सुलोचना मानन्धर र विजयरत्न असंवरे सम्मानित


भक्तपुर।

नेपालभाषा साहित्यको संरक्षण र प्रवर्द्धनमा सक्रिय संस्था नेपाल साहित्य मन्दिर, भक्तपुरले वरिष्ठ साहित्यकार सुलोचना मानन्धर र वरिष्ठ सिनेकर्मी तथा साहित्यकार विजयरत्न असंवरेलाई सम्मान गरेको छ।

साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै सुलोचना मानन्धरलाई यस वर्षको ‘जरिमैयाँ साख: लुमन्ति सिरपा स्मृति पुरस्कार’ प्रदान गरिएको हो भने विजयरत्न असंवरेलाई ‘कुमार साख: हपा: सिरपा’ प्रोत्साहन पुरस्कारबाट सम्मानित गरिएको हो।

भक्तपुरको सिद्धपोखरी पार्टी प्यालेस, दुधपाटीमा आयोजित विशेष समारोहमा प्रमुख अतिथि तथा नेपाल साहित्य मन्दिरका संस्थापक तिलकप्रकाश कायस्थले पुरस्कार प्रदान गरे।

उनले पुरस्कारको स्थापना र औचित्यमाथि प्रकाश पार्दै यस्ता सम्मानहरूले नेपालभाषा साहित्यको सिर्जनामा नयाँ ऊर्जा थप्ने र नवप्रतिभालाई प्रोत्साहन गर्ने बताए।

कार्यक्रमको अध्यक्षता गर्दै नेपाल साहित्य मन्दिरका अध्यक्ष एवं प्राज्ञ परिषद् सदस्य त्रैलोक्यमान बनेपाली ‘अगिव’ले मातृभाषा राष्ट्रको सम्पदा भएको उल्लेख गर्दै यसको प्रवर्द्धनमा सबै मिलेर लाग्नुपर्ने बताए। उनले महिला कवयित्रीहरूको सक्रिय सहभागिता उल्लेखनीय रहेको जनाउँदै, जरिमैयाँ साख: पुरस्कारले महिला साहित्यकारहरूको सशक्तीकरणमा सघाउने विश्वास व्यक्त गरे।

कार्यक्रममा सम्मानित व्यक्तित्वहरू सुलोचना मानन्धर र विजयरत्न असंवरेले पुरस्कारप्रति आभार व्यक्त गर्दै मातृभाषाको विकासमा अझ योगदान दिने प्रतिबद्धता जनाए।

समारोहमा नेपालभाषा एकेडेमीका सचिव महेन्द्रगोपाल कर्माचार्य र समाजसेवी कृष्णलाल प्रधानले पनि मन्तव्य व्यक्त गरेका थिए।

साहित्यिक प्रस्तुतिहरूले कार्यक्रम झनै जीवन्त

कार्यक्रममा कविहरू प्रतिसरा सायमी, सुलोचना सैँजु, हिसिलिना शाक्य, रेजिना नकःमि मानन्धर, विनिता शाक्य, विना नेमकुल, मञ्जु श्रेष्ठ, दिव्या बज्राचार्य, विमला मानन्धर, मिलन शाक्य, पूर्णिमा शाक्य, रिता महर्जन र मिमिला शर्माले कविता वाचन गरेका थिए।

सांगीतिक पक्षमा गुहेश्वरी शाक्यले स्वागत गीत प्रस्तुत गरेकी थिइन्।

नेपाल साहित्य मन्दिरका सचिव हरिशरण शर्मा राजोपाध्यायले कार्यक्रमको सञ्चालन गरेका थिए भने सदस्यहरू रामनारायण प्रजापतिले स्वागत मन्तव्य र उत्तमनारायण मल्लले कृतज्ञता ज्ञापन गरेका थिए।