काठमाडौं ।
राजधानीको व्यापारिक केन्द्र न्युरोडमा रहेको मिलन बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरूले बचतकर्ताबाट संकलित अर्बांै रुपियाँ बचत रकम फिर्ता नगरी अपचलन गर्दा बचतकर्ताहरूको विचल्ली भएको छ । उक्त सहकारीका ३ हजारभन्दा बढी बचतकर्ताको करिब सवा ३ अर्ब रुपियाँ अपचलन भएको प्रारम्भिक अनुमान छ । सहकारीका कोषाध्यक्ष दिनेश बज्रचार्य, सञ्चालक अनिल तुलाधरलगायतका सञ्चालकहरूले बचतकर्ताको रकम अपचलन गर्दा बचतकर्ताले वर्षांैदेखि आफ्ना बचतको साँवा ब्याज प्राप्त गर्न सकेका छैनन् ।
बचतकर्ताले जीवनभरको कमाई सहकारीमा निक्षेप राखेर नियमित ब्याजमार्फत् आफ्नो घर खर्च र आवश्यकता पूर्ति गर्ने अपेक्षा गरेका थिए । तर, सहकारीका छट्टु सञ्चालकहरूले सर्वसाधारणको बचत रकम व्यक्तिगत सम्पत्ति जोड्न खर्च गर्ने तर बचतकर्तालाई रकम फिर्ता नदिने गर्दा उनीहरूको विचल्ली भएको हो ।
सहकारीका कारण कयौं बचतकर्ता औषधोपचार र छोराछोरीको विवाह गर्नबाट समेत बञ्चित भएको बचतकर्ताहरूले नेपाल समाचारपत्रको कार्यालयमा आई गुनासो गरेका छन् । रकम अपचलन गर्ने सहकारी सञ्चालकहरूमाथि कारबाहीका निम्ति विभिन्न निकायमा भएको उजुरीमा ढिलासुस्ती हुँदा बचतकर्ताहरूमाथि आफूहरूले बचत गरेको रकम फिर्ता नपाउनुको पीडामाथि चिन्तासमेत थपिएको छ ।
न्युरोड क्षेत्र वरपर व्यापार व्यवसाय गरेका व्यक्ति तथा उनीहरूका आफन्तलाई सहकारीमा रकम जम्मा गर्न लोभ्याएका मिलन बहुउदेश्यीय सहकारी संस्थाका सञ्चालकहरूले साढे दुई वर्षयतादेखि सर्वसाधारणलाई बचत रकम फिर्ता नगरेर विभिन्न बाहनामा अल्झाउँदै आएका छन् । त्यतिमात्रै होइन बचत फिर्ता माग्न जानेलाई दुव्र्यव्यवहर गर्ने, धम्काउने, गाली गर्नेजस्ता गतिविधिहरुसमेत हुँदै आएको पीडितहरूको गुनासो छ । सहकारीका अध्यक्ष भागवतकृष्ण श्रेष्ठ सम्पर्कबिहीनजस्तै छन् । उहाँ न्युरोडस्थित सहकारी कार्यालयमा नआएको लामो समय भएको र फोनमा पनि सम्पर्क नहुने पीडितहरू बताउँछन् ।
उहाँ बिरामी भएको बहाना बनाउँदै बचतकर्ताको सम्पर्कबाट टाढा भाग्ने गर्नुभएको छ भने कोषाध्यक्ष दिनेश बज्रचार्य र सञ्चालक अनिल तुलाधर अक्कल झुक्कल सहकारीमा भेटिने गरेको भए पनि बचतकर्ताले रकम फिर्ता माग्दा ‘हामी तिम्रो पैसा खान्नौं, जग्गा बिक्री भएपछि दिन्छौं ।’ भन्ने जवाफ दिने गरेको बचतकर्ताहरूले गुनासो गरे ।
‘मैले मिलन सहकारीमा ४० लाख रुपियाँ बचत गरेको छु, अढाई वर्षदेखि रकम फिर्ता मागेको पाएको छैन । सहकारीले पैसा फिर्ता नदिँदा छोराको विवाह गर्नसमेत सकिँन । छोराले मन पराएको केटीलाई विवाह गर्न दबाब आइरहेको छ । तर, मैले पैसा नभएर छोराको विवाह गर्न सकेको छैन । पैसा नभएर छोरोको विवाह गर्न सकिँन भन्न पनि सकेको छैन । लौ गरौं न त भन्ने आँट पनि छैन । केही पैसा दिन्छन् कि भन्दै सहकारीमा धाउँछु, दान दिएजस्तै गरी ५÷१० हजार लैजा भन्छन् । त्यो पैसाले मैले छोराको विवाहका सामान किनौं कि असनमा गएर डोरी किनेर पासो लगाऔं ? सहकारीमा पैसा डुबेको पिरले मेरो सुगर र प्रेसर पनि बढेको छ ।’ न्युरोड झोछेँका एक सहकारी पीडितले नेपाल समाचारपत्रसँग दुखेसो गरे ।
उनीजस्तै काठमाडौंको भित्री सहरका नेवार समुदायका सयौं व्यक्ति मिलन बहुउद्देश्यीय सहकारीपीडित रहेका छन् । सर्वसाधारणको बचत रकम अपचलन गरेको विषयमा नेपाल समाचारपत्रले मिलन बहुउद्देश्यीय सहकारीका सञ्चालकद्वय दिनेश बज्रचार्य र अनिल तुलाधरको मोबाइल नम्बर ९८५१०२६६…३ र ९८४००५०५…सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
सर्वसाधारणबाट जम्मा गरेको रकम सञ्चालकले आफू र आफन्तको नाममा ऋण लिएर घरजग्गा, सेयरलगायतका क्षेत्रमा प्रयोग गरेका कारण उक्त सहकारी संकटमा परेको जनाइएको छ । उक्त सहकारीका सञ्चालक बज्राचार्यको समूहले जमल र टेकुमा कयौं रोपनी जग्गा जोडेका छन् । उहाँले त्यो बेचर पैसा फिर्ता दिन्छु भनेको पनि धेरै भइसक्यो । त्यो जग्गा बिक्री भए नभएको पनि थाहा नभएको पीडित बताउँछन् । ‘प्रहरीदेखि मन्त्रीसम्म सेटिङ मिलाएको छ कि क्या हो, न्युरोडमै बसेर जनता ठग्दा पनि यसका सञ्चालकहरू पक्राउ पर्दैनन् ?’ पीडितहरू अचम्मित छन् ।
सहकारी ऐन २०७४ अनुसार कुनै पनि सहकारी संस्थाले बचत रकम सदस्यबीच ऋण लगानी, सरकारले जारी गरेको ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको सेयर खरिदबाहेक अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म, कम्पनी वा अन्य कुनै पनि बैंकको सेयर खरिद वा अन्य कुनै पनि प्रयोजनमा उपयोग गर्नु हुँदैन । तर, मिलन बहुउद्देश्यीय सहकारीका सञ्चालकहरूले उक्त ऐनको धज्जी उठाउँदै आएका छन् ।
सहकारीका बचतकर्ताले बचत फिर्ता गराई पाउ, सहकारीको रकम अपचलन भएको, सञ्चालकका आफन्तले नक्कली ऋणी खडा गरी जमल, टेकुलगायतका स्थानमा जग्गा जमिन जोडेको भन्दै प्रहरी, सहकारी विभागमा उजुरी दिएका छन् । सहकारी विभागले सर्वसाधारणको अर्बौ रुपियाँ बचत रकम फिर्ता नगरी अपचलन गर्ने उक्त सहकारीका सञ्चालकमाथि कारबाही अगाडि बढाउन वागमती प्रदेश सरकारमा लेखी पठाए पनि कारबाही हुन सकेको छैन ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले भने सहकारीले ठगी गरेको भन्ने उजुरी आफूकहाँ नपरेको दाबी गर्दै भन्नुभयो– ‘उजुरी परे कारबाही अघि बढाउछौं ।’मिलन बहुउद्देश्यीय सहकारीको घटना कुनै एक संस्थाको मात्र समस्या होइन, यो सहकारी क्षेत्रमा बढ्दो अनियमितता र सरकार÷नियामकको असक्षमताको ज्वलन्त उदाहरण हो । यदि, यस्तो प्रकरणमा कठोर कारबाही भएन भने, यस्ता ‘छल सहकारी’हरूले हजारौं नेपालीको जीवनभरको कमाइ डुबाउँदै लैजानेछन् ।











प्रतिक्रिया