जोगिन्दर पानवालाको मिसन नौटंकी


गाईजात्रा भनेको केवल हासोको सांस्कृतिक पर्व मात्र होइन, यो त ठट्यौलीमार्फत पोल खोल्ने चाड हो। अनि नेताका पोल खोल्न जब शिवशंकर रिजाल (जोगिन्दर पानवाला) हरके वर्ष मैदानमा उत्रन्छन्, त्यसलाई गाईजात्रे झटारोभन्दा फरक पर्दैन।
यसपालि पनि उनले आफ्नो २२औं गाईजात्रे कोसेली मिसन नौटंकी लिएर धमाकेदार इन्ट्री मारेका छन्। प्रस्तुतिको नाम सुन्दा थाहा हुन्छ, देशको राजनीति यति ड्रामाले भरिएको छ कि शिवशंकरले आफ्नो यस वर्षको प्रस्तुतिलाई मिसन नौटंकी नै राख्नु पर्‍यो।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिकस कोसेलीमा देशका ठूलाठूला नेताहरूको नौटंकीलाई उनी ठेट पानवाला शैलीमै टोकेका छन्– मीठो बोल्ने, मिठाई बाड्ने अनि भोलिपल्टै जनता धोका खाने। मिसन नौटंकीमा शिवशंकरले छाती फुट्ने गरी व्यग्य गरेका छन्। शिवशंकरले यसपालि हिट फिल्म जात्रै जात्राको हिट गीत लाइदेउ माया पिरिमलाई लाइदेउ गोजी सफा पिरिम बनाएर प्यारोडी प्रस्तुत गरेका छन्। प्यारोडीमा रवि लामिछानेको जेल यात्रा, नेताहरूको भाषणको सस्तो नाटक, भ्रष्टाचार, विकासको नाउमा लुट – जे छ त्यो गीतमै मिसाएका छन्।

हास्न मन लाग्छ, रिस पनि उठ्छ। फेरि हास्नै मन लाग्छ। अनि त्यही त गाईजात्राको मजा हो हासोमा चोट पनि मिसिएको छ। यही नै उनको गाईजात्रे झट्काको विशेषता बनेको छ। रिजाललाई यसपटक साथ दिएका छन् राधिका हमाल, प्रेम शर्मा पौडेल, सबित्रा लामिछाने ‘सबु’, धिरेन्द्र सिंह, किरण खनाल, वेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना बिक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले। उनको यो गाईजात्रे सामग्रीमा अभिनयदेखि गायनसम्म सबैले धमाका मचाएका छन्।

लेखन, निर्देशन, प्रस्तुति सबै रिजालकै हो। रिजाल मिसन नौटंकीमा ठीक त्यही स्टाइलमा प्रस्तुत भएका छन्, जुन अघिल्ला वर्षहरुमा हुन्थे। ‘जसले सत्ता चलाउछ, उसलाई हल्लाउछु, जसले जनता झुक्याउँछ, उसलाई झटार्छु’ जोगिन्दर पानवालाका रुपमा लोकप्रियता कमाएका रिजाल गाईजात्रे झटारोमा प्रस्तुत भएका छन्।

‘म २०६१ सालदेखि गाईजात्रे कोसेली ल्याईरहेको छु। पहिले रिल क्यासेट, पछि सिडी र भिडिसी अनि अनि अहिले युट्युब। माध्यम फेरिए पनि म नफरिने। देश बिगार्नेहरूलाई टोकिने तरिका मात्रै बद्लिएको हो, व्यग्य त अझ गाढा भएको छ’ उनी भन्छन्।

उनी अहिले सांस्कृतिक संस्थानको गाईजात्रे कार्यक्रममा पनि व्यस्त छन्। त्यो छुट्टै स्टेज हुनेछ, जहा रिजाल अन्य सहकर्मी हास्य कलाकारका साथ फेरि नेताहरूको नाक घोच्न तयार छन्। ‘नेताहरूको पक्कै मन दुख्ला, तर जनता भने खुब हास्छन्’ उनी आफै हास्दै भन्छन् ‘गाईजात्रा न हो। मिसन नौटंकी हेर्ने पालो अब तपाईंको पालो। देशको सामाजिक, आर्थिक, राजनैतिक क्षेत्रकी नौटंकीको असली रिपोर्ट त्यही छ।’