आबाट आमामा पलको जोडी सिमरन पन्त


निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ फिल्म आबाट आमामा सिमरन पन्त अनुबन्धित भएकी छन्। फिल्ममा उनी अभिनेता पल शाहसंग जोडीका रूपमा प्रस्तुत हुने भएकी छन्।

यसअघि सिमरनले होस्टेल ३ मा अभिनय गरेर राम्रो चर्चा पाएकी थिइन्। आबाट आमा उनको दोस्रो फिल्म हो। यसअघि नै फिल्मका लागि अभिनेत्री विपना थापाका साथै तेलुगु, हिन्दी र तमिल फिल्ममा काम गरिसकेका चर्चित अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्। अभिनेता रावत निर्देशक चन्द्र पन्तकै फिल्म ह्रस्वदीर्घमा पनि देखिएका थिए, जसमा उनले अभिनेत्री नीता ढुंगानाका बुबाको भूमिका निर्वाह गरेका थिए। यस पटक उनी अभिनेता पल शाहका बुबाको भूमिकामा देखिनेछन्।

निर्देशक चन्द्र पन्तले यसअघि माई र ह्रस्वदीर्घ निर्देशन गरिसकेका छन्। आर्या इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण हुने आबाट आमाको छायांकन आगामी भदौ महिनाबाट शुरू हुने तयारी छ। निर्माण टिमले फिल्म फागुन १५ गते देशव्यापी रूपमा प्रदर्शनमा ल्याउने घोषणा गरेको छ।