पैसामा सुतेर उठेका माग्ने राजा


हास्यरस र जीवन्त कथावस्तुले भरिएको फिल्म माग्ने राजामा समावेश म त सुतेर उठेको पैसामा सार्वजनिक गरिएको छ। राजधानीमा सोमबार आयोजित विशेष समारोहबीच सार्वजनिक गरिएको गीतले दर्शकमा हर्ष र कौतुहलता थपेको छ।
गीतमा लोकप्रिय कलाकार केदार घिमिरे (माग्ने बुढा), विल्सन विक्रम राई (तक्मे बुढा) र बालकलाकार रोनिश खड्का फिचर्ड छन्। आधुनिक ¥याप शैलीमा तयार गरिएको गीतमा गायक बाबुल गिरीको स्वर, शब्द, संगीत र एरेन्जमेन्ट रहेको छ।

चाइल्ड भर्सनमा रोनिशले समेत स्वर दिदा गीत झनै ताजगीपूर्ण बनेको छ। गम्भीर बिष्टको आकर्षक कोरियोग्राफीले सजिएको करिब साढे ४ मिनेट लामो भिडियो दृश्य र ध्वनिमा दुवैतर्फ सशक्त देखिएको छ। रमाइलो भाकामा बुनिएको गीतले दर्शकलाई नचाउन र गुनगुनाउन बाध्य पार्न सक्छ।

८ वर्षपछि निर्देशनमा फर्किएका ऋषि लामिछानेले निर्देशन गरेको फिल्ममा माग्ने बुढाको रूपमा परिचित केदार घिमिरे र वर्षा शिवाकोटी प्रमुख भूमिकामा छन्। साथै, पुष्कर गुरुङ, विलशन विक्रम राई, शिशिर वाङ्देल, शारदा गिरी, र सामाजिक सञ्जालबाट चर्चामा आएकी पवित्रा साकी मिस पबीको पनि अभिनय रहेको छ।

आरम्भ प्रोडक्सनको ब्यानरमा मुनाल घिमिरेद्वारा प्रस्तुत तथा निर्मित फिल्ममा सामीप्यराज तिमल्सेनाको कथा, पटकथा र संवाद, दीपक शर्मा र बाबुल गिरीको संगीत, डुकराज घिमिरेको कला निर्देशन, रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, नरेन्द्र मैनालीको छायांकन निर्देशन रहेको छ।