स्वरोजगार र आत्मनिर्भरताको बाटोमा हिँड्न थालेका छन्, इलाम नगरपालिका–८ का महिलाहरू । परम्परागत सीपको जगेर्ना गर्दै उनीहरूले अहिले कुचो बनाउने तालिममार्फत आयआर्जनको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । स्थानीय स्रोतको सदुपयोग गर्दै स्वरोजगार बन्ने लक्ष्यसहित इलाम नगरपालिका–८ सिङफ्रिङका महिलाहरू परम्परागत सीपमा आधारित कुचो बनाउने सीप सिक्न थालेका छन् ।
महिलाको आर्थिक सशक्तीकरण, सीप विकास र सामाजिक आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यका साथ स्थानीय सिमधारा कृषि तथा पशुपालन समूहले समूहका महिला सदस्यलाई यो अवसर उपलब्ध गराएको हो ।
महिलाहरूलाई आत्मनिर्भर बनाउन विभिन्न किसिमका सीपहरु सिकाउँदै उनीहरुको आर्थिक जीवनस्तर उकास्न समूह लागिपरेको समूहकी अध्यक्ष शारदा सुब्बमले बताउनुभयो । तालिममा कच्चा पदार्थ छनोट, कुचो बाँध्ने प्रविधि, डिजाइन मिलाउने सीपदेखि बजार व्यवस्थापनसमेत सिकाइँदै छ । सधैं श्रीमान्को भरमा बस्नुपर्छ भन्ने सोच अब परिवर्तन हुँदै छ । महिलाहरू आफैं उत्पादन गर्ने, बेच्ने र आम्दानी गर्नेसमेतका योजनामा सहभागी भएको उनीहरु नै बताउँछन् ।
उनीहरूको लक्ष्य अब सामूहिक उत्पादनमार्फत आयआर्जन गर्ने हो । यस्तै खाले लघु उद्यमले गाउँघरमा महिला सशक्तीकरण र आर्थिक रुपान्तरण सम्भव बनाउने संकेत देखाएको छ । तालिममा ३० जना महिला सहभागी छन् । सो समूहले अग्र्यानिक तरकारी खेती गरेर पनि आम्दानीको गतिलो माध्यम बनाएको समूहकी सचिव मनु खवासको भनाइ छ । कुचो बनाउने सीपले मात्रै होइन, आत्मविश्वास र आत्मनिर्भरताको भावनाले भरिएका महिलाहरू अब स्वरोजगारको उदाहरण बन्नेछन् । महिलाहरुको आर्थिक जीवनस्तर उठाउनका लागि समूह गठन गर्नेदेखि हरेक क्षेत्रमा सहयात्रा नेपालले समन्वय गरेको छ भने टेवा काठमाडौंले आर्थिक सहयोग गर्दै आएको छ । विशेष गरी आर्थिक रूपले कमजोर, घरायसी जिम्मेवारीले व्यस्त महिलाहरूलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता सीपमूलक तालिमले आत्मनिर्भर महिलाको पुस्ता तयार पार्ने आशा गरिएको छ ।











प्रतिक्रिया