१२९ वर्ष अघिदेखि कृषकहरूबाट निर्माण गरी व्यवस्थापनमा ल्याइएको ठूलो परम्परागत सिँचाइ प्रणालीलाई आधुनिक सिँचाइ प्रणालीको विकास गर्न सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत आधुनिकीकरणको काम गरेर सो क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ ।
धनगढी ।
चौध वर्षअघि निर्माण शुरू गरिएको कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निर्माण सम्पन्न भएसँगै २१ अर्बको राष्ट्रिय गौरवको आयोजना अब सञ्चालनमा आउने भएको छ ।२०८२ असार ३१ गते निर्माण सम्पन्न भएको सिँचाइ आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले साउन १३ गते उद्घाटन गर्ने कार्यक्रम छ ।
आयोजनाअन्तर्गत निर्माण भएको सिँचाइ प्रणाली र कैलालीको कटासेमा निर्माण भएको विद्युत् गृहबाट उत्पादित ४.७१ मेगावाट विद्युत् उद्घाटन गर्ने कार्यक्रम रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना टीकापुरका प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो । सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरण र विद्युत् उत्पादनका लागि २१ अर्ब ३२ करोड ९८ लाख रुपियाँ खर्च भएको आयोजना प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
सिञ्चित कृषि क्षेत्रको अभिवृद्धि, संघीय नेपालको समृद्धिको मूल नारासहित शुरू गरिएको रानी जमरा कुलरिया सिँचाइ आयोजना पहिलो र दोस्रो चरण गरेर असार मसान्तमा निर्माण सम्पन्न भएको छ । वि.सं २०६८ सालबाट निर्माण शुरू भएको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको पहिलो चरणको निर्माणको काम २०७५ सालमा सम्पन्न भएको थियो भने दोस्रो चरणको काम २०८२ असार मसान्तमा सम्पन्न गरेको छ ।
२०६६|२०६७ मा टीकापुरमा कार्यालय स्थापना गरेको रानी जमरा कुलरिया सिँचाइ आयोजना पहिलो र दोस्रो चरणमा गरेर नहर निर्माणको काम सम्पन्न भएको छ । सम्पन्न सिँचाइ आयोजनाले १४ हजार ३ सय हेक्टर जमिन सिँचाइ गरेको छ । उक्त आयोजनाबाट २३ हजार ६ सय २२ घरधुरीका १ लाख ४२ हजार ३ सय ६६ जनसंख्या प्रत्यक्ष लाभान्वित भएका छन् । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गतको उक्त आयोजनामा कुल २१ अर्ब ३२ करोड ९८ लाख रकम खर्च भएको छ ।
यस्तै, आयोजनाको तेस्रो चरणको काम कैलालीको कान्द्रा नदीसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ । पथरैया नदीसम्मको नहर विस्तारले करिब ६ हजार हेक्टर र कान्द्रा नदीसम्मको नहर विस्तारले १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने लक्ष्य राखिएको छ । जम्मा ३८ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा हुने उक्त नहर आर्थिक वर्ष २०८५|०८६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो । तेस्रो चरणको कामका लागि करिब १३७ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ ।
१२९ वर्ष अघिदेखि कृषकहरूबाट निर्माण गरी व्यवस्थापनमा ल्याइएको ठूलो परम्परागत सिँचाइ प्रणालीलाई आधुनिक सिँचाइ प्रणालीको विकास गर्न सरकारले रानी जमरा कुलरिया सिँचाइ आयोजनामार्फत आधुनिकीकरणको काम गरेर सो क्षेत्रका किसानलाई सिँचाइ सुविधा उपलब्ध गराएको छ । उक्त सिँचाइ आयोजनाले १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । यस सिँचाइ प्रणालीले कैलालीको टीकापुर, लम्की चुहा र जानकीको गरेर १४ हजार ३ सय हेक्टरमा सिँचाई सुविधा पुगेको आयोजनाका सूचना अधिकारी नवीन पौडेलले बताउनुभयो । यस सिँचाइ प्रणालीमा कमान्ड क्षेत्रको दक्षिण भागमा रानी सिँचाइ प्रणाली, मध्य भागमा जमरा र उत्तरमा कुलरिया सिँचाइ प्रणाली रहेको छ ।
सुदूरपश्चिमको ठूलो आयोजनाको रूपमा रहेको रानी जमरा कुलरिया सिँचाइ आयोजना सम्पन्न भएपछि किसानहरूको आर्थिक तथा सामाजिक जीवनमा महत्वपूर्ण परिवर्तन ल्याउने आयोजना प्रमुख प्रेम घिमिरेले जानकारी दिनुभयो ।











प्रतिक्रिया