झौखेलका पानी उद्योगको अनुगमन तीव्र: प्रतिबन्धलाई अटेर गरेपछि पाँच कम्पनीमा तालाबन्दी

2.44k
Shares

भक्तपुर ।

चाँगुनारायण नगरपालिकाले झौखेल क्षेत्रमा सञ्चालनमा रहेका पाँच खानेपानी उद्योगमाथि प्रतिबन्ध लगाए पनि बिक्री गरेको पाइएपछि तालाबन्दी गरेको छ । 
बिक्रि वितरण नरोकिएपछि नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक रमेश बुढाथोकीको नेतृत्वमा प्रशासन र उपभोक्ता मञ्च तथा उद्योग वाणिज्य संघले संयुक्त रूपमा अनुगमन गरी उद्योगहरूमा तालाबन्दी गरेको हो ।

अनुगमन समितिको बैठकले हिजोदेखि पानी बिक्री वितरण गर्न नपाउने गरी  प्रतिबन्ध लगाएर कारबाही प्रक्रिया अगाडि बढाएको थियो । बन्द उद्योग भित्रबाट पानी बिक्री भएको पाइएपछि पुनः अुनगमण तीव्र बनाएको हो ।

झौखेल ३ मा सञ्चालनमा रहेको खानेपानी उद्योगहरुले बिक्री वितरण गर्दै आएको खानेपानीमा मानवीय स्वास्थ्यका लागि हानिकारक ईकोली, कोलिफार्म, एमोनिया लगायतको तत्वहरु पाइएपछि प्रतिबन्ध लगाएको हो ।

अनुगमनका क्रममा भक्तपुर नेचुरल वाटर प्रालिबाहेकका ५ वटा कम्पनीलाई पानी बिक्री वितरणमा रोक लगाएको हो । 

अनुगमन टोलीले आज पनि झौखेलका पाँचवटा थप उद्योगको अनुगमन गरी पानीको नमुना सङ्कलन गरी परीक्षणका लागि लगिएको जनाएको छ ।
नगरपालिकाले झौखेलस्थित  जय छुमा गणेश खानेपानी उद्योग, ओके मिनिरल वाटर प्रा.लि,  झौखेल उच्च वेभरेज प्रा.लि, एसएन टप वेभरेज प्रा.लि,  एक्वाराज पानी, , भक्तपुर नेचुरलवाटर प्रा.लि र कर्णाली मिनरल वाटर प्रा.लिबाट उत्पादित पानी उद्यागमा अनुगमन गरेको थियो ।

भक्तपुर नेचुरल वाटर प्रा.लि मा आवश्यकताभन्दा बढी एमोनिया भेटिएकाले तत्काललाई प्रतिबन्ध नलगाए पनि सचेत भने गराईएको उपप्रमुख बुढाथोकीले जानकारी दिए ।

अनुगमन समितिले पानी उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइको अवस्था, दर्ता तथा नवीकरणको अवस्थालगायतको बारेमा स्थलगत निरीक्षण गरेको थियो ।
झौखेलमा मात्रै ५० वटाभन्दा बढी खानेपानी उत्पादन गर्ने उद्योगहरु सञ्चालनमा छन् ।