भक्तपुर ।
नक्कली सुन देखाएर ठूलो रकम ठगी गर्ने कार्यमा संलग्न दुई जना व्यक्तिलाई प्रहरीले भक्तपुरका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
प्रहरीका अनुसार, ओखलढुङ्गा जिल्ला चम्पादेवी गाउँपालिका–७ घर भई हाल भक्तपुर नगरपालिका–६ बसोबास गर्दै आएका ढक बहादुर बुढाथोकीलाई २०८१ साल फागुन २५ गते भक्तपुर–१, इबामुरा चोक नजिक बोलाई नक्कली सुन देखाउँदै प्रति तोला १ लाख १० हजार रुपैयाँमा सुन दिन्छु भनेर विश्वासमा पारी १२ लाख ठगी गरिएको थियो।
त्यसपछि गत वैशाख २७ गते दोलखा भिमेश्वर नगरपालिका–५ घर भई हाल भक्तपुर राधेराधे बस्ने अर्जुन बस्नेतलाई भक्तपुरको पाण्डुबजार नजिकै बोलाई सोही किसिमको नक्कली सुन प्रलोभनमा पारेर ९ लाख ५० हजार ठगी गरिएको अनुसन्धानमा खुलेको छ।
ठगी कार्यपछि फरार रहेका अभियुक्तहरूलाई उपत्यका अपराध अनुसन्धान शाखा, भक्तपुरबाट खटिएको प्रहरी टोलीले मिति यही साउन ९ गते भक्तपुर जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ परेकामध्ये बुद्धि बहादुर तामाङसमेत दुई जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले नक्कली सुन देखाएर ठगी गर्ने यस्ता गिरोहप्रति सर्वसाधारण सतर्क रहन अनुरोध गरेको छ।











प्रतिक्रिया