–स्थानीय तहविरुद्ध मात्रै १९ हजार ९३३ उजुरी
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१|८२ मा २९ हजार ७ सय ३ वटा भ्रष्टाचारसम्बन्धी उजुरी फस्र्यौट गरेको छ । भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता बढेसँगै मुद्दा पर्ने र फस्र्यौट गर्ने क्रम पनि बढेको हो । अख्तियारले फस्र्यौट हुन बाकी रहेका मध्ये ६ हजार ७ सय १५ वटा उजुरी विभिन्न निकायमा आवश्यक कारबाहीको लागि लेखी पठाएको र ५ सय ८६ वटा उजुरी सुझावसहित कार्यान्वयनको लागि लेखी पठाइएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।
आयोगका अनुसार गत वर्ष आयोगमा ८१ वटा बैठक बसी १३७ वटा मुद्दा दायर गर्नुका साथै १ हजार ४ सय ११ वटा निर्णय भएका छन् । यसै गरी विशेष अदालतमा १३७ वटा आरोपपत्र दायर भएकोमा कूल ७५३ जना प्रतिवादी बनाई ५ अर्ब ९७ करोड ७३ लाख ८ हजार ८ सय ३८ रुपियाँ बिगो मागदाबी लिइएको अख्तियारले जनाएको छ ।
यसरी दायर गरिएका १३७ मुद्दामध्ये घुससँग सम्बन्धित ३७ वटा, गैरकानुनी लाभहानि सम्बन्धी ३६ वटा झुट्टा नक्कली शैक्षिक योग्यतासम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्ति हानिनोक्सानीसम्बन्धी २३ वटा, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ८ वटा, सम्पत्ति शुद्धीकरणसम्बन्धी २ वटा र विविधि विषयमा ४ वटा रहेको अख्तियारले जनाएको छ । त्यस अवधिमा रंगेहात कारबाही २२ वटा भएकोमा ३३ जना व्यक्तिहरू नियन्त्रणमा परेका थिए । उनीहरूबाट ५५ लाख १० हजार रुपियाँ बरामद भएको थियो ।
आयोगमा उजुरी प्राप्त हुने विभिन्न माध्यमहरूमध्ये सबैभन्दा बढी उजुरी आयोगको वेभसाइटबाट १० हजार २ सय ४५, लिखित निवेदनबाट १० हजार १ सय ८०, ईमेलमार्फत ८ हजार ४ सय ८८, हुलाक सेवाबाट ५ हजार ५ सय ५५ उजुरी प्राप्त भएका थिए । आयोगमा परेको उजुरीमध्ये संघीय सरकारसँग सम्बन्धित १२ हजार ४ सय ७५ (३३.६९ प्रतिशत) प्रदेश सरकारसँग सम्बन्धित ४ हजार ६ सय १८ (१२.४७ प्रतिशत) र स्थानीय सरकारसँग सम्बन्धित १९ हजार ९ सय ३३ (५३.८४ प्रतिशत) रहेको थियो ।
नयाँ आर्थिक वर्ष शुरू भएसँगै आयोगले विगत वर्षको समीक्षा गरेको छ ।
आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको अध्यक्षतामा साउन ८ र ९ गते दुई दिन समीक्षा बैठक भएको थियो । बैठकमा आयोगको समग्र काम कारबाही, उजुरी प्राप्ति, छानबिन, अनुसन्धान, अभियोजन, नवीनतम कार्यहरू र आयोगका सामु रहेका सवालहरूसहित आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । त्यस क्रममा प्रमुख आयुक्त राईले सबै कर्मचारी र पदाधिकारीलाई भ्रष्टाचार नियन्त्रणमा उच्च मनोबल लिएर कार्यथलोमा खटिन निर्देशन दिनुभएको थियो ।











प्रतिक्रिया