विकास : काठमाडौँमा सडक कि कर्णालीमा स्कुल ?

3.1k
Shares

आजकल प्रायः काठमाडौँमा करोडौँको विकास बजेट हालिँदा सर्वसाधारण एकै प्रश्न गर्ने गर्छन्– कर्णाली, हुम्ला, जुम्लामा बच्चाका लागि स्कुलको व्यवस्था छैन, बिरामी औषधि नपाएर मरिरहेका छन् तर सरकार भने अर्बौंको लगानी काठमाडौँको बाटोमा हालिरहेको छ । आखिर के सरकारले गलत नै गरिरहेको छ त ? आधारभूत विकास नभएको ठाउँमा लगानी नगरी धेरैभन्दा धेरै लगानी काठमाडौँजस्तो नेपालको सबैभन्दा विकसित ठाउँमा हालिरहेको छ । के हुम्ला, कर्णालीका विद्यार्थीलाई शिक्षाबाट वञ्चित राखी काठमाडौँमा सडक विस्तार गर्नु साँच्चै जायज छ त ? के काठमाडौँका विद्यार्थीले झैँ कर्णालीका विद्यार्थीलाई पनि आधुनिक र क्वालिटी शिक्षाको आवश्यकता छैन र ? आखिर अति महत्त्वपूर्ण कुरा के ? काठमाडौँको बाटो कि कर्णालीका बालबालिकालाई शिक्षा ?

बालबालिका भोलिको नेपालका कर्णधार हुन्, देशले विकासको तीव्र गति लिनको लागि सम्पूर्ण बालबालिकाले गुणस्तरीय शिक्षा पाउनुपर्छ । सरकारले निःशुल्क खाना, खाजा दिएर विकट ठाउँका विद्यार्थीलाई शिक्षा दिलाउनुपर्छ । नेपालका कैयौँ ठाउँमा यसरी सरकारले शिक्षा दिइरहेको छ पनि । तर कर्णालीका कतिपय ठाउँमा घरपायक स्कुल, गुणस्तरीय शिक्षा, स्वास्थ्य, आधुनिक पढाइको निकै अभाव रहेको जानकारी हामीमाझ छँदै छ । वास्तविकतामा भन्नु नै पर्दा, काठमाडौँमा ठूला–ठूला विद्यालयले गुणस्तरीय शिक्षा नै दिएका छन् भनेर तोक्नुचाहिँ गलत हुन आउँछ । गुणस्तरीय शिक्षाको लागि ठूला–ठूला स्कुल भवन, महँगो ड्रेस, बोर्डिङ स्कुलका सुविधाजनक गाडीहरुको आवश्यकता नै हुन्छ भन्ने त हुँदैन नि ! होलान् काठमाडौँमा हुर्केका बालबालिकाहरु टेक्नोलोजीसँग एकदम परिचित, तर कर्णालीका बालबालिका संस्कार, संकृति, हाम्रो देशको मैलिकतासँग पनि परिचित छन् ।

कृषि, पशुपालन, जीवनका वास्तविक उतारचढावमा पोख्त छन् । जसरी माछा र चरालाई एउटै परीक्षामा सहभागी गराइँदैन, त्यसरी नै काठमाडौँका विद्यार्थी र कर्णालीका विद्यार्थीलाई तुलना गर्न मिल्दैन । केवल काठमाडौँको टेक्नोलोजीको पढाइ मात्र होइन, कर्णालीका विद्यार्थीको कृषि र पशुपालनको व्यावहारिक शिक्षा उत्कृष्ट छ ।

समस्या छ त त्यस्तो सक्षम सरकार र व्यक्तिहरुको खाँचो, जसले कर्णालीका विद्यार्थीको शिक्षालाई व्यावसायिक शिक्षामा परिवर्तन गर्न सक्छ, यस्तो शिक्षकको, जसको व्यावहारिक र शैक्षिक गुणस्तरलाई ठूला–ठूला स्कुलका भवनको आवश्यकताविना नै बालबालिकालाई सिकाउन सक्छन् ।

स–साना बालबालिका जसलाई आमा–बुबाको माया आवश्यकता छ, उनीहरुलाई गाउँ–गाउँमा रुखको मुनि नै किन नहोस्, काठमाडौँका विद्यार्थीको पाठ्यक्रम जति शिक्षा र ज्ञान दिलाउन सक्ने क्षमताको । जिल्ला–जिल्लामा त्यस्ता सरकारी विद्यालय हुन्, जहाँका विद्यार्थीले निःशुल्क स्कुलको होस्टेलमा स्वस्थ र पूर्ण पौष्टिक आहारका साथै गुणस्तरीय शिक्षा एवं स–सानो आयआर्जनको अवसर पाऊन्, जसले गर्दा सही उमेरमा नै उनीहरुले वित्तीय स्वतन्त्रता हासिल गर्न सकून् । त्यति मात्र कहाँ हो र ? चाहे काठमाडौँको महँगोभन्दा महँगो विद्यालय होस् वा विदेशी विद्यालय, प्रतिस्पर्धा गर्ने योग्यता र सामथ्र्यको शिक्षा पाउन सकून् ।

अर्कोतर्फ हेर्ने हो भने, राजधानी काठमाडौँजस्तो व्यस्त शहर, जहाँ ट्राफिक जामले सर्वसाधारण १० बजेको कामलाई ८ बजे घरबाट निस्कन्छन् । यहाँ पुल, आकाशे पुल वा बाटो बढाउने कार्य जरुरी छ । यसमा लगानी गर्नुपर्ने माग छ । त्यति मात्र कहाँ हो र ? यहाँ गरिएको करोडौंको लगानीले भोलिका दिनमा अर्बौंको कर नेपाल सरकारलाई नै भित्रने गर्दछ । त्यही करको आम्दानी हुम्ला, जुम्ला र कर्णालीमा शिक्षाको बजेट बनेर जानेछ । तीतो भए पनि यथार्थ यही हो कि काठमाडौँ शहरमा नेपालका धनाढ्य व्यक्ति अधिक बस्छन् र उनीहरुबाट नै नेपाल सरकारलाई करको नाममा धेरै आय हुने गर्दछ । सरकारले त्यस्ता धनाढ्य व्यक्ति, व्यापारी, विदेशी लगानीकर्ताको सुविधाका लागि बाटो, टेक्नोलोजीजस्तो क्षेत्रमा लगानीको वातावरण बनाउनुपर्ने हुन्छ ।

यदि यसो नगर्ने हो भने त्यस्ता लगानीकर्ताले देश छाडेर जाने, सृजना भइरहेको रोजगारीको अवसर र आयका स्रोत समाप्त हुने समस्याका साथै नेपालका शिक्षित र कर्मशील व्यक्तिहरु सुविधाजनक र लक्जेरियस जीवनको चाहनामा विदेशिने समस्या देखिन जान्छ । त्यसैले त अर्थशास्त्रले भावनात्मक होइन, बौद्धिक निर्णयको समर्थन गर्दछ र नेपाल सरकारले पनि कर्णालीमा बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा समस्या हुँदाहुँदै पनि काठमाडौँमा पुल र सडक स्तरोन्नति गर्ने अनि कर्णालीमा शिक्षकको मात्र भए पनि व्यवस्था मिलाउने प्रयत्न गरेको हुन्छ ।

शिक्षामा सरकारको लगानी जरुरी छ तर फरक ढंगबाट । गुणस्तरीय शिक्षाको लागि प्रत्येक गाउँको कुनामा ठूलो भवन होइन, योग्य शिक्षकको जरुरी छ । केवल कर्णालीका बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँचमा मात्र लगानी होइन, काठमाडौँका गल्लीहरूमा पनि विकास हुनु जरुरी छ । देशको सच्चा विकास तब हुन्छ, जब शहरका इँटा र गाउँका सपना एउटै नक्सामा अंकित हुन्छन् ।