दाङ ।
कमैया मुक्तिको घोषणा भएको २५ वर्ष बितिसक्दा पनि घोराही–१६ स्थित कमैया शिविरमा बसोबास गर्दै आएका धेरैजसो मुक्त कमैया अझै लालपुर्जाविहीन छन्। बाबुराम चौधरीका अनुसार ५२ मुक्त कमैया परिवारमध्ये हालसम्म आठ परिवारले मात्रै जग्गाको लालपुर्जा पाएका छन्, त्यो पनि बस्न अयोग्य बगर क्षेत्रको हो।
स्थानीय अट्रामी र रूपलाल चौधरीले आफूहरूले विगत २० वर्षदेखि बसोबास गरिरहेको जग्गा नापजाँच गरी लालपुर्जा दिन माग गरेका छन्। यता, गणेशराम चौधरीले राज्यबाट अहिलेसम्म परिचयपत्रबाहेक अन्य कुनै सुविधा नपाएको गुनासो गर्नुभएको छ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीका अनुसार देशभर १० हजारभन्दा बढी मुक्त कमैया अझै परिचयपत्रविहीन छन्। हालसम्म पाँच जिल्लामा ३२ हजार ५०९ जनाले परिचयपत्र पाएका छन् भने २५ हजारभन्दा बढीलाई केही मात्रामा जग्गा उपलब्ध गराइएको छ।











प्रतिक्रिया