जिउँदो छोरालाई मरेको भन्दै बाबुले गरे किरिया, पछि भागे


काठमाडौं ।

काठमाडौँबाट मोरङको केराबारी पुगेका डम्बरबहादुर सार्कीले आफ्ना जेठा छोरा सुजनको मृत्यु भएको भन्दै काजकिरिया सुरु गरे । माइला छोरा सुमितले सामाजिक सञ्जालमा श्रद्धाञ्जली लेखेपछि केहीबेरमै वीर अस्पतालबाट फोन आए तिम्रो दाजु त जिउँदै छन् ?

सुजनले विष सेवन गरेपछि उपचारका लागि वीर अस्पतालको आईसीयूमा छन् । अस्पतालमै भेटेर फर्किएका बाबु डम्बरले झुटो मृत्युको बहाना बनाएर घरमा किरिया सुरु गरे । घटनाबारे खबर पाएपछि स्थानीय प्रहरी र जनप्रतिनिधिले केरकार गर्दा डम्बरको झुट खुल्यो ।

उपचार खर्च नभएकाले यस्तो कदम चालेको डम्बरले बताए पनि पछि उनी फरार भएका छन् । स्थानीयवासीले चन्दा उठाएर सुजनको उपचारका लागि सहयोग गरेका छन् । सुजनकी बहिनी र आमा काठमाडौं पुगेका छन्, तर बाबु डम्बर सम्पर्कविहीन छन् ।