वृद्धावस्थामा शारीरिक एवं मानसिक स्वास्थ्यको हेरचाह

940
Shares

नेपालीको औसत आयु करिब ७१ वर्ष रहेको छ । हाल नेपाल सरकारले ६० वर्ष उमेर काटेकालाई वृद्ध उमेर समूहमा राखेको छ । राष्ट्रसंघले ६५ वर्ष उमेर पुगेकालाई वृद्ध उमेर समूहमा राखेको छ । नेपालमा हाल करिब २९ लाख मानिस ६० वर्षभन्दा माथिका छन् । विकसित देशहरुमा करिब एक तिहाइ जनसंख्या ६० वर्षमाथि उमेर समूहका छन् ।

संसारमा परिवर्तन अत्यन्त द्रुत गतिमा भइरहेको छ । विज्ञान, सञ्चार तथा प्रविधिमा भएको परिवर्तनले विद्यमान साधन तथा सुविधामा द्र्रुत गतिले विकास भइरहेको छ । सन् २०५० सम्म ड्राइभरविनाको कार, शिक्षकविनाको पढाइ, कृत्रिम दिमागको प्रयोग, कर्मचारीविनाको अफिस, विवाहमा कमी, कृत्रिम खाद्यपदार्थको व्यापक प्रयोग, प्याकेज खानाको प्रयोग तथा आन्तरिक्षमा यात्राजस्ता कुराहरु सामान्य भइसक्नेछन् । स्वचालित कारको प्रयोग विदेशमा शुरु भइसकेको छ । हवाई कार तथा ट्याक्सीको प्रयोग, मोबाइल वा कम्प्युटरमा आधारित शिक्षा, आर्टिफिसियल इन्टेलिजेन्सको व्यापक प्रयोग, घरबाट अफिसको काम गर्ने चलन तथा स्वास्थ्य सेवामा आधुनिक उपकरणको प्रयोग सन् २०५० सम्ममा सामान्य हुनेछ ।

एउटा अनुसन्धानले देखाएको छ– नेपालमा ८५ प्रतिशत वृद्धवृद्धाहरु पहाडबाट बसोबास सरेर तराईमा आएको देखिन्छ । परिवारमा युवा सदस्य कामको खोजीमा विदेशिनु र कामको लागि शहर पस्नुको कारणले बसोबास गर्ने घरलाई व्यवस्थित गर्न नसक्नाले वृद्धवृद्धालाई बसोबास गर्न निकै कठिनाइ परेको देखिन्छ । नेपालका ६० प्रतिशत वृद्धवृद्धाहरु स्कुल शिक्षाबाट वञ्चित भएको हुँदा उनीहरुलाई आधुनिक युगको सेवासुविधा पाउन निकै अप्ठ्यारो परेको छ । दु्रत शहरीकरण, एकल परिवार, वैदेशिक रोजगार, बढ्दो सामाजिक कुरीति तथा दीर्घरोगहरु समस्या हुन् ।

आर्थिक तथा यातायातको असुविधाले वृद्धवृद्धाहरु तीर्थ यात्रा तथा भ्रमण गर्ने अवसरबाट वञ्चित देखिन्छ । एक्लोपन, सीमित स्वास्थ्य सेवा तथा आर्थिक अभाव वृद्ध अवस्थाका प्रमुख समस्या हुन् । शारीरिक, मानसिक भेदभाव, व्यक्तिगत सामाजिक तथा संस्थागत अधिकारको हनन पनि प्रमुख समस्या हुन् ।

स्वास्थ्य समस्या, उपचार र सावधानी :
काठमाडौंमा बसोबास गर्ने सेवानिवृत्त त्रि.वि.का प्राध्यापकहरुमा गरिएको एउटा अनुसन्धानमा उनीहरुको प्रमुख स्वास्थ्य समस्याहरुमध्ये ढाड दुख्ने १०० प्रतिशत, आँखा कम देख्ने ८०,, ग्यास्ट्रिक ६०, टाउको दुख्ने समस्या ४०, पाठेघर खसेको समस्या ३०, पेट दुख्ने समस्या २०, खुट्टा सुन्निने समस्या ४० प्रतिशत तथा दमको समस्या ५३ प्रतिशतमा पाइएको देखाइएको छ ।

(क) हाडर्जोर्नीको समस्या : वृद्ध अवस्थामा हाडर्जोनीको समस्या एउटा प्रमुख समस्या हो । जोर्नीहरु खिइएर जाने तथा नसाहरु सुक्ने एउटा प्रमुख समस्या हो । यति बेला घुँडा दुख्ने, ढाडकोे हड्डी खिइने, हड्डी कमजोर हुने, घाँटी तथा कमर दुख्नेजस्ता समस्या प्रमुख हुन् । यी समस्याबाट बच्न डाक्टरको सल्लाहअनुसार दुखाइ कम गर्ने औषधि सेवन गर्नुपर्छ र वैकल्पिक विधिहरु जस्तै– योग, फिजिकल थेरापी, तातो पानीले सेक्ने, दूध तथा क्याल्सियमयुक्त खाना खाने र नियमित हिँड्ने बानी गर्नुपर्छ । आवश्यकताअनुसार लठ्ठी तथा अन्य सहयोगी सामग्रीहरुको प्रयोग गर्नुपर्दछ ।

(ख) छालाको हेरचाह : आवश्यकताअनुसार छालामा तरल, भेसलिन तथा मोस्चराइजर क्रिमको प्रयोग गर्नुपर्छ र छालालाई नरम राख्र्नुपर्छ । मौसमअनुसार तातो\चिसो पानीको प्रयोग गर्नुपर्छ ।

(ग) पेटको समस्या : दाँत झर्ने, स्वाद नलाग्ने, खाना नपच्ने, कब्जियत हुने, ग्यास्ट्रिक हुनेजस्ता समस्याबाट बच्न तारेको वा भुटेको खानाको प्रयोग गर्नुहुँदैन । पाकेको र मिसावटरहित खानाको प्रयोग गर्नुपर्छ । चपाउन सजिलो हुने खाना दिनुपर्छ तथा झोल खानेकुराको मात्रा बढाउनुपर्छ । पानीको सेवन प्रर्याप्त मात्रामा गर्नुपर्छ ।

(घ) पिसाबसम्बन्धी समस्या : यो उमेरमा खास गरी पुरुषहरुलाई प्रोस्टेट तथा महिलाहरुलाई बच्चादानीको समस्याले गर्दा पिसाब सामान्य नहुने र छिन्–छिन्मा हुनेजस्ता समस्या देखिएमा डाक्टरको सल्लाहअनुसार उपचार गराउनुपर्छ ।

(ङ) आँखा तथा कानको समस्या : वृद्ध अवस्थामा आँखा नदेख्ने समस्या भएमा चश्माको नियमित प्रयोग गर्नुपर्छ र मोतिविन्दुको जाँच गराउनुपर्छ । कान सुन्न बिस्तारै कम हुँदै जाने भएकोले कानको जाँच गराई कान सुन्ने मेसिनको प्रयोग गर्न सकिन्छ । बोल्दा बुझ्ने भाषामा बिस्तारै आँखामा हेरेर बोल्नुपर्छ ।

(च) नसारोगको समस्या : वृद्ध अवस्थामा स्मरण क्षमता कम हुने, नभएको समस्या देखा पर्ने सामान्य कुरा हो । यसबाट बच्न नियमित व्यायाम, हिँडाइ तथा समय–समयमा डाक्टरसँग जाँच गराउनुपर्छ । नसा कमजोर भएको बेला हिँडडुल गर्न, हातखुट्टा चलाउन तथा समन्वय गर्न समस्या हुन्छ ।

(छ) अन्य स्वास्थ्य समस्या : श्वास फेर्न गाह्रो हुने, कफ आउने तथा छातीमा संक्रमणको बढी समस्या हुने हुँदा नियमित व्यायाम गर्ने र धुवाँ–धूलोबाट बच्नुपर्छ । मृगौलाले राम्ररी काम नगर्नु, मुटुको चाल कम हुनु तथा अंगमा रक्तसञ्चार कम हुने समस्या हुन्छ । नियमित व्यायाम गर्ने, धूमपान नगर्ने, तौलमा नियन्त्रण राख्ने, नुन र चिनीको सेवन कम गर्ने तथा रक्तचाप नियमित नपाउने गर्नुपर्छ । साथै आफ्नो शरीरलाई स्वस्थ राख्न नियमित चेक जाँच गराउनुपर्छ र स्वास्थ्यप्रति सजग रहनुपर्छ ।

वृद्घावस्थालाई स्वस्थकर बनाउने उपायहरु :

(१) झर्केर नबोल्ने : वृद्धवृद्धासँग समय बिताउने र कुरा सुन्ने गर्नुपर्छ । झिँजो मान्ने र झर्केर बोल्ने गर्नुहुँदैन ।
(२) सम्मान गर्ने : वृद्धवृद्धालाई हामीले कुन तहको सम्मान दिनुपर्ने हो, त्यो दिनुपर्छ ।
(३) खानपानमा ध्यान दिने : समय–समयमा आफूले खुवाउन सक्ने खानेकुरा खान दिनुपर्छ । वृद्ध उमेरमा धेरै देखिने समस्या हो पानीको कमी, यसले गर्दा शरीरमा डिहाइडे«सन हुन्छ । शरीरमा पानीको कमी भएपछि अधिकांश रोग लाग्छ । पानी खान विशेष जोड दिनुपर्छ ।
(४) सँगै खाना खाने : दिनमा कम्तीमा दुई छाकचाहिँ परिवारका अरु सदस्यले वृद्धवद्धाहरुसँगै बसेर खानुपर्छ ।

(५) नतिनातिनासँग भुल्न दिने : वृद्धवृद्धाहरुका लागि आफ्ना छोराछोरीभन्दा पनि नातिनातिना धेरै प्यारा हुन्छन् । उनीहरुसँग भुल्न, कुराकानी गर्न दिनुपर्छ । यसले गर्दा अत्मीयता बढ्छ । त्यो मात्रै नभएर रमाइलोपनको आभास हुन्छ, खुशी बढाउँछ ।
(६) मनका कुरा व्यक्त गर्न दिने : वृद्धवृद्धाहरुले प्रत्यक्ष, अप्रत्यक्षरुपमा मनका कुरा व्यक्त गरिरहेका हुन्छन् । नातिनातिनाबाट वा अरु कसैको माध्यमबाट व्यक्त भइरहेको हुन्छ । त्यसलाई सुन्नुपर्छ, ध्यान दिनुपर्छ । खुलेर भावनाहरु व्यक्त गर्ने वातावरण बनाउनुपर्छ । एक्लै मनमा कुराहरु गुम्स्याएर राख्न दिनुहुँदैन । उनीहरुलाई सकेसम्म परिवारका सदस्यसँगै राख्नुपर्छ र कुरा गर्दा धैर्यताका साथ सुनिदिनुपर्छ ।
(७) परिवारको निर्णयमा सहभागी गराउने : घरमा हुने कुनै महत्वपूर्ण निर्णयमा वृद्धवृद्धालाई सहभागी गराउनुपर्छ । उनीहरुको राय पनि सुन्नु आवश्यक छ । अझै पनि मेरो कुरा सुनिदो रहेछ, मेरो राय तथा निर्णयको महत्व रहेछ भन्ने भावना मनमा आउँछ । यसले मानसिक रुपमा सबल बनाउँछ ।
(८) सामाजिक क्रियाकलापमा सहभागी गराउने : वृद्धवृद्धाहरुलाई सामाजिक क्रियाकलापहरुमा सकेसम्म सहभागी गराउनुपर्छ । विवाह, व्रतबन्ध वा अन्य कुनै समारोहमा सहभागी हुन प्रेरित गर्नुपर्छ । कुनै सामाजिक काममा संलग्न हुन दिनुपर्छ ।
(९) नियमित स्वास्थ्य जाँच गराउने : वृद्धवृद्धाको स्वास्थ्य जाँच नियमितरुपमा गराउनुपर्छ । सकेसम्म महिनामा, नभए वर्षमा एकपटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसो हुँदा कुनै स्वास्थ्य समस्या देखिए जटिल अवस्थामा पुग्न पाउँदैन ।
प्रतिरोध क्षमताको कमीले गर्दा रोगको संक्रमण हुने बढी सम्भावना हुन्छ । पुरुषहरुमा टेस्टेस्टोरोन तथा महिलाहरुमा इस्ट्रोजन र प्रोजेस्ट्रोन हर्मनको कमीले यौन इच्छामा कमी हुने तथा मुड एवं शारीरिक क्षमतामा कमी आउने हुन्छ । शरीरमा पोषण तत्वको कमीले र नसाहरुमा कमजोरीको कारण सोच्ने क्षमतामा र दिमागको काममा कमी हुन्छ । पाचन शक्तिमा कमी हुनुको मुख्य कारणमा भोक नलाग्नु, आन्द्राको शोषण क्षमतामा कमी आउनु तथा इन्जाइममा कमी आउनु हो ।

वृद्घ अवस्थामा सकभर आफ्नो स्थायी निजी निवासमा बस्नुपर्छ, जसले जीवनभित्र आनन्द दिन्छ । आफ्नो बैैंक ब्यालेन्स तथा भौतिक सम्पत्ति आफैँसँग राख्नुस्, कसैको प्रेममा परेर उसलाई नदिनुहोस् । आफ्नो सन्तानलाई जीवन जिउन हस्तक्षेप नगर्नुस् र आफू पनि आफ्नो इच्छाअनुसारको जीवन जिउनुहोस् । आफ्ना बालबच्चाले वृद्घ अवस्थामा स्याहार गर्छन् भन्ने सोचमा नबस्नुहोला, किनकि समयअनुसार मान्छेको प्राथमिकता बदलिन्छ र चाहेर पनि मद्दत गर्न सक्दैन ।

आफ्नो तुलना अरुसँग नगर्नुहोस् र अरुबाट आशा पनि नगर्नुहोस् । जसले तपाईंलाई मन पराउँछ, उसलाई मात्र आफ्नो साथी बनाउनुहोस् । आफ्नो वृद्घावस्थाको कारणले अरुबाट सेवा तथा सम्मान पाउने आश नगर्नुहोस् । कुरा सबैको सुन्नुहोस् तर निर्णय आफ्नो लिनुहोस् । प्रार्थना गर्नुहोस् तर कसैसँग भिख नमाग्नुहोस् । सके आफ्नो काम आफैँ गर्नुहोस्, अरुमा निर्भर हुने काम नगर्नुहोस् । सामथ्र्यअनुसार पौष्टिक भोजन गर्नुहोस् । बुढेसकालमा सानातिना समस्या भइरहन्छन्, तिनलाई ध्यान नदिनुहोस् ।

आफ्नो जीवन उत्साह तथा उमंगका साथ जिउने कोशिश गर्नुहोस् र अरुलाई पनि खुशी पार्ने काम गर्नुहोस् । जीवनमा कुनै पनि कुरा स्थायी हुँदैन, त्यसलाई ध्यान दिएर जिउनुहोस् । परिवार, समाज, छरछिमेक, नाता–कुटुम्बसँग राम्रो सम्बन्ध बनाइराख्नुपर्छ, जसको कारण एक्लोपन महसुस हुँदैन र समय सहजरुपमा व्यतीत हुन्छ । वृद्ध अवस्थालाई सहर्ष स्वीकार गर्दै सोको लागि तयार पहिलेदेखि नै हुनुपर्छ, जसले गर्दा सुखमय जीवन व्यतीत गर्न सकिन्छ ।

(लेखक प्रा.डा. दवाडी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत हुनुहुन्छ ।)