वि.सं. २०७७ भदौको कुरा हो । चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भयो । पश्चिम चितवनमा रहेको बाटुली पोखरी सामुदायिक वनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट भरतपुर महानगरपालिका वडा नम्बर १३ का ६० वर्षीय बाबुराम महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भदौ २१ गते बिहान ८ बजे घरबाट घाँस काट्न निस्किएका उहाँ दिउँसो मृत भेटिनुभयो । चितवन प्रहरीका अनुसार घटनास्थलबाट करिब २ किलोमिटर पश्चिमतर्फ जंगलमा उहाँको टाउको र खुट्टा भेटिएको थियो । उक्त वन चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ ।
चितवनमै बाघको आक्रमणबाट जंगलमा घाँस काट्न जानुभएकी महिलाको पनि मृत्यु भएको थियो । २०७९ जेठ ८ गते दिउँसो भरतपुर महानगरपालिका–१३ स्थित बाटुली पोखरी सामुदायिक वनमा नै घाँस काट्न जानुभएकी ५२ वर्षकी फूलकुमारी बोटेलाई बाघले आक्रमण गरेको थियो । दिउँसो २ बजे महिलालाई बाघले आक्रमण गरेको प्रहरीले जानकारी पाएको थियो । त्यसपछि ३ घण्टा खोजी गर्ने क्रममा बोटेको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।
चितवन राष्ट्रिय निकुञ्जकै मध्यवर्ती क्षेत्रमा घाँस काट्न जानुभएका एक पुरुषको पनि बाघको आक्रमणबाट मृत्यु भएको थियो । राप्ती नगरपालिका–१, दुबीचौरका ४३ वर्षीय हरि पौडेलको बाघको आक्रमणबाट मृत्यु भएको हो । मकवानपुरको मध्यवर्ती क्षेत्रमा पर्ने मनहरी गाउँपालिका–६ स्थित लोथर राप्ती दोभानमा घाँस काट्न पुग्नुभएका उहाँलाई २०८० मंसिर ८ गते बाघले आक्रमण गरेको थियो ।
बाघकै आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–६ का ५५ वर्षीय बबना चौधरीको ज्यान गएको थियो । चितवन राष्ट्रिय निकुञ्जका अनुसार स्थानीय कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र हात्ती चराउन जाँदा बाघले आक्रमण गरेको हो । हात्ती चराउँदै घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जनाइएको छ । २०७७ असोज १० गते बाघले जरायो मारेर सिकार गरिरहेको अवस्थामा उहाँ घाँस काट्न त्यहाँ पुगेपछि बाघले आक्रमण गरेको थियो ।
चितवनमा घाँस काट्न गएका अर्का व्यक्तिको पनि बाघको आक्रमणबाट मृत्यु भएको छ । चितवनको खैरहनी नगरपालिका–१३ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न जाँदा बेपत्ता हुनुभएका ६८ वर्षका पदमबहादुर रानामगरको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ७ बजेतिर घाँस काट्न जानुभएका सोही स्थानका पदमबहादुरलाई बाघले आक्रमण गरेको हो । पदमबहादुरसहित अन्य तीनजना सँगै घाँस काट्न गएकोमा उहाँ भने सम्पर्कविहीन हुनुभएको थियो । घाँसको भारी पु¥याएर घर फर्कने क्रममा सँगै गएका साथीहरुले पदमबहादुरलाई बोलाउँदा र खोज्दा नभेटेपछि प्रहरीलाई खबर गरेका थिए ।
बिहान ११ बजेदेखि खोजीकार्य शुरु गरिएकोमा दिउँसो करिब पौने ३ बजे जंगलभित्र बाघले खाएको अवस्थामा उहाँको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, चितवनले बताएको छ । कम्मरमाथिको केही भाग बाघले खाएको अवस्थामा पदमबहादुरको शव फेला परेको बताइएको छ । करिब ५ सय स्थानीयहरु बाघ नियन्त्रणमा लिएपश्चात् मात्र शव मुचुल्का प्रारम्भिक कार्य हुनुपर्ने माग राखी कुमरोज मध्यवर्ती सामुदायिक वनको गेटमा भेला भएका थिए । वडा अध्यक्ष, वार्डेन, डार्क टोली र नेपाली सेनाको उपस्थितिमा छलफलपछि शव मुचुल्कापश्चात् अपराह्न ५ बजे पोस्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल पठाइएको बागमती प्रदेश प्रहरी हेटौंडाले जनाएको छ ।
केही समयअघि हेटौंडा–१८, रामधुनी सिमसारमा घाँस काट्न जाँदा माइतीकुमारी बयलकोटी बाघको आक्रमणबाट घाइते हुनुभयो । उहाँ घाँस काट्ने साधारण औजार कँचियाको भरमा बाघसँग जुधेर बाँच्न सफल हुनुभएको थियो । पश्चिम मकवानपुरको मनहरी–५ मा पुस १४ गते बाघको आक्रमणबाट ज्यान गुमाउनुभएकी ७२ वर्षीया कान्छीमाया रुम्बाको परिवारलाई मनहरी गाउँपालिकाले सहयोग ग¥यो । पालिका अध्यक्ष रञ्जन कालाखेतीले घरमै पुगेर किरिया खर्चका लागि ५० हजार रुपियाँ सहयोग गर्नुभएको थियो ।
अध्यक्ष कालाखेतीले उक्त घटना केवल व्यक्तिगत दुःख मात्र नभई मानव र वन्यजन्तुबीच बढ्दो द्वन्द्वको गम्भीर संकेत भएको बताउँदै दीर्घकालीन समाधानका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य अपरिहार्य रहेकोमा जोड दिनुभयो । उहाँले जंगली जनावरको आक्रमणबाट हुने क्षति रोक्न सबै पक्ष एकजुट भएर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उक्त घटनापछि मानव र वन्यजन्तुबीच सन्तुलन कायम राख्न ठोस र दीर्घकालीन रणनीतिहरु अपनाउनु आवश्यक रहेको बताउनुभयो ।
मनहरी–५, वसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रुम्बाकी ७२ वर्षीया पत्नी कान्छीमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । रुम्बालाई घरनजिक खोल्सामा बाघले आक्रमण गरेको थियो । यसरी चितवन निकुञ्जआसपास बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बढ्दै गएको छ । पछिल्लो तथ्यांकअनुसार देशभरका वनक्षेत्रमा ३ सय ५५ वटा बाघ भएको देखिन्छ । तीमध्ये चितवन निकुञ्ज र यसको आसपासका वनक्षेत्रमा सबैभन्दा धेरै बाघ रहेका छन् ।
उष्ण पारिस्थितिक प्रणालीको उच्च तहमा पाइने मांसाहारी प्रजाति भएकाले बाघलाई छाता प्रजाति पनि भनिन्छ । बाघलाई बचाउन सके अन्य धेरै प्रजाति स्वतः बच्ने संरक्षणकर्मीहरु बताउँछन् । विश्व संरक्षण संघ (आईयुसीएन) ले बाघलाई रातो किताबको दुर्लभ सूचीमा राखेको छ । संकटापन्न वन्यजन्तु तथा वनस्पतिका प्रजातिको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धिले यसको अन्तर्राष्ट्रिय व्यापारमा पूर्ण प्रतिबन्ध लगाएको छ ।











प्रतिक्रिया