एनपीआईको दश महिने पत्रकारिता तालिम सुरु

4.32k
Shares

काठमाडौं ।

दक्ष पत्रकार उत्पादन गर्ने उद्देश्यले नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई) ले सञ्चालन गर्ने दश महिने पत्रकारिता तालिम आजदेखि सुरु भएको छ। ४१औं समूहका लागि तालिम सुरु भएको एनपीआईका तालिम संयोजक कपिल काफ्लेले जानकारी दिए।

तालिमको उद्घाटन कार्यक्रममा इन्स्टिच्युटका अध्यक्ष तिर्थ कोइरालाले एनपीआई देशकै अगुवा पत्रकारिता तालिम केन्द्र भएको उल्लेख गर्दै, तालिम सहभागीहरूलाई यसबाट ठूलो लाभ हुने विश्वास व्यक्त गरे।
उनले भने, “देशका पुराना र अनुभवी पत्रकारहरूले स्थापना गरेको एक मात्र संस्था एनपीआई हो, जहाँबाट तयार भएका धेरै पत्रकार आज प्रतिष्ठित सञ्चारमाध्यमहरूमा कार्यरत छन्।”

भर्चुअल माध्यमबाट प्रारम्भ गरिएको तालिममा देशभरबाट दुई दर्जनभन्दा बढी प्रशिक्षार्थीको सहभागिता रहेको छ। संयोजक काफ्लेले तालिम पत्रकारिताको आधार, समाचार लेखन, डिजिटल मिडिया, रेडियो/टेलिभिजन पत्रकारिता, फिचर लेखन, खोज पत्रकारिता र सम्पादन जस्ता विषयमा केन्द्रित हुने जानकारी दिए।
उनका अनुसार, पत्रकारिताको व्यावहारिक पक्षलाई प्राथमिकता दिइने भए पनि सैद्धान्तिक ज्ञान पनि समेटिनेछ।

तालिम हरेक बिहान ७ देखि ९ बजेसम्म सञ्चालन हुनेछ।

वि.सं. २०४१ सालमा स्थापना भएको नेपाल प्रेस इन्स्टिच्युट नेपालकै पुरानो र अग्रणी पत्रकारिता तालिम केन्द्र हो। इन्स्टिच्युटले दश महिने तालिमबाहेक अन्य छोटो अवधिका विभिन्न पत्रकारिता सम्बन्धी तालिमहरू पनि सञ्चालन गर्दै आएको छ।