आफूसँग भएको रकम थोरै भए पनि ब्याज आउने प्रलोभनमा मानिसहरुले सहकारीमा पैसा राखे । कतिपयले जागिर पनि सोही सहकारीमै गरे । आफ्नो तलब पनि सहकारीकै खातामा जम्मा गर्थे । आफन्त, साथीभाइलाई पनि ब्याजको प्रलोभन देखाएर लाखदेखि करोडौं रकम जम्मा गर्न लगाए ।
नयाँ बचतकर्ता नपाइएमा तलब र जागिर नै नपाउने भएपछि मानिसहरुले शुरुमा आफूसँग भएको लाखौं रकम सहकारीमा जम्मा गरेर जागिर खाए तर जागिर खाएपछि आफन्त, साथीभाइलाई पनि पैसा राख्न लगाए । सहकारीहरुबीच ब्याजको लागि होडबाजी नै चल्थ्यो । कसले कति वा बढी ब्याज दिने ? भनेर सहकारीबीच प्रतिस्पर्धा हुन्थ्यो । अनि बचतकर्ताहरु पनि एक प्रतिशत मात्र बढी ब्याज दिने सहकारीमै पैसा राख्थे ।
अहिले सहकारी कुन अवस्थामा छ ? छर्लङ्ग छ । सञ्चालक, अध्यक्षहरुको भागाभाग चलेको छ । बचतकर्ताहरुको रुवाबासी भइरहेको छ भने कर्मचारीहरु धर्मसंकटमा परेका छन् । सबैभन्दा बढी तनावमै अहिले कर्मचारी देखिन्छन् । किनकि उनीहरुले आफूसँग भएको रकम र तलब त सहकारीमा राखेकै थिए, सँगै साथीभाइ, आफन्तको समेत लाखदेखि करोडौं रकम आफ्नो सहकारीमा जम्मा गरेका थिए । अनि सहकारीको हाकिम नै भागेपछि कर्मचारीहरु यता न उताका भएका छन् । आफन्त, साथीभाइ लगातार पैसा मागिरहेका छन् ।
आफ्नो समेत पैसा डुबेको छ । यसले तनाव नै तनावमा छन् सहकारीका कर्मचारीहरु । कतिपयले सहन नसकेर आत्महत्या गरेका छन् भने कतिपय सम्पर्कविहीन भएर बसेका छन् । हुन त सहकारी सञ्चालक, अध्यक्षहरुले पनि धेरै पढलेख गरेका होइनन्, मान्छे फकाउन सक्ने वा धेरै पैसा भएका अर्थात् आफन्त, साथीभाइ र बजारबाट धेरै पैसा ल्याउन सक्ने व्यक्तिलाई जागिर दिए । पढेकाहरुले सहकारीमा अवसर पाएनन् ।
उनीहरु विदेश पलायन भए । नपढेकाहरुले सहकारीमा ठाउँ पाए । उनीहरुले आफन्त, साथीभाइ वा आम सर्वसाधारणलाई विभिन्न लोभ देखाएर लाखदेखि करोडौं रकम जम्मा गर्न लगाए । यसबापत उनीहरुलाई सहकारीले कमिसनसमेत दिन्थे । साथै, तलब पनि बढी र सवारीसाधनसमेत संस्थाबाटै दिइन्थ्यो ।
तलब, कमिसन र गाडी पाउने भएपछि कर्मचारीहरुले आफ्ना परिवारदेखि चिनजान भएका सबैलाई लोभ्याएर रकम जम्मा गर्न लगाए । आफन्त, साथीभाइले पनि विश्वासमा परेर ब्याजको लोभमा घरखेत बेचेको, विदेशमा कमाएको वा व्यापार व्यवसाय, जागिरबाट आएको रकम सहकारीमा राखे । उनीहरुलाई सहकारीले अनेकौं गतिविधि गरेर लोभ्याउँथे ।
करोडौं खर्चिएर सहकारीको साधारणसभा गरिन्थ्यो । साधारणसभामा बचतकर्ता र शेयरधनीलाई एक हजारदेखि पाँच हजार रुपियाँसम्म दिइन्थ्यो । बचतकर्ताहरुको बर्थडेमा घरमै पुगेर सहकारीका प्रतिनिधिहरुले केक काटिदिन्थे । बूढाबूढीलाई लौरो उपहार र तीर्थ यात्रामा समेत लग्थे भने वर्षमा एकदिन सबै बचतकर्तालाई पिकनिकमा लगिन्थ्यो ।
सहकारीले यत्रो गरेको देखेपछि बचतकर्ताहरु पनि मख्ख । पैसा राख्दैमा यति सुविधा पाएको भन्दै उनीहरु सहकारीको गुनगान गाउँथे । आफ्ना आफन्त, चिनजान भएकालाई सुनाउँथे । र, उनीहरुलाई पनि बचत गर्न लगाउँथे । ‘मेलै त यो सहकारीमा पैसा राखेको छु, यति धेरै ब्याज दिन्छ, यस्तो सुविधा छ’ भन्दै बजारमा प्रचारप्रसार गर्थे ।
यता, सहकारीका कर्मचारीको पनि पारा नै भिन्न । सरकारी कर्मचारीभन्दा चिटिक्क परेर हिँड्थे उनीहरु । कोट, पेन्ट लगाएर मानौं, कुनै बिहे, व्रतबन्ध वा पाटीमा जान लागिएको हो । कोही कर्मचारी गाडीमा हिँड्थे त कोही स्कुटरमा । कतिपयचाहिँ पैदल हिँड्थे र पैसा उठाउँथे । एउटै बजार प्रतिनिधिले दिनमै तीन लाखदेखि पचासौं लाखसम्म रकम उठाएर अफिस लग्थे ।
एउटा सहकारी संस्थाको बजार प्रतिनिधि घटीमा दशदेखि सयौं जनासम्म हुन्थे । अफिसभित्रका कर्मचारी अलग्गै । काउन्टर र हिसाबकिताब मिलाउन मात्रै २०–२५ जना कर्मचारी राखिन्थ्यो भने ढोकामा दुईजना गार्ड । प्रत्येक सहकारीको कोठा–कोठामा एसी हुन्थ्यो । सहकारी सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरु दिउँसो १२ बजेदेखि ३ बजेसम्ममा कार्यालय आउँथे ।
उनीहरु कार्यालय पस्नेबित्तिकै सुरक्षा गार्डले उफ्री–उफ्री सलाम ठोक्थे । मानौं, कोही राष्ट्रपति, प्रधानमन्त्री आएको हो । सञ्चालक, अध्यक्ष, कर्जा अधिकृत जतिखेर आए पनि तलबचाहिँ ५० हजारदेखि डेढ लाखसम्म बुझ्थे । करोडौं पर्ने गाडी संस्थाबाटै दिइन्थ्यो । खाजा, पत्रपत्रिका, टेलिफोनलगायत विभिन्न सुविधा उनीहरुलाई हुन्थ्यो ।
तलबबाहेक महिनामै लाखौंको सेवासुविधा बुझ्थे । तैपनि कर्जा दिने बेला घुस अनिवार्य । एक करोड मूल्य बराबरको धितो राखेर ६०–७० लाख कर्जा दिन्थे । त्यसबापत दश लाख रुपैययाँ अध्यक्ष, सञ्चालक, कर्जा अधिकृतहरु मिलेर घुस खाथे । त्यस्तै, सेवाशुल्क तीन प्रतिशत, ब्याज १६ प्रतिशत भनिन्थ्यो । ऋणीले तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलामी प्रक्रिया अघि बढाइहाल्थे ।
सहकारी सञ्चालक, अध्यक्षहरु सरकारी कर्मचारीभन्दा बढी भ्रष्टाचारी थिए । अफिसको हरेक काममा उनीहरु भ्रष्टाचार गर्थे । संस्थाको साधारणसभादेखि भवन निर्माण, जग्गा तथा आवश्यक सामग्री खरिदमा समेत ठूला पदाधिकारीहरुले कमिसन खान्थे । यति मात्र कि मरेको मान्छेको श्रद्धाञ्जलि पत्रपत्रिकामा निकाल्दासमेत भ्रष्टाचार ।
अर्को कुराचाहिँ सहकारीको नाममा घरजग्गा किनेर राखेको भन्दै सञ्चालक, अध्यक्षहरु आफ्नो नाममा राख्थे । कसैले यसबारे चुइँक्कसमेत थाहा नपाउने । अनि शेयरधनी र बचतकर्ताहरुलाई चाहिँ हाम्रो संस्थाको यहाँ यति घरजग्गा छ भन्दै भ्रममा पार्ने । सहकारी सञ्चालक, अध्यक्ष, कर्जा अधिकृतहरु दलालीसँग मिले । दलालीको लहैलहैमा लागेर उसले जहाँ–जहाँ लगानी गर भन्यो, सहकारी सञ्चालक, अध्यक्षहरुले घुस खाँदै त्यसमा लगानी गरे । दलालीले त सोझासाझा जनतालाई जग्गा बेच्यो, जग्गा किन्नेसँग पैसा पुगेन । अनि दलालीले घुस दिएर सहकारीबाट लोन मिलाइदियो, त्यो लोन दलाली आफैंले लियो, जग्गा किन्नेको नाममा पास गराइदियो ।
जग्गा किन्नेले सोचेको थियो कि सहकारीको ऋण बिस्तारै कमाएर तिर्छु । तर शुरुमा १६ प्रतिशत ब्याज भनेको सहकारीले पछि बढाउँदै, बढाउँदै ८० प्रतिशत पुर्यायो । यत्रो चर्को ब्याज ऋणीले तिर्न सकेन । अनि सहकारीले उसको धितो कब्जा ग¥यो । त्यति मात्र होइन, उसको तीन पुस्तेलाई कालोसूचीमा पारिदियो ।
अब ऋणीसँग न धितो भयो, न एक रुपियाँ पैसा । उल्टै उसका छोराछोरी, नातिनातिनाको समेत भविष्य बर्बाद भयो । अनि कुनै बाटो नदेखेपछि ऋणीले आत्महत्याको बाटो रोज्यो । दलाली र सहकारीको चंगुलमा परेर तहसनहस हुने थुप्रै छन् । तर भनिन्छ कि पाप धुरीबाट कराउँछ । त्यस्तै भयो सहकारी र दलालीहरुलाई पनि ।
अहिले घरजग्गा, गाडी र शेयर कारोबार ठप्प छ, जसका कारण दलालीहरु भाग्नुपरेको छ भने सहकारी त टाट नै पल्टियो । सहकारीले धमाधम धितो त लिलाम ग¥यो तर बेच्न सकिएन । यसका कारण सहकारीले बचतकर्तालाई ब्याज र कर्मचारीलाई तलब दिन सकेन । ब्याज नपाएपछि बचतकर्ताहरु आफ्नो रकम माग्न गए । तर सहकारीले फिर्ता दिन सकेन । दिन्छु, दिन्छु भन्दाभन्दै रातारात सहकारी सञ्चालक, अध्यक्षहरु फरार भए भने कतिपय पक्राउ परी जेल सजाय काटिरहेका छन् ।
अहिले बैंकमा समेत समस्या आइसक्यो । किनकि बैंकको पनि लगानी सहकारीजस्तै घरजग्गा, गाडी र शेयरमै छ । अर्कोतर्फ, बैंकमा जागिर खानेहरुले पनि आफ्नोसँगै परिवार, आफन्त, साथीभाइहरुको करोडौं रकम राखेका छन् । यसैले, बैंकका सञ्चालक, अध्यक्ष भाग्नेबित्तिकै उनीहरुको पनि कन्तबिजोग नहोला भन्न सकिन्न ।
– रुषा थापा, भक्तपुर ।











प्रतिक्रिया