शताब्दी पुरुष हरिहर बास्कोटाको चिरस्मरणीय योगदान

5.92k
Shares

धादिङ जिल्लाको थाक्रे गाउँपालिकाअन्तर्गत रहेको हरिहर भोजकुमारी केवलपुर माध्यमिक विद्यालयले २०८२ असारको अन्तिम आइतबार सार्वजनिक बिदाको घोषणा ग¥यो । यसको मुख्य कारण हरिहर बास्कोटाले सो स्कूलमा पु¥याउनुभएको योगदान नै थियो । उहाँले सो स्कूललाई विशेष आर्थिक सहयोग गर्नुका साथै विभिन्न छात्रवृत्तिको स्थापना गर्नुभएको छ । यस्तो छात्रवृत्तिको स्थापना उहाँले गोगनपानी निमावि, बालकुमारी कन्या उच्च मावि, ज्योति उच्च मावि, कुलेश्वर मावि, जनकल्याण माबिलगायतमा स्थापना गर्नुभएको छ । यसबापत उहाँले आधा करोडभन्दा बढी रकमको योगदान गर्नुभएको छ । यस अतिरिक्त, उहाँले चितवन क्षेत्रपुरको पुस्तकालय र मन्दिर निर्माण गर्न, देवघाटमा क्रियापुत्री भवन निर्माण गर्न, भीमसेन मन्दिर जीर्णोद्धार गर्न, कुलेश्वरमा सञ्चालित मायाघर सञ्चालन गर्न, कुलेश्वर आवास सामुदायिक भवन निर्माण र ज्येष्ठ नागरिकको कार्यक्रम सञ्चालन गर्न अनि डोलेश्वर महादेवको नित्य पूजा गर्न आर्थिक सहयोग गर्नुभयो । यस्ता अनगिन्ती समाज सेवाको कार्यमा बास्कोटा संलग्न रहनुभयो ।

१९८२ असोज २५ गते जन्मिनुभएका हरिहर बास्कोटा एक सय वर्षको उमेरमा २०८२ असार २८ गते स्वर्गवास हुनुभयो । उहाँलाई मन्त्रिपरिषद्का तत्कालीन अध्यक्ष खिलराज रेग्मी, महालेखा परीक्षक तोयम राय, नेपाल विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्की, त्रिविविका पूर्वउपकुलपति डा. धर्मकान्त बास्कोटा, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र शिक्षक सेवा आयोगका अध्यक्ष मधु रेग्मीले श्रद्धाञ्जलि अर्पण गर्नुभयो । यसै गरी, उहाँको देहावसानमा समवेदना प्रकट गर्नेमा पूर्वसचिवहरु रामेश्वर खनाल, रघुराम विष्ट, मणिराम ओझा, प्रतापकुमार पाठक, पूर्णचन्द्र भट्टराई, श्रीराम पन्त, मधु मरासिनी, केवल भण्डारी, रेश्मीराज पाण्डे, यामकुमारी खतिवडा, स्टाफ कलेजका पूर्वकार्यकारी निर्देशक डा. दिनेश पन्त, पूर्वसांसद सावित्रा भुसाल, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, गोरखापत्रका प्रधान सम्पादक जुनानबाबु बस्नेत, नेपाल जनप्रशासन संघका अध्यक्ष मधुरमण आचार्य तथा कुलेश्वर आवास संस्थाका अध्यक्ष राजु दाहाललगायत हुनुहुन्छ ।

हरिहर बास्कोटा जुम्ला, सिंजा, रकालबाँडाका पण्डित देउनारायण आचार्यका बाह्रौं पुस्ताका सन्तान हुनुहुन्छ । हाल उहाँका ४ छोरा र २ छोरी छन् । हरिहर बास्कोटाले वि.सं. २००० मा अर्थात् आजभन्दा करिब ८२ वर्षपहिले हालको महालेखा परीक्षकको कार्यालय कुमारी चोक मधेस पहिला फाँटमा मासिक ११ रुपियाँको तनाखामा नौसिन्दा पदबाट जागिर आरम्भ गर्नुभएको थियो । वि.सं. २००५ मा नेपालको सेनासँग भारत गएर फर्किएपछि राम्रो काम गरेबापत वि.सं. २००६ मा नायब राइटरमा पदोन्नति हुनुभयो । पछि उहाँ तथ्यांक विभागको खरिदारमा जागिरे हुनुभयो । सोही जागिरबाट २०२१ सालमा भूमिसुधार विभाग छिर्नुभएका बास्कोटा २०२४ सालमा नासुमा पदोन्नति भई २०४२ सालमा तनहुँ जिल्ला भूमिसुधार कार्यालयको कायमुकायम शाखा अधिकृत भएर अवकाश हुनुभयो । त्यसपछि करिब ४० वर्ष उहाँ समाजसेवामा संलग्न रहनुभयो ।

२००० सालमा जागिरको खोजीमा पद्मशमशेरको दरबार पुग्दा हरिहर बास्कोटा नयाँ टोपी, नयाँ गलबन्दी र लबेदा–सुरुवालमा निकै ठाँटिनुभएको थियो । यो कुरा पद्मशमशेरको नजरबाट पनि छिपेन र उहाँलाई ‘नक्कले केटा’को संज्ञा दिएछन् । २०११ सालतिर उहाँले भैंसीको घिउ मोहोर मानोमा खानुभएको थियो । उहाँले २०१७ सालमा जाजरकोटको जागिरबाट काठमाडौँ फर्किंदा भारत हुँदै सिमरा आइपुगेर १८ रुपियाँ भाडामा सिमराबाट काठमाडौँ हवाईजहाज यात्रा गर्नुभएको थियो ।

तत्कालीन राणाकालमा ऋण खाएर तिर्न नसकेको ऋणीको खुट्टामा ठिंगुरा ठोकेको देख्न नसकेर उहाँले जमानत बसी कैद मुक्त गरिदिनुभयो । यसरी उहाँ परोपकारी, कर्तव्यनिष्ठ, उपकारी, समाजसेवी, धार्मिक आस्था र आदरका केन्द्रका रुपमा परिचित हुनुहुन्छ ।

तत्कालीन राणाकालमा ऋण खाएर तिर्न नसकेको ऋणीको खुट्टामा ठिंगुरा ठोकेको देख्न नसकेर उहाँले जमानत बसी कैद मुक्त गरिदिनुभयो । यसरी उहाँ परोपकारी, कर्तव्यनिष्ठ, उपकारी, समाजसेवी, धार्मिक आस्था र आदरका केन्द्रका रुपमा परिचित हुनुहुन्छ ।

हरिहर बास्कोटाले धादिङको केवलपुरमा १९९२ मा खुलेको सरकारी पाठशालामा प्रारम्भिक शिक्षा हासिल गर्नुभएको थियो । सो बखत उहाँले कृष्णमान साहुको पसलमा एक पैसाको खाजा किनेर पेटभरि खाने गर्नुहुन्थ्यो । सो एक पैसामा चिउरा, भुटेको भटमासलगायत खाजामा आउँथ्यो ।

मधेस पहिला फाँटको नौसिन्दामा जागिरे भई उहाँले काठमाडौंको किलागलमा राधाकृष्णको छोराको घरमा डेरा खोज्नुभएको थियो । सो घरको बहाल रकम वर्षको पाँच रुपियाँ तिर्नुहुन्थ्यो । पछि उहाँले भुरुङखेलमा डेरा सर्दा पनि कोठाको भाडा वर्षको पाँच रुपियाँ नै थियो । उहाँ राणाकालमा नौसिन्दाको पदमा जागिरे हुँदा काठमाडौं मरु गणेशमा एक खर्पन चमसुरको साग दुई पैसामा किन्नुभएको थियो । सो एक अँगालो सागको तरकारी खाने, गुन्द्रुक खाँद्ने र छरछिमेकीलाई बाँड्ने काम गर्नुभएको थियो ।

हरिहर बास्कोटा धादिङ केवलपुरबाट बिहानै हिँडेर १० नबज्दै काठमाडौंको चारखाल अड्डा आइपुग्नुहुन्थ्यो । सो बखत अर्थात् २००२।०३ सालतिर भोक लागेर नजिकैको हलुवाई पसलमा गएर पेटभरि स्वारी र हलुवा खाँदा चार पैसा अर्थात् एक आना रकम तिर्ने गर्नुहुन्थ्यो । २००४।०५ सालतिर उहाँ आप्mनी फुपूलाई भेट्न नुवाकोटको झिल्टुङ जानुभएको थियो । सो बखत फुपूले काइँली नेवार्नीको पसलबाट दूध किनेर ल्याउन अराउनुभयो । सो बखत उहाँले तीन पैसा मानु दूध किन्नुभएको थियो । राणा शासनको अन्तिम समयमा उहाँ सरकारी जागिरे हुनुभएको थियो । सो बखत उहाँले आफ्नी श्रीमतीलाई कमलपोखरी छाप हानेको फरिया दुई रुपियाँमा किनिदिनुभएको थियो ।

वि.सं. २००० मा नौसिन्दाको जागिरमा प्रवेश गर्नुभएका हरिहर बास्कोटा २००५ सालतिर ओछ्यान पर्नुभयो । उहाँलाई टिबी रोग लाग्यो । उहाँकी श्रीमतीले प्रत्येक दिन एक पाउ खसीको मासु किनेर हरिहर बास्कोटालाई मासुभात खुवाउनुहुन्थ्यो । काठमाडौंको भुरुङखेल र डल्लुमा डेरा गरी बस्ने हरिहर बास्कोटाले क्षेत्रपाटीको ढुंग्री लगाएकी मासु पसल्नीको पसलबाट ३ वर्ष दैनिक एक पाउ मासु किन्नुभयो । सो बखत खसीको मासु एक रुपियाँ धार्नीमा पाइन्थ्यो । सो बखत धरहरामा खसीको मासु एक पाउको दश पैसा, च्याङ्ग्राको एक पाउ मासुको ८ पैसा र भेडाको मासुको एक पाउको ६ पैसा भनी मूल्य टाँसिएको थियो । यस्ता ऐतिहासिक क्षण गुजार्नुभएका हरिहर बास्कोटाले आफ्नो सम्झनाको पुस्तक पनि प्रकाशित गर्नुभएको छ ।

हरिहर बास्कोटाले काठमाडौंको भुरुङखेलबाट डेरा सरेर डल्लु बस्न जानुभयो । सोही बखत उहाँका छिमेकी शाान्तिको आमाको घरनजिक एउटा कुमाईं बाहुनको छाप्रो बिक्रीमा आयो । मूल बाटोमाथि काँचो इँटाको गाह्रो लगाएको र परालले छाएको एकतले घर थियो । बाटोमुनि एक टुक्रा जमिन पनि थियो । सो जमिनमा छाप्रे चर्पी पनि थियो । निज घरधनीले क्षेत्रपाटीमा सस्तोमा घर पाएकाले यो घर उहाँलाई बिक्री गरेका थिए । सो घरको मूल्य एक सय रुपियाँ थियो । यो घटना २००८ सालको हो ।

हरिहर बास्कोटा जागिरको दौरान २०२१ सालमा नुवाकोट पुग्नुभयो । सो बखत साथी तिलकबहादुर थापासँग रुम पार्टनर भएर बस्नुभयो । उहाँको साथी सो घरमा पेइङ गेस्ट भएर बस्नुभएको थियो । उहाँहरु दुवैजनाको मासिक तलब एक सय २० रुपियाँ थियो । त्यसबाट घरपतिलाई मासिक ४० रुपियाँ तिरेपछि बिहान–बेलुकी भात, दाल, तरकारी र एक डाडु दूध खान पाउनुहुन्थ्यो । यसरी खाना खाएको रकम तिरेपछि घरभाडा फ्री हुन्थ्यो । २०२२ सालमा उहाँ भूमिसुधार कार्यालय बागबजारमा काम गर्नुहुन्थ्यो । सो बखत दिउँसोको खाजामा चना, चिउरा एक प्लेट खाएर टन्न पानी पिउनुहुन्थ्यो । यसबापत उहाँले चार पैसा तिर्ने गर्नुहुन्थ्यो ।

हरिहर बास्कोटाको परिवार २०२९ सालमा धादिङबाट चितवन बसाइँ स¥यो । यसको एक–दुई वर्षपछि उहाँले ५ कठ्ठा घरघडेरी जग्गा पाँच हजारमा खरिद गर्नुभयो । यसरी चितवनमा करिब तीन दशक बसेपछि उहाँ काठमाडौंमा बसाइँ सर्नुभयो । २०८२ साल असारमा उहाँले काठमाडौंमा देहत्याग गर्नुभयो । उहाँ ९५ वर्षको उमेरसम्म हिँडडुल गर्नुहुन्थ्यो । कुलेश्वर आवास क्षेत्र निवासी हरिहर बास्कोटा कलंकी मन्दिरमा साँझ जाँदा भजन मण्डलीलाई पानी किनेर दिनुहुन्थ्यो । यसै गरी, ज्येष्ठ नागरिकलाई बिस्कुट किनेर वितरण गर्नुहुन्थ्यो । यस्ता समाजसेवी एवं परोपकारी व्यक्तित्वबाट समाजले सिक्नुपर्ने सन्देश प्रवाह गर्दछु । शताब्दी पुरुष हरिहर बास्कोटा मेरा पिताश्री हुनुहुन्छ । उहाँप्रति श्रद्धा–सुमन ।