आफैंले नियुक्त गरेका उपाध्यक्ष राजभण्डारी बर्खास्त

24.91k
Shares

–करिब दुई वर्षअघि नियुक्ति, उपाध्यक्षको आक्रोश
–काममा ढिलासुस्ती गरेको मेयरको आरोप
–ताला लगाएर बाहिर निकाल्ने तयारी थियो, प्रहरी संयम भए

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सहरी योजना आयोगको उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारीलाई बर्खास्त गर्नुभएको छ । मेयर साहले करिब २ वर्षअघि आफैं नियुक्ति गर्नुभएका उपाध्यक्ष डा. राजभण्डारीलाई हटाइएको कारणबारे खुलाइएको छैन । उच्चस्रोतका अनुसार मेयर साहले बिहीबार बिहान करिब साढे १२ बजे महानगरप्रहरी प्रमुख राजु पाण्डेमार्फत् कार्यकक्ष छाड्न निर्देशन दिनुभएको थियो । मेयर साहको निर्देशनलगत्तै प्रहरी प्रमुख पाण्डेले प्रहरी उपरीक्षक विष्णुराज जोशीलगायत नगर प्रहरीलाई कार्यकक्ष खाली गर्न निर्देशन दिनुभएको थियो ।

स्रोतका अनुसार प्रहरी उपरीक्षक जोशीले आयोग उपाध्यक्षको कार्यकक्षमा पुगेर राजभण्डारीलाई कार्यालय छाड्न आग्रह गर्नुभएको थियो । त्यसपछि नगर प्रहरी निरीक्षकत्रय लिलाराज गाछा, किशोर भट्टराई र रामेश्वर उपाध्याय आयोग उपाध्यक्ष राजभण्डारीको कार्यकक्षमा पुगेर कार्यालय छाड्न आग्रह गर्नुभएको थियो । ‘तपार्इं बाहिर निस्कनु हामीलाई ताला लगाउने आदेश छ’–ताला लगाउन पुगेका प्रहरीले त्यसो भनेपछि उपाध्यक्ष राजभण्डारीले एकै छिनमा निस्कन्छु भन्ने जवाफ दिनुभएको थियो ।

उहाँ एकजना साथीसग कुराकानी गरिरहेको कारण करिब १५ मिनेटपछि मात्र कार्यकक्षबाट निस्कनुभएको आयोगमा कार्यरत कर्मचारीले नेपाल समाचारपत्रसँग भने । उहाँलाई अपमानजनक रूपमा कोठाबाट निकालेर ताला लगाउने तयारी रहेको तर साथीसँग कुरा गरिरहेकोले मान राखिएको –ती कर्मचारीको भनाइ थियो ।

कार्यकक्षबाट बाहिरिएपछि उपाध्यक्ष राजभण्डारीले केहीबेर प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँग भेट गरेर बिदा हुनुभएको थियो । उच्चस्रोतका अनुसार आयोग उपाध्यक्ष कार्यकक्षबाट ननिस्किए नगर प्रहरी लगाएर बाहिर पठाउने र कार्यकक्षमा ताला लगाउन योजना प्रहरीको थियो । मेयर साहको आदेश पनि त्यही थियो, सोहीअनुसार चार वरिष्ठ नगरप्रहरी आयोग उपाध्यक्षको कार्यकक्षमा पुगेका थिए ।

कार्यकक्षबाट बाहिरिँदै गर्दा उपाध्यक्ष राजभण्डारीले पत्रकार सम्मेलन गरेर सबै कुरा भन्ने बताउनुभएको त्यहीँका कर्मचारीले बताए । उहाँले मेयर साहसँग कुरा गने मौका नै नपाई बिदा दिएको हुनसक्ने अनुमान गरिएको छ । स्रोतका अनुसार पछिल्लो समय उपाध्यक्ष राजभण्डारीले काममा ढिलासुस्ती गरेर काम गर्न नसकेको, काठमाडौं टावरको प्रतिवेदन बुझाउन नसकेको, सिप मेलामा सन्तोषजनक काम गर्न नसकेको र बाघ दरबारको रेक्ट्रोफिटको टेन्डर ढिलो निकालेको लगायतकोे आरोप लगाइएको छ ।

उहाँलाई लगाएको आरोप सही हो वा होइन भन्ने विषयमा जानकारी लिन नेपाल समाचारपत्रले राजभण्डारीको मोबाइलमा पटकपटक सम्पर्क गरेको थियो तर कुनै जवाफ आएन । पछिल्लो पटक सम्पर्क गर्दा मोबाइन स्विच अफ गरिएको थियो । करोडौं बजेट चलाउन पाउने आयोगको पछिल्लो गतिविधिविरुद्ध मेयर साह आक्रोशित हुनुहुन्थ्यो । तर, के कारणले आफैंले नियुक्ति गरेका उपाध्यक्षलाई बर्खास्त गरियो भन्ने विषयमा कामपमा सबै अनभिज्ञ छन् । कामपाका एक उच्च कर्मचारीले भने– ‘सबै विषय मेयर साबलाई जानकारी होला, हामीलाई केही थाहा छैन ।’

विशिष्ट श्रेणीको तलबभत्ता खानेगरी नियुक्त भएका उपाध्यक्ष राजभण्डारीले तलब, इन्धन, सवारीसाधन, बैठकभत्ता गरी करिब १ लाख ५० हजार रुपियाँ बुझ्ने गर्नुभएको थियो । मेयर साहअन्तर्गतको आयोगमा मेयरले इच्छाएको विज्ञलाई नियुक्त गर्न पाउने व्यवस्था छ । सोहीअनुसार हाल उपाध्यक्ष राजभण्डारी, सदस्यमा डा. सुरजराज काफ्ले, बाबुराम भट्टराई, शैलेन्द्र झा सदस्य हुनुहुन्छ । सहायक विज्ञमा आधादर्जन बढी विज्ञ कार्यरत छन् ।

यसैबीच कामपामा प्रशासन विज्ञको रूपमा सल्लाह दिइरहनुभएका पूर्वसचिव शंकर प्रसाद पाण्डेले आफ्नो नियुक्तिको समयावधि सकिएको भन्दै बुधबारबाट महानगर जान छाडेको बताउनुभएको छ । टेन्डर प्रक्रिया, कर्मचारी प्रशासन सुधार, बोलपत्र कागजात अध्ययन सहजीकरण समितिलगायतका विषयमा सुझाव दिइरहनुभएका पाण्डेले महानगरपालिकाको कुनै पनि पदमा नबस्ने घोषणा गर्नुभएको छ । स्रोतका अनुसार सल्लाहकारको रूपमा कार्यरत उहालाई प्रमुख प्रशासकीय अधिकृतसँगै कार्यकक्ष तयार गरी बस्ने व्यवस्था गरिएको छ ।