सहरबाट गाउँ फर्किने भेटिन थाले

7.43k
Shares

मनाङ ।

मनाङको मुख्य आयस्रोत भनेको पर्यटन नै हो । यस क्षेत्रका प्रत्येक घरमा होटल व्यवसाय, चियापसल र अन्य पसलहरु सञ्चालित छन् । यहाँ तीन सयभन्दा बढी पर्यटनसँग सम्बन्धित व्यवसाय छन् । भौगोलिक विकटताले कुनै समय गाउँ छाडेर काठमाडौं, पोखरा, लमजुङलगायतका सुगम स्थान झरिसकेका मनाङी २०५० सालपछि भने फर्किने क्रम सुरु भएको थियो । अहिले पनि अन्य जिल्लाहरुमा गाउँ छोड्ने लहर चलिरहेका बेला आफ्नै गाउँठाउँमा भविष्य देखेर सहरबाट फर्किने युवाहरु भेटिन्छन् ।

युवा उद्यमी शेराप विष्ट एक प्रतिनिधि पात्र हुनुहुन्छ, जसले पहिल्लो २०५७ सालमा आफ्नै माटोमा भविष्य देखेर सहरको सुविधा त्याग्नुभयो । आफ्नै बारीमा टनेल लगाएर तरकारी खेती गरी आत्मनिर्भर हुनुभएका विष्ट सदरमुकाम चामेमा ह्याप्पी होम घरबास सञ्चालन गर्नुभएको छ । विष्टले भन्नुभयो– ‘एकातिर आफैंले उत्पादन गरी पाहुनालाई अर्गानिक खानेकुरा खुवाउन पाइने अर्कातिर व्यवसायमा सञ्चालन गर्न पनि सहयोग पुग्ने भएकाले यो व्यवसाय सञ्चालन गरेको हुँ ।’

विष्टले आफ्नो घरबासमा विशेष गरी विदेशी पर्यटकले मन पराउने गरेको बताउनुभयो । विदेशी पर्यटकहरु आफ्नै आँखा अगाडि टिपेर प्रयोग गर्न पाउँदा खुसी हुने गरेको विष्टको भनाइ छ । उहाँले थप्नुभयो– ‘कतिपय पर्यटक त आफैं बारीमा गएर तरकारी टिप्ने गोडमेल गर्ने, मलजल गर्ने गर्दछन् ।’

गण्डकी प्रदेशका कृषिमन्त्री पदमा जिसी श्रेष्ठले यसरी खुलेरै विष्टको प्रसंशा गर्नुभयो– ‘काठमाडौंको कोलाहलले चैन नदिएपछि २०७५ मा गाउँ फर्किनुभएको थियो, चामेका सेराप विष्ट । आमाबुवासँगै माटो सम्झिएपछि पौरखका लागि तयार भएर फर्किनुभएपछि उहाँका सुनौला दिनहरु सुरु भए । आफ्नै पाखुरामा विश्वास गर्दै आफ्नै माटोमा पसिना सिञ्चित गर्नुभयो । उहाँको कुनै पनि जग्गा बाँझो छैन ।

उदाहरणीय रुपमा होम स्टे सञ्चालन गरिरहनु भएको छ । हँसिलो मुहारमा भेटिइनुहुने उहाँले होम स्टेको नाम पनि ‘ह्याप्पी होम स्टे’ राख्नुभएको छ । उहाँ जिल्लाकै उत्कृष्ट युवा कृषक पनि हुनुहुँदो रहेछ । उहाँको होम स्टेमा एकछिन बस्यौँ । घर छेउमै उमार्नुभएको मिन्टको मिन्ट टी पियौँ । उहाँको विगत, वर्तमान र भविष्यका कुरा सुन्यौँ । ३२ वर्षीय युवामा कृषिप्रतिको यो लगाव, समाजप्रतिको उस्तै उत्तरदायित्व अनि परिवारप्रति अथाह प्रेमपूर्ण ईमान्दारिता यहाँको समय यसैगरी प्रेरणादायी बनिरहोस् । थप सफलताको शुभकामना सेराप विष्टजी ।’

मनाङको विकासको मेरुदण्डका रूपमा रहेको पर्यटनलाई दीर्घकालीन बनाउन वैकल्पिक पदमार्गबारे बेलैमा सोच्नुपर्ने अवस्था आएको स्थानीय बताउँछन् । त्यसका लागि उनीहरूले गण्डकी प्रदेश र संघीय सरकारलाई पटकपटक गुहारेका छन् । प्रदेश सरकारको पनि दोस्रो पञ्चवर्षीय योजना (२०८१÷८२ देखि २०८५÷८६) मा हिमाली तथा पहाडी क्षेत्रमा वैकल्पिक पदमार्ग निर्माण र चालू पदमार्गको स्तरोन्नतिअन्तर्गत अन्नपूर्ण सर्किट ट्रेल तथा थोरोङला पदमार्ग निर्माण आयोजनालाई राखिएको छ ।

कच्ची बाटोमा गाडी गुडिरहेको अवस्थामा दैनिक यात्रा गर्ने पर्यटकले भोगिरहेको समस्याबारे अवगत नै रहेको गण्डकी प्रदेश सभा सदस्य मुनिन्द्रजंग गुरुङले बताउनुभयो । वैकल्पिक पदमार्ग र तल्लो मनाङका होटल व्यवसायलाई चलायमान बनाइराख्ने चुनौती रहेको बताउँदै उहाँले भन्नुभयो– ‘प्रदेशको आगामी कार्यक्रममा मनाङको विकास, सडकको विस्तार, वैकल्पिक पदमार्गको निचोडका विषय उठाइरहेका छौं । मनाङको प्रत्येक घरमा कुनै न कुनै व्यवसाय रहेकाले त्यसलाई दिगो र चलायमान बनाइराख्न पनि वैकल्पिक पदमार्ग आवश्यक भएको सांसद गुरुङको ठम्याइ छ ।

त्यसै गरी तिलिचो जाने मुख्य प्रवेशद्वारको मुखमा अहिले धेरै युवा व्यवसायीले होटल खोलेका छन् । कतिपयले स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई बिक्री गर्ने गर्दछन् । वर्षमा प्रायः ६ महिना भने आंशिक रुपमा मात्र यहाँको पर्यटन र यस क्षेत्रसँग सम्बन्धित व्यवसाय सञ्चालन हुन्छ । जसले गर्दा दिगो रुपमा चलाउन चुनौती थपिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेल स्थानीयको चासो र आवश्यकता सडक विकासमै भएकाले माथिल्लो मनाङसम्मै सडक पुगेको बताउनुहुन्छ । अहिले सडक पुगेकै कारण पदमार्ग मेटिँदा पर्यटक धुलाम्मे बाटो हिँड्न बाध्य भइरहेको छ । प्रमुख भुजेल पनि वैकल्पिक पदमार्गको आवश्यकता औंल्याउनुहुन्छ ।

बेँसीशहरभन्दा माथि तालगाउँतर्फको बाटो आंशिक वैकल्पिक भए पनि पूर्ण वैकल्पिक पदमार्ग विकासका लागि छलफल बाँकी नै रहेको छ । वैकल्पिक पदमार्ग पहिचान र निर्माणका लागि पनि विस्तृत छलफल हुनुपर्नेमा जोड दिँदै स्थानीय समुदायका माग र आवश्यकताअनुसार नै एक्याप अघि उहाँले बताउनुभयो ।

सडक सञ्जालमा जोडिएसँगै प्राकृतिक पदमार्गमा रमाउँदै हिँड्ने पर्यटकका लागि नयाँ चुनौती थपिएका छन् । खोला, हिमाल, वनजंगल, चराचरुङ्गीका आवाज, चिसो र स्वच्छ हावाको आनन्द महसुस गर्दै मनाङको अविस्मरणीय स्मृति बनाउन आइपुगेका पर्यटकलाई धुलाम्मे र व्यस्त सडकले हैरानी थपेको छ । यसले पर्यटकमा पदमार्गप्रतिको आकर्षण घटाउँदै लैजाने जोखिम पनि उत्तिकै छ ।