नेपाल–चीनबीच चार परियोजनामा समझदारी, स्वास्थ्य, ऊर्जा र मानव स्रोतमा सहयोग


काठमाडौं।

नेपाल र चीनबीच स्वास्थ्य, ऊर्जा, मानव संसाधन र पूर्वाधार क्षेत्रमा केन्द्रित चार परियोजनाका समझदारीपत्रमा हस्ताक्षर भएको छ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओडोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा भएको द्विपक्षीय भेटवार्तापछि उक्त समझदारीमा हस्ताक्षर गरिएको हो।

समझदारी अनुसार चितवनको भरतपुरस्थित वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोन म्यारो ट्रान्सप्लान्ट सेन्टर निर्माण गरिनेछ। १,८३४ वर्गमिटर क्षेत्रफलमा फैलिने उक्त केन्द्रमा अत्याधुनिक उपकरण जडान गरिनेछ, जसले बोन म्यारो क्यान्सरको उपचारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

त्यस्तै, निजामती कर्मचारी अस्पतालको विस्तार सम्बन्धी सम्भाव्यता अध्ययन गर्न समेत समझदारी भएको छ। यसले कर्मचारी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विश्वास गरिएको छ।

स्वास्थ्य क्षेत्रसँगै, नेपाल र चीनबीच मानव स्रोत विकास सम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर भएको छ। जसअनुसार १,२७० जना सरकारी कर्मचारी चीनका विभिन्न संस्थाद्वारा आयोजित द्विपक्षीय तथा बहुपक्षीय सेमिनारहरूमा सहभागी हुनेछन्। यसले कर्मचारीको क्षमता अभिवृद्धिमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ऊर्जा पूर्वाधारका क्षेत्रमा, रसुवागढी–केरुङ्ग सिमापार ट्रान्समिसन लाइन निर्माणको सम्भाव्यता अध्ययन सम्बन्धी माइन्युटमा नेपाल विद्युत प्राधिकरण (NEA) का प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरेका छन्। सम्भाव्यता अध्ययनपछि चीनबाट विद्युत् निर्यात गर्न बाटो खुल्नेछ।

बाढीपीडित संरचनाको पुनर्निर्माणमा चीनको सहयोग
भेटवार्ताका क्रममा रसुवामा हालैको बाढीले पुर्याएको क्षति र त्यसको पुनर्निर्माणमा चीनले सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

सिड्का अध्यक्ष सियाओडोङ्गले भौतिक संरचनाको पुनर्निर्माण र भन्सार प्रक्रियालाई सरल र तीव्र बनाउने विषयमा सहयोग गर्ने बताएका छन्।

अर्थमन्त्री पौडेलले नेपालको प्राथमिकता बाढीपीडित क्षेत्रको तत्काल पुनर्निर्माण रहेको स्पष्ट पार्दै चिनियाँ पक्षबाट देखाइएको चासो र तत्परताप्रति धन्यवाद व्यक्त गरे।

“आयात–निर्यातका लागि मात्र होइन, राजस्वको हिसाबले पनि रसुवा नाका अत्यन्त महत्वपूर्ण छ। त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं,” पौडेलले स्पष्ट पारे।