हामीले कुनै मानिसलाई देख्दा या ऐनामा आफ्नो अनुहार हेर्दा एउटा कुराको हेक्का राख्नुहोला । हाम्रो आँखाले देख्न नसक्ने एउटा चिज पनि छ– त्यो हो यो श्वास । मानौँ एउटा हवाईजहाजमा तीनजना मानिस बसेका छन् । यदि बीचको मानिसले श्वास लिनै छोड्यो भने त्यहाँ दुईछेउमा बसेका मानिसहरू त्यहाँबाट उठ्ने कोशिश गर्नेछन् । यस्तै हुन्छ । एकजना धनाढ्य मानिस छ । उसको कपाल छ, आँखा छन् । नाक छ । सबै कुरा छ तर यदि उसको श्वासै चलिरहेको छैन भने उसलाई खाटमा होइन, भुइँमा सुताइदिन्छन् । त्यसपछि उसको अन्त्येष्टि गरिन्छ, किनभने त्यो शरीर अब काम नलाग्ने भइसक्यो । काम गरिरहेको शरीरको समय अब समाप्त भयो ।
यो श्वास सानोतिनो चिज होइन तर यसलाई हामी देख्न सक्दैनौँ । यो आउँछ, जान्छ तर हामी यसको महत्त्व नै बुझ्दैनौँ । यो छँदै छैन जस्तो ठान्छौँ ! तथापि, यसको असर एकदमै धेरै छ । यो श्वासले हरेकको जीवनमा एउटा उपहार लिएर आउँछ । यो त सृष्टिकर्ताले दिएको एउटा उपहार हो । उनको आशीर्वादस्वरूप यो हरेक मानिसलाई प्राप्त भएको छ ।
यो प्रकृतिमा तीनवटा कानुन छन् । तपाईँ जन्मनुभयो, तपाईँ जीवित हुनुहुन्छ अनि एकदिन तपाईँले जानुपर्नेछ । एकदमै खराब भए पनि अथवा एकदमै असल भए पनि सबैमा यी तीनवटा कानुन लागू हुन्छन् । तपाईँ यस संसारमा आउँदा श्वास लिइरहनुभएको थिएन । तपाईँले पहिलो श्वास लिनुभयो । त्यसपछि तपाईँ यहाँबाट बिदा नहुन्जेलम्म लिइरहनुहुनेछ । यो क्रम रोकिनासाथ तपाईँ पनि जानुहुनेछ । यो त कस्तो चिज हो भने, यदि तपाईँले यसलाई रोक्ने कोशिश गर्नुभयो भने पनि यो रोकिनेवाला छैन । यदि रोकेर बस्नुभयो भने तपाईँ बेहोस हुनुहुनेछ अनि फेरि यो श्वास स्वतः चल्न थाल्नेछ । यदि तपाईँले छिटोछिटो यो श्वास लिने कोशिश गर्नुभयो भने यो शरीरमा चाहिनेभन्दा धेरै अक्सिजन पुग्छ । यसबाट पनि फेरि तपाईँ बेहोस हुन सक्नुहुन्छ । त्यसपछि पनि यो श्वास सामान्यरूपले चल्न थाल्नेछ ।
सत्य के हो ! सत्य सोच्ने चिज होइन, अनुभव गर्ने चिज हो । यदि कसैले मलाई ‘तपाईँ के खान चाहनुहुन्छ’ भनेर सोध्यो भने मैले पहिल्यै खाइसकेको र मलाई एकदमै मन परेको खानेकुराका बारेमा सोच्छु । पहिला कहिल्यै नखाएको, नामै थाहा नभएको खाद्यवस्तुका बारेमा त सोचिँदैन । कहिल्यै चाखेकै छैन, त्यसको स्वादै थाहा छैन भने त्यसका बारेमा त सोच्नै सकिँदैन नि । सत्य पनि यस्तै कुरा हो । हामी त सत्यलाई परिभाषित गर्ने कुरामै भुल्छौँ । किनभने, हामी हरेक चिजमा परिभाषा खोज्छौँ अनि हामीलाई यसरी नै बुझ्ने कुरामा बानी परेको छ ।
कुनै गुप्तचरले म्याग्निफाइङ (कुनै चिजलाई ठूलो बनाउने) सिसाका माध्यमबाट ‘कुन वस्तु के हो’ भनेर हेरेजसरी हामी पनि त्यस वस्तुलाई चिन्ने प्रयत्न गर्छौँ । तर, सत्य त्यसरी म्याग्निफाइङ सिसाका माध्यमबाट देख्न सकिने चिज होइन । त्यसको अनुभव गर्नुपर्छ । तिर्खालुले पानी पिएपछि प्राप्त गरेको सन्तुष्टिको अनुभव गरेजसरी नै यो अनुभव तपाईँ कसैलाई दिन सक्नुहुन्न । यदि यस्तो हुँदो हो त मानिसले पानी पिइरहनुपर्ने आवश्यकता नै हुने थिएन । पानी पिएपछि मात्रै तिर्खा मेटिएको अनुभव हुन्छ । सत्य पनि त्यस्तै कुरा हो ।
आजकल मानिसहरूमा ‘मेरो जीवनमा किन यति धेरै समस्या छन्, म यति धेरै व्यस्त किन भएको होला’ भन्ने कुरा जान्ने चाहना हुन्छ । हामी सबै व्यस्त नै छौँ । सबै व्यस्त हुन्छौँ । यो रोग त हामीमा निकै पहिलादेखि नै लागेको हो । यति हुँदाहुँदै पनि कोही आनन्द लिने कुरामा व्यस्त छ भने कोही रुने–कराउने कुरामा व्यस्त हुन्छ ।
तपाईँ आफ्नो जीवनमा के चाहनुहुन्छ ? हुन त तपाईँ आफ्ना मातापितालाई खुशी पार्न चाहनुहुन्छ या कोही अरू व्यक्तिलाई खुशी पार्न चाहनुहुन्छ । यद्यपि, तपाईँले म स्वयंलाई खुशी पार्न चाहन्छु भन्नुभयो भने यो कुराचाहिँ सम्भव हुन्छ । तर, यसका लागि के गर्नुपर्छ ? तपाईँले आफ्नो आँखा खोल्नु आवश्यक छ । बन्द गर्ने होइन, खोल्नुपर्छ । तपाईँभित्र भएको चिजका लागि तपाईँलाई कुनै निर्देशन पुस्तिका (इन्स्ट्रक्सन म्यान्युल) को आवश्यक हुँदैन । तपाईँ बुझ्न सक्नुहुन्छ, तपाईँ चिन्न सक्नुहुन्छ अनि पहिचान गर्न सक्नुहुन्छ । आफ्नो जीवनलाई सफल बनाउन सक्नुहुन्छ । सम्पूर्ण मानिसमा यो क्षमता हुन्छ । तपाईँले याद गर्नुपर्ने कुरा भनेकै तपाईँका लागि त्यो कानुन फेरिएको छैन । तपाईँमा अहिले पनि प्रकृतिका तीन कानुन लागू नै छन् । यदि तपाईँले ती कानुनहरूलाई बिर्सनुभयो भने पनि कृपया के नभुल्नुहोला भने, श्वास नै मानिसको जीवनको आधार हो ।
मानिसको वास्तविक क्षमता नै आफूले आफैलाई चिन्ने, आफ्नो हृदयलाई शान्तिले भरिपूर्ण तुल्याउने हो । यदि तपाईँ आफ्नो जीवनमा कुनै पनि कारणले असफल हुनुभएको छ भने, त्यो असफलतालाई कहिल्यै पनि स्वीकार नगर्नुहोस् । तपाईँ बाल्यकालमा तातेताते गर्नका लागि कोशिश गरिरहँदा कैयौँपटक हिँड्ने प्रयास गर्दै उठ्नुहुन्थ्यो अनि लडिहाल्नुहुन्थ्यो । तर, तपाईँले हिँड्न नसिकुन्जेलसम्म त्यो असफलतालाई पटक्कै स्वीकार गर्नुभएन । फलतः तपाईँले हिँड्न सिक्नुभयो । आपूmमाथि विश्वास राखेर आफ्नै क्षमताको सहाराले अघि बढ्ने मानिसलाई अवश्य पनि सफलता प्राप्त हुन्छ ।
हामीभित्र श्वास आइरहेको कारणले नै यो सामथ्र्य पनि छ । अर्थात्, हामी जीवित छौँ । यो कुरालाई सामान्य नठान्नुहोस् । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, वास्तवमा जीवित हुनाले नै मानिसमा क्षमता छ । तपाईँलाई यो वास्तविकता बोध भएपछि तपाईँ कति शक्तिशाली हुनुहुन्छ र तपाईँको साँचो क्षमता के हो भन्ने कुरा थाहा हुनेछ । तपाईँलाई सृष्टिकर्ताले उपहारका रूपमा त्यो क्षमता दिएका छन् ।
एकपटक एकजना राजाले आफ्ना मालीलाई बोलाएर भनेछन्, ‘पहाडमाथिको मेरो महलमा एउटा एकदमै सुन्दर बगैँचाको निर्माण गरिदेऊ ।’
राजाको आदेशलाई मानेर माली बगैँचाको निर्माणतफ जुटे । पहाडको फेदमा एउटा नदी थियो । ती माली दुईवटा ठूला–ठूला गाग्रालाई काँधमा अघि–पछि पारेर बोक्दै हरेक दिन तल नदीमा पानी भर्न जान्थे । अनि, बल्लतल्ल महलसम्म पुगेर आपूmले तयार पारेको बगैँचामा पानी लगाउने गर्थे । निकै समय यही क्रमअनुसार बित्दै गयो । एकदिन दुईवटा गाग्रामध्ये पछाडितिरको गाग्रो कुनै चीजसँग ठोक्किएर त्यसमा प्वाल पर्न पुग्यो । सधैँ ती माली पहाडबाट तल झर्थे । दुवै गाग्रामा पानी भर्दथे । उनी महलसम्म आइपुग्दा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्थ्यो तर पछाडिको गाग्रो भने चुहिएर रित्तो भइसक्थ्यो ।
एकदिन अगाडिको गाग्रोले पछाडिको गाग्रोलाई भन्यो, ‘तिमी त अब कुनै कामका लागि लायक नै छैनौ । तिमी त प्वाल परिसक्यौ । मेरो कारणले राजाको बगैँचा यति धेरै हराभरा भएको छ, किनभने मैले मात्रै पानीलाई यहाँसम्म ल्याइपु¥याउँछु । तिमी त यहाँसम्म आइपुग्दा एक थोपा पनि पानी बाँकी रहँदैन । अब तिमी बेकम्मा भइसक्यौ ।’
पछाडिको गाग्रोले आपूm कुनै कामको लायक नरहेको भन्ने लाञ्छना सुनेपछि उसलाई अत्यन्तै दुःख लाग्यो । अर्काे दिन माली आए । दुवै गाग्रातिर नजर लगाए । उनलाई पछाडितिरको गाग्रो निकै उदास भएको महसुस भयो । त्यसपछि मालीले सोधे– ‘तिमीलाई के भयो, किन उदास छौ ?’
अनि त्यो गाग्रोले भन्यो, ‘अगाडिको गाग्रोले त म अब कुनै कामको लायक नै छैन रे
भन्छ ! तपाईँ बिहान–बिहानै पानी भर्नुभएर बगैँचामा आइपुग्नुहुँदा अगाडिको गाग्रोमा त पानी भरी नै हुन्छ तर ममा त प्वाल परेको छ । एक थोपा पनि पानी बाँकी रहँदैन । अगाडिको गाग्रोको भनाइ के छ भने उनकै कारणले नै यो बगैँचा हराभरा भएको छ । मेरो कारणले त केही हुन सक्दैन ।’
मालीले हाँस्दै भने, ‘तिमी यो रहस्य बुझ्दैनौ । तिमीमा प्वाल भएको थाहा हुँदाहँदै पनि मैले तिमीलाई फ्याँकिन । मैले तिमीलाई सधैँ तल लगेर तिमीमा पनि पानी भर्छु र माथिसम्म ल्याउँछु । अँ, यो कुरा त ठिक्कै हो जति पनि बगैँचा हराभरा भएको छ, बगैँचाको हरियाली छ, त्यो त अगाडिको गाग्रोको कारणले नै भएको छ । तर, के तिमीले देखेका छैनौ ? त्यो नदीबाट माथि बगैँचासम्मका जाने बाटोको किनारमा जति पनि थरीथरीका फूलहरू फुलिरहेका छन्, ती तिम्रै कारणले त फुलेका हुन् । तिनीहरू सबैले तिम्रो कारणले नै पानी पाउँछन् । अर्कोको कारणले त केवल एउटा मात्रै बगैँचा हराभरा भएको छ तर तिम्रो कारणले त बाटाभरि– त्यो नदीदेखि लिएर बगैँचासम्मको क्षेत्र आज हराभरा छ । किनभने, तिनीहरूले तिम्रै कारणले पानी पाएका छन् ।”
यो कुरा सुनेपछि त्यो गाग्रो असाध्यै खुशी भयो । ऊ अझै पनि काम लाग्ने चिज भएको कुरा उसलाई थाहा भयो ! हो, उसले राजाको बगैँचामा त सिँचाइ गर्न सकेन तर उसले त्यस बाटोमा यस्तो सुन्दर बगैँचा बनायो– जुन बाटोबाट सारा मानिस ओहोरदोहोर गर्ने गर्छन् । ती सबैले लको सुगन्ध लिन पाउँछन् ।
यसर्थ, चाहे जस्तोसुकै परिस्थिति होओस्, कहिल्यै पनि आफूलाई कमजोर ठान्न आवश्यक छैन । जीवनमा हरेकको आफ्नै महत्त्व हुन्छ । यो कुरालाई बुझ्नु आवश्यक छ । सबैभन्दा महत्वपूर्ण कुरा त हामी जीवित रहुन्जेलसम्म जीवित भएका कारणले नै हामीमा अनन्त सम्भावनाहरू हुन्छन् । जीवनमा चाहे जतिसुकै कठिनाइहरू आऊन् तर आफ्नो दक्षतालाई चिनेर अघि बढ्ने मानिसलाई जीवनको हरेक क्षेत्रमा अवश्य पनि सफलता हात लाग्दछ । यस्ता मानिसहरू कठिन समयमा पनि निराश हुँदैनन् ।
हामीले हाम्रो क्षमतालाई बिर्सेका छौँ । हामी को हौँ भन्ने कुरालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको करुणालाई हामी बिर्सन्छौँ । हामीभित्र भएको लगनशीलतालाई हामी बिर्सन्छौँ । हामी आफूभित्र भएको दयालाई बिर्सन्छौँ । हामी आफूभित्र भएको आनन्दलाई बिर्सन्छौँ । हामी एउटा मानव के हो भन्ने कुरालाई नै बिर्सन्छौँ । मानिसको बारेमा कुरा नगरी तपाईँ शान्तिको बारेमा कुरा गर्न सक्नुहुन्न । किनकि, शान्ति त मानिसको हृदयमा नाचिरहेको हुन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि धधध।उचझचबधबत।अयm०











प्रतिक्रिया