पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङमा एकैदिन सय रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ, जुन पहाडी भूभागमा असम्भव मानिन्छ । यही साउन ४ गते गरिएको यो रोपाइँ कुनै साधारण कृषि कार्य मात्र होइन, एक भव्य उत्सवका रूपमा सम्पन्न भएको हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा यो रोपाइँलाई विकसित गर्दै आएका हुन् ।
पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी खेत र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आएका छन् । अर्यालले आफ्नो खेतमा धान रोपाइँलाई सांस्कृतिक उत्सवका रूपमा अघि सारेका छन् । एकैदिन सयजना रोपाइँ गर्ने खेतारी, ५० जना ठिगारे र तीनवटा ट्याक्टरद्वारा जोत्ने काम गरिएको थियो । रोपाइँमा त्यसको दोब्बर संख्यामा हेर्ने, नाच्ने, गाउनेहरु पनि सहभागी थिए । जसमा पञ्चेबाजा, राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय समुदायको व्यापक सहभागिता थियो ।
खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य बनाउने गरेको अर्यालले बताए । पञ्चेबाजा, गीत–संगीत र रमाइलो गर्दै काम गर्दा थकाइ हुँदैन, उल्टै मन रमाउने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरू हरि खत्री, शकुन्तला गैरे, हिमाल थापाद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो ।
सयौं स्थानीयले सामूहिक रूपमा रोपाइँमा सहभागिता जनाएका थिए । महिलाहरूको लामो लस्कर नै रोपाइँमा सहभागिता थियो । पुरुषहरू बाजागाजासहित नाचगानमा रमाइरहेका थिए । सामूहिक खेती, परम्परा र आधुनिकतालाई जोड्ने यस प्रयासले सिंगो समुदायमा सहकार्यको भावना बलियो बनाएको छ ।स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमुना परियोजनाका रूपमा मूल्यांकन गरेका छन् । यसै वर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृतसमेत गरेको थियो । यस्ता क्रियाकलापहरूले युवालाई कृषितर्फ आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ । गुल्मी सिस्तुङको यो उदाहरणले पहाडमा कृषि केवल जीविकोपार्जनको माध्यम नभई उत्सव, रोजगार र पर्यटनको माध्यम बन्न सक्ने सम्भावनाको ढोका खोलेको छ ।
उत्पादनसँगै उद्योग पनि :
अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्रान्डिङ गरी बजारमा पठाइएको छ । यसै वर्षदेखि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै व्यवसायीकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्रान्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।
२५ किलोग्रामको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरी मूल्य तयार गरिएको छ । स्थानीय उत्पादनलाई ब्रान्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।
चामललाई नापतौल गुणस्तर विभागलगायतका सरकारी प्रक्रिया पूरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताए । अर्यालका अनुसार उनले अघिल्लो वर्ष यस क्षेत्रमै धेरै ४ सय मुरी धान उत्पादन गरेका थिए । उनले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाएको बताएका छन् । चामल बजारमा माग धेरै भएको उनको भनाइ छ । यसले गाउँमा कृषि व्यवसायीकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ ।
स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु¥याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ । गाउँमा बाँझिँदै गरेका खेतबारी लिजमा लिएर अर्यालले व्यावसायिक रुपमा धान, मकै उत्पादनलाई जोड दिएका छन् ।
अघिल्लो वर्षको मंसिर महिनामा अर्यालले पहिलोपटक उत्पादन गरेको ४ सय मुरी धानलाई प्रदर्शनसमेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरी धान उत्पादन गर्ने कृषक पाइँदैन । तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका थिए । अर्को वर्ष मकैको आटो, कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उनले बताए । भैंसी पालनसमेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुने गरेको बताए ।
गुल्मीबाट वैदेशिक रोजगारीका लागि कोरियामा मेहनतपछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अँगाल्दै आएका छन् । धान खेतीसँगै अर्यालको फार्ममा अहिले माउ भैँसी २२ वटासहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फार्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ । तीन वर्षपहिले एक करोड बढी लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । उनको यो व्यवसायलाई उदाहरणीय कार्यका रुपमा लिन सकिन्छ ।












प्रतिक्रिया