सुदूरपश्चिमका पहाडी जिल्लामा निर्माण गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन् । तत्कालीन विद्रोही पक्ष माओवादीको आक्रमणबाट ध्वस्त भएका विमानस्थल माओवादी शान्ति प्रक्रियामा आएको लामो समयसम्म गौचरन बनेका थिए ।सुदूरपश्चिमका नागरिकको निरन्तरको दबाबपछि पक्की धावन मार्ग बनेर केही समय ‘चार्टर्ड’ उडान भएका भएका थिए, यहाँका विमानस्थलहरुमा । डोटीबाट निर्वाचित प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्नुभएपछि केही महिना नियमित उडान भएका थिए, यहाँका विमानस्थलमा । तर अहिले पुनः सुनसान अवस्थामा रहेका छन् विमानस्थलहरु ।
समिट एअरलाइन्स र नेपाल वायु सेवा निगमले यहाँको प्रदेश राजधानी कैलालीको धनगढीबाट डोटीको दीपायल, अछामको साँफेबगर, बझाङको देवल र बैतडीको पाटन विमानस्थलमा उडान भर्दै आएका थिए ।
आले मन्त्रीबाट बाहिरिएसँगै समिट एअरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेपछि सुदूरपश्चिमेली पुनः बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् । अहिले यहाँका विमानस्थलमा जहाज उड्नुको साटो चरा उड्न थालेका दीपायलका स्थानीयवासी खेमबहादुर साउदले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पहिला प्रेम आले मन्त्री हुँदा जहाज चले, अहिले पनि हाम्रै प्रदेशबाट पर्यटनमन्त्री बद्री पाण्डे त छन्, तर जहाज उडाउने कुनै कुरा गर्दैनन्, विमानस्थलमा चरा उड्न थालेका छन् ।’
डोटीको दीपायल विमानस्थल : वि.सं. २०२६ मा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ, डोटीको दीपायल विमानस्थल । माओवादीको आक्रमणबाटै २०५८ सालदेखि पूर्णरूपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो । २०७३ सालमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले यो विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो । ६ करोड ८० लाख रुपियाँको लागतमा ४ सय ९० मिटर लम्बाइको धावन मार्गसहित कालोपत्र भएको यो विमानस्थल २०७७ सालमा पुनः सञ्चालनमा आएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनपश्चात् नेपाल वायुसेवा निगमको जहाजमार्फत यहाँ साप्ताहिकरुपमा नियमित उडान भएको थियो यो विमानस्थलमा । आले मन्त्रीबाट बाहिरिएसँगै अहिले जहाज आउन पुनः बन्द भएको छ ।
साँफेबगर विमानस्थल अछाम : वि.सं. २०२४ मा निर्माण शुरु भएको साँफेबगर विमानस्थल २०३२ सालदेखि सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालनमा आए पनि २०५८ फागुनमा माओवादीको आक्रमणबाट ध्वस्त भएसँगै पुनः बन्द भयो । ११ करोड ५० लाख रुपियाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्र गरी २०७५ जेठमा पुनः सञ्चालन भएको विमानस्थलमा केही समय जहाज आए पनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउँदै जहाज नआउने अछाममा अहिले अछामकै कमलजारमा विमानस्थल निर्माण भइरहेको छ । जहाज नआउँदा सास्ती पाउनुपरेको स्थानीयको गुनासो छ ।
देवल विमानस्थल बझाङ : वि.सं. २०३२ देखि नियमित उडान भएको देवल विमानस्थलमा २०६६ सालदेखि जिल्लामा सडक जोडिएसँगै नियमित उडान स्थगित गरिएको थियो । ५ करोड ५० लाख रुपियाँको लागतमा ६ सय ५० मिटर धावन मार्ग कालोपत्र भएपछि २०७७ सालमा पुनः सञ्चालन भएको विमानस्थलमा अहिले यात्रु अभाव देखाउँदै जहाज आउन छोडेको छ ।
पाटन विमानस्थल बैतडी : वि.सं. २०३२ सालदेखि निर्माण शुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको थियो । तर २०५२ सालदेखि यहाँ हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम प्रहार गर्दा विमानस्थलको कार्यालय र टावर पूर्णरूपमा ध्वस्त भयो । पुनः सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोड रुपियाँको लागतमा बैतडी विमानस्थल कालोपत्र गरेर सञ्चालनमा ल्याइएको भए पनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । यहाँ २०७८ चैत १० गते समिट एअरले अन्तिम उडान भरेको थियो । त्यसयता पाटन–धनगढी उडान हुन सकेको छैन ।
गोकुलेश्वर विमानस्थल दार्चुला : वि.सं. २०५८ साल मङ्सिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । विमानस्थल सञ्चालनका लागि अहिले धावनमार्गको उचाइ बढाउने काम भइरहेको छ ।
डडेल्धुरा विमानस्थल : सुदुरपश्चिमका नौ जिल्लामध्ये विमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लासमेत रहेको डडेल्धुराको अजयमेरु गाउँपालिका–१, पुइलेकमा अहिले विमानस्थल निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) को काम सकिएको छ ।नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडि बढाउन गएको वर्ष २५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । देउवाले समेत चुनावको बेला डडेल्धुरा विमानस्थल बन्ने बताउनुभएको थियो । विमानस्थल चाँडो सञ्चालन हुनुपर्ने डडेल्धुरावासीको माग छ ।












प्रतिक्रिया