महाकाली नदीको बीचमा अड्किएका पुरुषको सकुशल उद्धार


दार्चुला ।

दार्चुलाको महाकाली नगरपालिका–४, खलंगास्थित महाकाली नदीको बीच भागमा अड्किएका एक पुरुषलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

बिहीबार, नदीको बिचमा रहेको ढुंगामाथि अड्किएर बसेका बाँके जिल्ला, समशेरगञ्ज अमेलिया निवासी ३५ वर्षीय बिक्रम के.सी.लाई उद्धार गरिएको हो।
उनको मानसिक अवस्था सामान्य नभएको प्रारम्भिक रूपमा बुझिएको छ।

उक्त घटनाको जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ४४ गण, दार्चुलाबाट सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवाराज जोशीको कमान्डमा खटिएको विपद् व्यवस्थापन तालिमप्राप्त टोलीले उद्धार गरेको हो।

प्रहरीका अनुसार नदीको बिच भागमा जोखिमपूर्ण अवस्थामा रहेका के.सी. लाई आवश्यक सुरक्षा मापदण्ड अपनाउँदै सुरक्षितरूपमा बाहिर निकालिएको थियो।

सशस्त्र प्रहरीको सक्रियता र तत्कालीन प्रतिक्रिया प्रशंसायोग्य रहेको भन्दै स्थानीयले आभार व्यक्त गरेका छन्।