खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म रिमैको टिजर सार्वजनिक गरिएको छ।
मंगलबार सार्वजनिक करिब दुई मिनेटको टिजरसंगै निर्माण टिमले प्रदर्शन मिति पनि एक साता अघि सारेको घोषणा गरेको छ। यसअघि भदौ २७ गते प्रदर्शन गर्ने भनिएको फिल्म अब भदौ २० गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
टिजरले एक रहस्यमय, रोमाञ्चक र भावनात्मक कथा प्रस्तुत गर्ने संकेत दिएको छ। ग्रामीण परिवेश, स्थानीय संस्कृति, प्रेम, पीडा र बदला मिसिएको कथावस्तु झल्किने टिजरमा दयाहाङ राई गम्भीर भूमिकामा देखिएका छन् भने रिश्मा गुरुङ आत्मीय र सजीव रूपमा प्रस्तुत भएकी छन्। त्यस्तै, अर्पण थापा रहस्यमय रूपमा देखिन्छन् र बुद्धि तामाङ गहिरो अभिव्यक्तिसहित प्रस्तुत भएका छन्। फिल्मको छायांकन र संवादमार्फत समाजका यथार्थ पक्षलाई उठान गर्ने प्रयास गरिएको टिजरमा देखिन्छ। टिजरको अन्त्यतिर देखिएको तनावपूर्ण दृश्यले कथामा द्वन्द्वपूर्ण मोड पनि रहने अनुमान गर्न सकिन्छ। विशेषगरी गुरुङ संस्कार र संस्कृतिलाई समेट्ने प्रयास टिजरमा प्रष्टै देखिन्छ।
रिमै गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्सको प्रस्तुति हो भने रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो। टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता रहेको फिल्ममा गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ, बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, प्रश्ना राना मगरलगायत कलाकारको पनि अभिनय रहेको छ। वीरवल घले फिल्मका कार्यकारी निर्माता हुन् भने बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्माताका रूपमा रहेका छन्। फिल्मको कथा उपेन्द्र सुब्बाले लेखेका हुन् भने संगीत दीपक शर्मा र थानेश्वर गौतमले दिएका छन्। छायांकन शैलेन्द्रध्वज कार्की र सम्पादन मित्र डी गुरुङले गरेका छन्।











प्रतिक्रिया