अन्नपूर्ण संरक्षण परियोजना क्षेत्र (एक्याप) अन्तर्गतका पदयात्रा मार्गमा जाने पर्यटकको संख्या उल्लेख्यरुपमा वृद्धि भएको छ । पछिल्लो तीन वर्षको तथ्यांकलाई हेर्दा बर्सेनि पदयात्रा गर्ने तेस्रो मुलुकका पर्यटकको संख्यामा बढोत्तरी आएको छ । त्यसो त भारतीय पर्यटकको धार्मिक भ्रमण पनि उत्तिकै बढेको एक्याप पोखराले जनाएको छ ।
भारतीय पर्यटकहरु विशेष गरी पवित्र धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शनको लागि उक्लिने गरेका छन् । मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ समुद्री सतहदेखि झन्डै ३८ सय मिटरको उचाइमा पर्छ । एक्यापको तथ्यांकअनुसार भारतीय तीर्थयात्री झन्डै डेढ लाख मुक्तिनाथ उक्लिएका छन् । यो संख्यामा क्रमिक वृद्धि हुँदै गएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा–आराधना गरेपछि भारतीयं धार्मिक पर्यटकहरुको पहिलो गन्तव्य मुक्तिनाथ हुने गरेको छ ।
पछिल्लो तीन वर्षको तथ्यांकअनुसार बर्सेनि पर्यटक आगमन बढेको छ । आर्थिक वर्ष २०८१|८२ मा २ लाख २७ हजार ११३ विभिन्न देशबाट पर्यटक आएको एक्यापले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भएको तथ्यांकले जनाउँछ । एक्याप प्रमुख डा. रविन कडरियाका अनुसार २०८०|०८१ मा २ लाख २२ हजार १८० पर्यटकको आगमन भएको थियो । त्यसभन्दा अघिको आर्थिक वर्ष २०७९|०८० मा केवल १ लाख ७२ हजार १०८ पर्यटकले भ्रमण गरेको उहाँले जानकारी दिनुभयो ।
गएको वैशाखमा सबैभन्दा बढी पर्यटक आगमन भएको तथ्यांकले देखाउँछ । ४४ हजार ९७७ जना पर्यटकले पदयात्रा गरेका छन् । भबैभन्दा कम गतवर्षको साउनमा देखिन्छ । साउनमा ५ हजार ७१० जना पर्यटकले भ्रमण गरेको एक्यापले जनाएको छ । तथ्यांकअनुसार तेस्रो मुलुकबाट १ लाख २० हजार ३२७ विदेशी पर्यटक आउँदा सार्क देशबाट १ लाख ५७ हजार ७८६ पर्यटक रहेका छन् । ती पर्यटकबाट एक्यापले ४५ करोड १३ लाख २७ हजार २ सय ९० रुपियाँ आम्दानी गरेको छ ।
एक्यापका अनुसार कोभिडअघि तेस्रो मुलुकबाट १ लाख ३२ हजार २१५ पर्यटकले पदयात्रा गरेको तथ्यांक छ । कोभिडले प्रभावित बनाए पनि बिस्तारै पदयात्रा क्षेत्रमा आउने पर्यटकको संख्या बढ्दै गएको छ । तेस्रो, सार्क मात्रै नभई पछिल्लो समय नेपाली पनि विभिन्न ठाँउमा पदयात्राको लागि निस्कने गरेका छन् ।
पर्यटकलाई आफ्नो समयानुकूल पदयात्रामा जान सक्ने मार्गहरु एक्यापभित्र छन् । १० दिने लामो पदयात्रा गर्न चाहने पर्यटकको रोजाइमा सर्किट अन्नपूर्ण (थोराङ्ला पास ५४१६ मिटर) पर्छ । त्यसपछि सातदिने पदयात्राको लागि अन्नपूर्ण आधार शिविर (एबीसी, ४१४५ मिटर) जाने गरेका छन् ।
आन्तरिक पर्यटकको पहिलो रोजाइ मर्दी हिमाल र खुमई रहेको छ । कुनै बेला २१ दिन लाग्ने अन्नपूर्ण सर्किट अहिले १० दिनभन्दा पनि कम समयमा पूरा गर्न सकिन्छ । मोटर बाटो निर्माणले अधिकांश पदयात्रा मार्ग छोटिँदैं गएका छन् । जताततै बाटो निर्माणले पदयात्रा मार्ग विलय हुँदै गएको प्रति सरोकार निकायहरुले गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन् ।
अन्नपूर्ण संरक्षण परियोजना क्षेत्रमा पर्ने पदयात्राका रुट– (१) अन्नपूर्ण सर्किट (लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी हुँदै पोखरा) (२) अन्नपूर्ण आधार शिविर (३) पुनहिल घोरेपानी (४) घान्द्रुक–खोप्रा (५) नर्थ एबीसी (५) पोखरा हँुदै ताराहिल टप, सिक्लेस, कपुचे हुँदैै कोरी (६) मर्दी हिमाल (७) खुमई (८) भुजुङ, दूधपोखरी हुँदै चामे वा ताल (९) लोमान्थाङ (मुस्ताङ) (१०) नार, फु (मनाङ) (११) मुस्ताङबाट तिलिचो, मनाङको खाङसार हुँदैै तिलिचो ।











प्रतिक्रिया