवस्थापन गर्न लगाइने वडा अध्यक्ष पाण्डेले बताए । जाल्पा माविको स्काउट ग्रुप, महिला समूह र नगर प्रहरी लगायतले स्वयंसेवकको भूमिका निर्वाह गर्नेछन् , ’ उनले भने,  हामीले करिब ५० हजार जति भक्तजनले अवलोकन गर्ने अनुमान गरेका छौँ ।’ 

सवारी साधन ब्यवस्थापनका लागि सातदोवाटो ट्राफिक प्रहरी र धापाखेल प्रहरी प्रभागले जिम्मा सम्हाल्नेछन् । नि:शुल्क पार्किङका लागि समावेशी टोल, र जल्पा स्कुलमा ब्यवस्था मिलाइएको छ । 

नागपञ्चमी मेलाका लागी महानगरपालिकाको सांस्कृति र पर्यटन शाखाबाट डेढ  लाख आएको वडा अध्यक्ष एवं संयोजक पाण्डेले जानकारी दिए । ‘ यसबाटै मेला अवधीका सम्पूर्ण खर्च गछौँ, ’ उनले भने , ‘ त्यो बजेट अपुग भएमा आवश्यकता अनुसार वडाबाट पैसा निकासा गछौँ । 

मेला ब्यवस्थापनका लागि अघिपछि जस्तो उपसमिती बनाएपनि विभिन्न व्यक्ति तथा संस्थालाई पनि विभिन्न जिम्मेवारी दिइएको उनले बताए । 

स्वास्थ्य उपचारका लागि धापाखेल हेल्थपोष्ट , रेडक्रस र सुमेरु अस्पताललाई जिम्मा दिइएको वडा सदस्य उद्धव बस्नेतले जानकारी दिए । 

मन्दिर सजावट र वत्ति ब्यवस्थापनको जिम्मेवारी महेश कुमार गिरी र देवेन्द्र गिरीलाई दिइएको छ । 

मन्दिर भित्र पूजाआजा र रुद्री पाठका लागि डोल प्रसाद पराजुली र शिव गिरीलाई तोकिएको वडा अध्यक्ष पाण्डेले जानकारी दिए । 

स्थानीय दिपक गिरी र राम कार्किको नेतृत्वमा बजार ब्यवस्थापनको टिम बनाइएको छ । 

नागदह मेलाका क्रममा पौडी खेलेर या स्नान गर्ने क्रममा हुन सक्ने दुर्घटनालाई मध्यनजर गर्दै विपद् तालिम लिएका पूर्व आर्मी गोर्कण प्रसाद अधिकारीको नेतृत्वमा टोली बनाइएको छ । 

आउने भक्तजनलाई प्रसाद वितरण गर्नका लागि वडा सदस्य उद्धव बस्नेतलाई जिम्मा दिइएको छ । 

मेलाका दिन महानगरका प्रमुख, उपप्रमुखसहित सबै वडाका वडा अध्यक्ष र सदस्यहरु , छिमेकी नगरपालिकाका प्रमुखु उपप्रमुख तथा संघीय सांसदहरु , प्रदेश सांसदहरु लगायत जिल्ला भित्रका सरकारी कार्यलय र सुरक्षा निकायका प्रमुख र अन्य प्रतिनिधीलाई पनि डाकिएको वडा सदस्य हरिकृष्ण मर्हजनले जानकारी दिए । 

अतिथी सत्कारका लागि वडाका महिला सदस्य र कर्मचारीलाई जिम्मेवारी दिइएको उनले बताए । 

उनका अनुसार स्व पूजारी राम गिरीको घरबाट नाग दहमा पीत्तलको नागको प्रतिमा नागदहमा ल्याइन्छ र त्यसलाइ पूजा गरिन्छ । राती भएपछि फेरी बाजा गाजासहितको टोलीले फेरी स्व गिरीकै घरमा लगेर राख्दिन्छन् । 

नाग भगवानलाई रिझाए  राम्रो हुने जनविश्वास अनुसार त्यहाँ बासुकी नागको पुजा आजा गरिने गरिएको छ । 

नाग पन्चमीमा नागदहमा आइ नागको दर्शनसँगै स्थान गरे घरमा सुख शान्ति मिल्ने , अन्नवाली सप्रने र छाला सम्बन्धी रोग निको हुने जनविवास छ , वडा अध्यक्ष पाण्डेले भने । 

मेला भर्न उपत्यका र त्यस आसपासका जिल्लाबाट भक्तजनहरु आइ दहमा स्नान गर्नुका साथै विभिन्न भाकलहरु राखी नाग मन्दिरमा पूजा गर्ने तथा दर्शन गर्ने चलन छ ।

मेलामा धापाखेल , झरुवाराशी , चापागाँउ , ठैव , हरिसिद्धी , लुभु , लेले , गोदावरी , छम्पि , सातदोबाटो लगायतबाट भक्तजनहर आउने गरेका छन् । 

५२ रोपनी क्षेत्रफलमा फैलिएको प्राकृतिक दह  नागदहको गहिराई समग्र २५ फिट भएपनि वीच भागमा ४१ फिट रहेको छ । दहको चौडाई ९ सय ३७ मिटर रहेको समितीले जनाएको छ । 

परापुर्वकालमा तालको रुपमा रहेको काठमाडौँको पानी चोभारका गल्छीबाट पठाइएपछि स्वतः निर्मित दहको आफ्नै छुट्टै महत्व रहेको छ । 

आदिकालमा काठमाडौँ उपत्यकाका तीन सहर जलमय भइरहेको बेलामा मञ्जुश्रीले चोभार र बाँडेगाउँको पहाडलाई तान्त्रिक बिधिबाट छेदन गरी पानी बाहिर पठाएको किम्बदन्ती छ । 

त्यसरी पानी बाहिर पठाउँदा नाग राजा पनि बाहिर जाने भएकोले दह बनाएर नागराजालाई राखिएको र त्यही दह धापाखेलस्थित नागदह भएको इतिहास सम्बन्धी पुस्तकहरुमा उल्लेख छ । 

नागदह धार्मिक एवं सांस्कृतिक क्षेत्रका साथै राष्ट्रिय सिमसार क्षेत्र समेत रहेकाले यहाँ विभिन्न स्थानबाट आउने आगन्तुक पन्छिको समेत बासस्थान रहेको छ।