नेपाली फिल्ममा चाडपर्वका विशेष गीत दुर्लभ बन्दै गइरहेका बेला आउदै गरेको फिल्म कोशेढुंगाले यो परम्परा तोड्ने प्रयास गरेको छ।तीज विशेष गीत नत्र भने जिन्दगी व्यर्थ छ सोमबार राजधानीमा आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ। सेभेन सिज इन्टरनेसनल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा नेत्र अर्यालको शब्द, खेम सेन्चुरीको हुकलाइन र संगीत रहेको छ। खेम सेन्चुरीसगै गीतमा समीक्षा अधिकारी र दीपिका बयम्बु मगरको स्वरले झनै मिठास थपेको छ।
तीजकै माहोलमा खिचिएको भिडियोमा विवाहित र अविवाहित महिलाको दृष्टिकोणमार्फत तीजको भावना व्यक्त गरिएको छ। विवाहित महिलाले आफनाे प्रेम र अनुभव पोख्दा अविवाहित महिलाले विवाह र जीवनसाथीप्रतिको परिकल्पना व्यक्त गरेका छन्। गीतको माध्यमबाट तीजको सांस्कृतिक पक्षसँगै समाजको यथार्थ पनि झल्काइएको छ। गीतको भिडियोमा सुरक्षा पन्त र नीति शाहले अविवाहित युवतीको प्रतिनिधित्व गरेका छन् भने विवाहित पक्षबाट ऋचा शर्माको अभिनय छ। कलाकार मन्जिल कुमारले सुरक्षासगको प्रेमकथा प्रस्तुत गरेका छन्, जसमा सुरक्षा पनि सकारात्मक देखिन्छिन्।
गीतलाई थप चर्चामा ल्याउन निर्माण पक्षले टिकटक भिडियो प्रतियोगिताको घोषणा समेत गरेको छ। भदौ ४ सम्म चल्ने प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नेले ३० हजार, मोस्ट क्रिएटिभ भिडियोलाई २० हजार, र मोस्ट लाइक भिडियोलाई १० हजार रुपैया पुरस्कार दिइनेछ।
सरोज पौडेलद्वारा निर्देशित फिल्ममा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउँवाला गौतम, दिनेश काफले, लोकमणि सापकोटालगायत कलाकारले अभिनय गरेका छन्। नरदेवी फिल्म्स् र सारंगी फिल्म्स्को संयुक्त प्रस्तुति रहेको फिल्म प्रेविल कँडेल र किशोर अनुरागको निर्माणमा बनेको हो। कार्यकारी निर्माता दिनेश खड्का रहेको फिल्ममा आशिष अविरल र रिदम कँडेलको संगीत, बाबु श्रेष्ठको छायांकन र नहकुल खड्काको सम्पादन रहेको छ। फिल्म नेपालसहित ४० भन्दा बढी देशमा एकै साथ आगामी भाद्र १२ गते प्रदर्शनमा ल्याइने निर्माण पक्षको योजना छ।












प्रतिक्रिया