एमालेमा नेतृत्व र जबजको उत्तराधिकारको गम्भीर संकट देखिएको प्रचण्डको दाबी


काठमाडौं ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेमा गम्भीर वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको कार्यक्रममा बोल्दै उनले एमालेभित्र जनताको बहुदलीय जनवाद (जबज) को उत्तराधिकारी को भन्ने विषयमा गहिरो विवाद सुरु भएको बताए।

उनले कांग्रेसमा पनि बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको हाराहारीमा पुग्ने नयाँ नेतृत्वको अभाव रहेको टिप्पणी गरे। प्रधानमन्त्री केपी ओलीले हालैको कार्यक्रममा मदन भण्डारीसँग सम्बन्धित विवादास्पद टिप्पणी गरेपछि पूर्व राष्ट्रपति विद्या भण्डारीले आफू नै जबजकी सच्चा उत्तराधिकारी भएको ढंगले प्रस्तुत गर्न थालेको र यसले संकट झन् गहिरिएको प्रचण्डको भनाइ छ।

प्रचण्डले माओवादी केन्द्रमा भने कुनै वैचारिक संकट नरहेको दाबी गर्दै आठौं महाधिवेशनको समाजवादी क्रान्तिसम्बन्धी सर्वसम्मत निर्णय र पछिल्ला बैठकहरूमा पूर्ण सहमति रहेको उल्लेख गरे ।