एसईई नतिजा र धरातलीय यथार्थ

846
Shares

विगतका हरेक वर्ष एसईई परीक्षाको नतिजा प्रकाशित हुँदै गर्दा थोरै प्रतिशत मात्र विद्यार्थी सफल हुन्थे र अधिक प्रतिशत विद्यार्थी असफल हुँदाको क्षणमा माथि मन्त्रालयदेखि लिएर शिक्षा कार्यालय हुँदै अभिभावकसम्मकाले शिक्षकलाई दोष थोपर्ने एउटा चलन चलेको थियो । यो आलोचनाले गर्दा हरेक वर्ष एसईईको नतिजा प्रकाशित हुँदै गर्दाको बखत मावि तहका शिक्षकले आफू आरोपित हुनको लागि मानसिकरुपमा तयार भएर रहनुपथ्र्यो । गत वैशाख महिनामा सरकारसमक्ष विभिन्न विषयका माग राखेर आन्दोलनमा होमिएका शिक्षकहरूले आफूले राखेका विविध मागमध्ये हालको तुलनामा पारिश्रमिक बढाउनुपर्नेसमेत माग राखेका थिए । आन्दोलनरत शिक्षकहरूको सोही मागलाई उद्धरण गर्दै प्रधानमन्त्री केपी ओलीले एसईई परीक्षामा केवल ४८ प्रतिशत विद्यार्थी मात्र पास गराएर बाँकी ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको तलब किन बढाउने ? भन्ने आरोप लगाउँदै थिए । तर यसपटक अर्थात् २०८१ सालको एसईई परीक्षामा केवल ४८ प्रतिशत विद्यार्थी मात्र सफल भएर बाँकी ५२ प्रतिशत विद्यार्थी असफल हुने क्रम दोहोरिएन । बरु त्यसको साटो विगत २०८० को ४८ प्रतिशत सफलताबाट ०८१ मा एकैपटक झन्डै ६२ प्रतिशतको हाराहारीमा विद्यार्थी सफल भए । यसै सफलताले गर्दा होला शायद सफलता हासिल गर्ने विद्यालयका विद्यार्थी, उनीहरूका अभिभावक, शिक्षक र उनीहरू स्वयंभित्र पनि निकै खुशीयाली छाएको छ ।थोरै प्रतिशत मात्र पास भए भन्ने हेतुले स्वयं प्रधानमन्त्री केपी ओलीले समेत विगतको भन्दा नतिजा राम्रो आएकोमा शायदै कोही पनि शिक्षकलाई दोष लगाउनुपर्ने अवस्था आएको थिएन होला भनेर अन्दाज लगाउन सकिन्छ । यसको मतलब के भने, विगतको तुलनामा एसईई परीक्षाको नतिजा सुध्रेर सबैजना खुशी भएकै कारणले एक–अर्कालाई दोषारोपण नगरिएको हो त ?

यसपटकको एसईई परीक्षाको नतिजा सुध्रेर जानुका कारणको खोजी गरिनु यस आलेखको उद्देश्य हो । भनेपछि २०८१ सालको एसईई परीक्षामा सामेल भएका सबैजसो विद्यार्थीलाई शिक्षकले नौलो र प्रभावकारी तरिकाले सिकाएका थिए ? अथवा यसपटकका विद्यार्थीले विगतका विद्यार्थीको तुलनामा मन लगाएर लेखपढ गरेका थिए त ? सफलता हासिल गरेका करिब ६२ प्रतिशत विद्यार्थीले एक थोपो पनि अनियमित कार्य नगरी ज्यादै इमानदारिताका साथ परीक्षामा सामेल भएका थिए त ? हामीले नेपालको शिक्षा क्षेत्रको बजार मात्र होइन कि विश्व बजारमा समेत कामयावी हुन सक्ने विद्यार्थी उत्पादन गर्ने हेतु राखेर अगाडि बढ्नुपर्ने होइन र ? तर २०८१ को एसईईको नतिजा हेर्दा सफल हुने विद्यार्थीमध्येको झन्डै २० प्रतिशत विद्यार्थीले ग्रेडसिट कामयावी बनाउने कुरा त परै रहोस्, गाईलाई घाँडो भिराइदिएको भन्दा पनि अधिक सकसिलो भएको पाइन्छ । उच्च अंकले भरिएको ग्रेडसिट हात पर्दाको क्षणमा ….को न्याँनोजस्तै केही क्षणको लागि खुशीको पल वा क्षण बन्न सके तापनि दीर्घकालसम्म यसको प्रतिकूल असर परिरहनेछ । अहिले उच्च सफलताको ढाँटढुँटे गे्रडसिट स्तरबेगरका विद्यार्थीको हातमा थमाएर बधाईको ओइरोले पुर्ने स्कुल तथा कलेजहरूले निकट भविष्यमै गएर आफ्नै शिक्षालयमा कामयावी बनाउन सकिएन भने आफूले आफैँलाई धिक्कार्नुको विकल्प रहँदैन होला ।

प्रधानमन्त्री ओलीसमेत सन्तुष्ट हुने गरी प्रकाशित भएको यस नतिजाले आम अभिभावक, शिक्षक, विद्यालय परिवार पनि खुशी नहुने भन्ने कुरै भएन । अनि जसरी भए पनि उच्च अंकको ग्रेडसिट हात पारिसकेका विद्यार्थीलाई निरुत्साहित बनाउने उद्देश्यले पनि यो आलेख लेखिएको नठहरोस् । यति भएर हालको कक्षा १०, ९ मा अध्ययनरत विद्यार्थीले जाँदो २०८१ का विद्यार्थीको नतिजालाई हेरेर कस्तो मानसिकता बनाउलान् र आफ्नो पढाइलेखाइको काममा कति मात्रमा खटेर सिक्ने बाटोमा लाग्लान् ? भन्ने पनि अहं प्रश्न बनेर रहेको छ । फलानोजस्तो स्तर नै बेगरको साथीले त यति माथ्लो ग्रेड लिएर सफलता हासिल ग¥यो भने मैले त सजिलै सक्छु भन्ने उल्टो मानसिकताले गाँजेको खण्डमा के–कस्ता उपायले त्यो खराब मानसिकताबाट मुक्त गराएर सही मानसिकता भन्ने विभिन्न प्रयासमा लाग्नुपर्दाको अवस्था सबैजसो विषय शिक्षकका लागि चुनौतीको विषय बन्ला कि नबन्ला ?

विगतका धेरै वर्षदेखि क्रमशः गिर्दै गएको एसईई परीक्षाको नतिजामा यसपटकको सुधारले दिएको हौसलालाई प्रधानमन्त्रीले भनेजसरी नै अर्को वर्ष ७० प्रतिशत, अझै अर्को वर्ष ८० प्रतिशत गरेर बढाउँदै लैजाने लक्ष्यमा सबै पक्ष सहमत भए पनि अहिलेको जस्तै मिहिनेतले मात्र कामयावी बन्न सकिएला कि नसकिएला ? सकिएछ भने त अहिलेको भन्दा पनि अधिक खुशी बन्न पाउने क्षण आउला र त्यसै क्षणले हाम्रा पीडा भुल्याइदेला, होइन भने फेरि हाम्रा निराशाका दिन शिक्षकले पाउनुपर्ने गालीको वर्षा भने हरेक शिक्षकको नियति बनेर उभिनेछ । यदि हाम्रो लक्ष्य नै यही र यस्तै टापटिपे हो भने त्यसैलाई येनकेन प्रकारेण भनेजसरी कार्यमा लिएर जानुपर्छ नै । होइन भने वर्तमानको परीक्षा प्रणालीलाई सुधारेर लैजानुको अर्को विकल्प खासै नभेटिएला कि ?

एसईई परीक्षाको नतिजा सुधे्रर जाँदा खुशी हुने प्रधानमन्त्री ओली मूलतः कुन कारणले गर्दा अधिक खुशी भए ? भन्ने विषयले अधिक अर्थ राखेको पाइन्छ । एसईई परीक्षामा धेरै प्रतिशत विद्यार्थी सफल भएको देखाएर, स्कुल सुधारका नाममा विदेशीसँग हात फैलाएर आएको पैसाले व्यक्तिगत भोगविलासका वस्तुको खरिद गरी मोजको मस्त जीवन बिताउने हेतुले खुशी भएका हुन सक्छन् । अर्को कुरा, आफ्नो शासनकालमा नेपालमा विगतमा कहिल्यै नभएको शिक्षाको विकासले फड्को मारेको कुरा फलाकेर आत्मसन्तुष्टि लिन सक्छन् । अहिलेको एसईई परीक्षामा उत्कृष्ट नम्बर हासिल गरेर सफल भएको जनशक्तिलाई केही न केही भए पनि रोजगारी मिलाई स्वदेशमै रोकेर राख्न सक्छु भनेर उनी खुशी भएका हुन सक्छन् । वैदेशिक रोजगारीमा जानेवालाको सड्ख्या बढ्ने र त्यो सड्ख्याको जनशक्तिले पठाएको रेमिट्यान्स आफूखुशी मस्त खान पाइन्छ भनेर पनि उनी खुशी भएका हुन सक्छन् । आम नेपाली जनताले नेताहरुले जस्तो लुटेर खान पाएका छैनन् । अनि उनीहरूलाई कसैको दुई पैसो लुटेर खानुपरेको पनि छैन । यो स्वच्छ भावनाले साँच्चै खुशी भएका रहेछन् भने अबका दिनमा जति जनशक्तिले एसईई पास गरेर उच्च शिक्षाको हकमा प्राविधिक शिक्षा आर्जन गर्न सक्छन्, कम्तीमा त्यति थोरै जनशक्तिलाई भने नेपालमै सुहाउँदो रोजगारी प्रदान गरेर विदेश पलायन हुनबाट रोक्ने सफल प्रयास गर्लान् ?

आज नेपाली युवा (शिक्षित जनशक्ति) को विदेश पलायनको अवस्था हेर्दा हाम्रा माविदेखि लिएर उच्च शिक्षा आर्जन गरिने विश्वविद्यालयहरूसमेत बेरोजगार जनशक्ति उत्पादन गर्ने कारखानाको रुपमा विकास भएका हुन् कि जस्तो लाग्न थालेको छ, धेरै जनशक्तिलाई सफल बनाउँदा खुशी हुनुपर्ने अवस्था आउँछ भने त सफलताको प्रमाणपत्र थमाएपछिका दिनमा उक्त जनशक्तिलाई उचित व्यवस्थापन गराउनेसमेत दायित्व सरकारको दायित्व होइन र ? तर विगतका कैयौँ वर्षदेखि एसईईमा उच्च सफलता हासिल गरेका युवा जनशक्तिसमेत स्वदेशमा बसेको खण्डमा निराशाको आगोमा जल्नुपर्ने र स्वदेशमा बस्दा भविष्य डावाडोल हुने मानसिकताले ग्रस्त भएर रहरले होस् कि करले विदेश जानै पर्ने वातावरण नेपाली जनताले मात्र निर्माण गरेको होइन । यो वातावरण विनाकुनै ठोस योजना शासनको बागडोर सम्हालेर अनेक थरीका वितण्डा मच्चाउँदै देशलाई कुशासनको चपेटामा धकेलेर रमाउने शासककै पक्षबाट सिर्जना भएको वातावरण होइन र ? अब अरु सबै कुराले देश सम्पन्नशाली भइसकेको छ, केवल धेरै प्रतिशत विद्यार्थी एसईई परीक्षामा उत्तीर्ण हुन सके भने अरु सबै कुरा हुनेछन् भनेर आशय राखेको प्रमको भनाइ सुनिन्छ । तर नेपाली युवाले अहिलेको परिवेशमा खोजेको भनेको रोजगारीसँगैको शिक्षा पनि हो ।

नेपाल सरकारले हरेक वर्षको बजेटमा युवा रोजगारी लक्षित कार्यक्रम प्रस्तुत गरेको पाइन्छ । अद्यपि सरकारको हरेक वर्ष छुट्याएको बजेट केवल नाममात्रैका काममा कनिका छराइ गरेर सकिन्छ । धेरै रकम त घुमाउरो बाटोबाट भ्रष्टाचार हुन पुग्छ । त्यसैले यो कति पनि कामयावी हुन नसकेको कार्यक्रम हो । एसईई परीक्षामा जति प्रतिशत विद्यार्थी सफल भए पनि हाम्रो शैक्षिक अवस्था सुधारको बाटोमा आउनेवाला छैन । केवल प्रधानमन्त्रीको रहर मात्रले कुनै अर्थ राख्दैन । विगतमा धेरैजना युवा प्रतिभा कसैले हवाईजहाज बनाएर उडान परीक्षणसमेत गराउन सफल भए, विदेशमा बस्ने नेपाली प्रतिभाले पनि धेरै थरीका वैज्ञानिक आविष्कार गरेर नेपालमै उत्पादन गर्ने इच्छा राखे पनि नेपाल सरकारले अनुमति नदिएका कारण त्यसै मुर्झाएर बस्नुपरेको छ । सर्वप्रथम त ती प्रतिभाशाली युवालाई स्वदेशमा बोलाएर तिनीहरूका प्रतिभा फस्टाउने अनि नेपालको हरेक क्षेत्रको उन्नतिका लागि ढोका खोल्ने खालका कार्यक्रम लागू गरुन् न अनि पो एसईई परीक्षामा धेरै प्रतिशत सफलताको सन्दर्भ उठान गर्दा सार्थक होला । देशले खोजेको कुरो भनेको गुणस्तरीय शिक्षा हासिल गरेको जनशक्ति हो । धेरै जनशक्ति तर स्तरबेगरको शिक्षा हासिल गरेको जनशक्ति त खोजेको होइन नि । यदि हरेक विद्यालयका शिक्षकले मनैदेखि लागिपरेर सिकाउन थाल्ने हो भने, सरकारले हरेक शिक्षकलाई उनीहरुले चाहेको जस्तो वातावरण सिर्जना गरिदिन सक्ने हो भने एसईई परीक्षामा हालको भन्दा धेरै माथिको शिक्षाको गुणस्तर भएको जनशक्ति शतप्रतिशत उत्पादन गर्न नसकिने कुरा पक्कै होइन । तथापि सरकार शिक्षकले मागेजति सुविधा दिने पक्षमा कदापि छैन । सरकारको शिक्षाप्रतिको कुनै ठोस योजना छैन । काम चलाउ शिक्षाको भरमा हाम्रा विद्यालय र विश्वविद्यालयहरू घसे्रर चल्दै मात्र छन् । तिनमा पनि सरकारी क्षेत्रका विद्यालय र विश्वविद्यालयहरू राजनीतिक हस्तक्षेपका कारण थला पर्दै गएका छन् । अनि हरेक वर्ष सम्पन्न गरिने एसईई परीक्षाको नतिजा धेरै प्रतिशत सफल आउनुपर्ने, नआए शासकको गाली निरीह शिक्षकले पाउनुपर्ने एउटा दुःखद विडम्बना नभएर अरु के हुन सक्छ त ?