मनसुनले सडक अवरुद्ध, ६ मुख्य राजमार्ग प्रभावित


काठमाडौं ।

मनसुन सक्रिय हुँदै गर्दा देशका विभिन्न ठाउँमा पहिरो र बाढीले सडक अवरुद्ध भएका छन्। सडक विभागका अनुसार आइतबार मात्रै ६ वटा मुख्य राजमार्ग र सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् भने ८९ स्थानमा एकतर्फी सञ्चालन भइरहेको छ।

अरनिको राजमार्गको सिन्धुपाल्चोक जुरेमा पहिरोले बाटो बन्द भएको छ भने मेची राजमार्गको गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोलामा हेवा खोलाको बहावले सडक अवरुद्ध भएको छ। धनकुटाको भेडेटार रवि राँके सडकमा उपकरण परिचालन गरी सडक खोल्ने प्रयास भइरहेको छ।

मुग्लुङको भेना गाउँमा लेदोसहित पहिरो आएको र कोशी राजमार्गको सङ्खुवासभा देउरालीमा पनि सडक अवरुद्ध छ। त्यहाँबाट पहिरो पन्छाउन एक्स्काभेटर प्रयोग भईरहेको छ।

असार २४ गते आएको बाढीले स्याफ्रुवेसी–रसुवागढी सडक पनि अवरुद्ध भएको छ। विभागले निरन्तर वर्षा र खोलाको बहावका कारण काममा कठिनाइ भए पनि अवरुद्ध सडक छिट्टै खुलाउने बताएको छ।