आर्थिक वर्ष २०८१|८२ मा मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गतआवमा १२ हजार ५१२ जना विदेशी पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ । एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार यो संख्या अहिलेसम्मकै धेरै हो ।
अभिलेखअनुसार आर्थिक वर्ष २०८०|८१ मा ९ हजार ७८२ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गरेका थिए । आर्थिक वर्ष २०७९|८० मा ७ हजार ७०५ र आर्थिक वर्ष ०७८|७९ मा २ हजार २८४ जना पर्यटकले मात्र उक्त क्षेत्रको भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदै जानु सुखद पक्ष भएको शेरचनले बताउनुभएको छ ।एमक्यापले आर्थिक वर्ष २०८१|८२ मा साढे १२ हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो, जुन लक्ष्य पूरा भएको एमक्यापले जनाएको छ ।
‘कोभिडका बेला र त्यसपछि पनि पर्यटकको संख्या ज्यादै न्यून थियोे,’ आयोजना प्रमुख शेरचनले भन्नुभयो, ‘आव २०७७|०७८ मा सबैभन्दा कम अर्थात् जम्मा एक सय ९४ जना पर्यटक मात्र सो क्षेत्रमा पुगेका थिए ।’ सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या आर्थिक वर्ष २०७६|०७७ मा ५ हजार ३३८ र २०७५|७६ मा ७ हजार ६५५ जना रहेको थियो ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति एक हजार र अन्य राष्ट्रका पर्यटकले तीन हजार रुपियाँ बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ । यी दुवै ठाउँमा प्रबेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोस्टमा दोब्बर दस्तुर तिर्नुपर्ने एमक्याप प्रमुख शेरचनले बताए ।निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ ।
विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । उक्त अवधिभर चुम भ्यालीका लागि सिजनमा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने बेसिजनमा २५ डलर मात्र । त्यस्तै नुब्री भ्यालीका लागि सिजनमा प्रतिव्यक्ति ७० डलर र बेसिजनमा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउनुपर्नेछ हुन्छ ।मनास्लु क्षेत्रअन्तर्गत चुम नुब्री गाउँपालिकाको सातवटा वडा पर्दछन् । साबिकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ ।











प्रतिक्रिया