३२ वर्ष अघिको कुरा हो । नोभेम्बरको महिना थियो । ट्विलाइट भट्टी पसलदेखि बाहिर निस्कदा रातको ११ बजिसकेको थियो । त्यतिबेला म संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत दक्षिण कोरियामा कार्यरत थिएँ । रात्रिकालीन ड्युटी नहुँदा म हरेक साँझ शहरका भट्टी पसलहरु चाहर्न पुग्ने गर्थें ।
भट्टी पसल बाहिर फराकिलो सडक थियो । रात छिपिँदै गए पनि सडक पेटीमा धेरै मानिसको चहलपहल देख्न सकिन्थ्यो । नोभेम्बर महिना भएकाले जाडोले मुटु काँपिरहेको हुन्थ्यो । भट्टी पसलबाट बाहिर निस्केपछि गोजीमा हात राखेर विस्तारै इथेवानको ठाडो गल्लीतर्फ लाग्थेँ ।
त्यो सियोलको बदनाम गल्ली हो । याङ्क्सहरुले गल्लीलाई ‘हुकर हिल’ उपनाम दिएका थिए । रातको १२ बजेपछि हुकर हिल त्यति व्यस्त देखिँदैन थियो । जति ८–९ बजेको समयमा हुन्थ्यो । उक्त गल्लीमा हरेक साँझ २०–२२ वर्षे ठिटाहरुदेखि ६० नाघेका कोरियनहरू यौन खरिद गर्नको लागि आउने गर्दथे ।
रात छिपिँदै गएपछि ग्राहकसँग बिदा भई नयाँ ग्राहकको पर्खाइमा रहेका कोरियन नगर बधूहरू थकित तर आशातित अनुहार लिएर अर्धनग्न अवस्थामा यत्रतत्र डुलिरहेका उदेक लाग्दो दृश्य देखिन्थ्यो । उनीहरुका सेता गाला चिसोमा कठ्याङ्ग्रिँदा रातो भई स्याउ जस्ता देखिन्थे, छुदा नै मैलो लाग्लाजस्तो । धेरैजसो नगर बधूहरूले ओठमा चुरोट च्यापेर बेफ्वाँकले धुँवा उडाइरहेका हुन्थे । चुरोटको खिल्लीसँगै उनीहरूको जीवन पनि जलेर सकिरहेको जस्तो लाग्थ्यो ।
सियोलको मेरो बसाई लम्बिँदै गइरहेकाले हुकर हिलका भट्टी पसलमा कतिपटक पुगे भन्ने ठ्याक्कै यकिन थिएन । तथापि, धेरैपटक गएको हुनाले गल्लीमा भेटिने नगर बधूहरू प्रायः चिरपरिचित झैँ लाग्थ्यो । उही क्या त १ पल्लो गाउँकी पातली, तल बेँसीकी माइली, सँगै मेला भर्न गएका संगिनीहरूजस्तै ।
सूर्यले दिनलाई आधा बाटोमै छोडेर गएपछि रात ढल्किँदै जान्थ्यो । सँगै मेरा रक्सीका बोतलहरू पनि रित्तिँदै जान्थे । म मदहोस भई नशामा टिल्ल परेपछि लडखडाउँदै सुजुको खोजीमा फेरि यताउती भौतारिन्थे ।
हुकर हिलको थोरै उकालो चढेपछि लाग्थ्यो कतै टाढा गएका आफ्ना खसमको पर्खाइमा रहेकी प्यारीले दीयोमा तेल थप्दै पिँढीमा कुरेर बसेकी छिन् । तर, वास्तविकतामा फिस्स फोस्रो मुस्कान छोडेर ग्राहकको प्रतीक्षामा बसेका कोरियन नगर बधूहरू हुन्थे । म उनीहरुको नजिकै पुग्थेँ र, भन्थे ‘खै खै मैया १ चुरोट सल्काउ,’ । उनीहरुले पनि पिउँदै गरेको चुरोट सहजै दिन्थे । यद्यपि, उनीहरु मसँग एक शब्द पनि बोल्दैनथे । अचम्म १ कोरियन नगर बधूहरूले विदेशीहरूलाई रुचाउँदैनन् । त्यो मलाई पहिले नै थाहा थियो । त्यसैले कयौंपटक गल्लीमा जम्काभेट हुँदा पनि म उनीहरुको रोजाईमा म परेको थिइन । तथापि, झ्यापको तालमा ‘हामीलाई पनि माया हेर, पार्वती १ हाम्रो पनि मनै त पार्वती‘’को शैलीमा ‘खाम्सा हामिदा’ पनि भन्नु हौ भनेर कुनै बेला मार्लबोरो, कहिले सालेम चुरोट सल्काएर कुरेर बस्थे ।
रात ढल्केपछि ट्याक्सी चढ्दै गर्दा, सोच्थे ‘कोरियनहरूलाई सेक्स असाध्यै मनपर्ने रहेछ । त्यसैले हुकर हिलमा देह व्यापार मज्जाले चम्केको रहेछ,’ व्यापारको कुरा सोच्दै गर्दा स्कटिस नागरिक तथा पुँजीवादको पिता अडाम स्मिथले ‘द वेल्थ अफ नेसन्स’ मा अदृश्य हात ९इनभिजिबल ह्यान्ड० साह्रै मज्जाले छनोट गरेर राखेको शब्द हो है भन्ने सोच्दै योङसानस्थित ग्यारिजतर्फ फर्किन्थे ।
सैनिक ग्यारिजनको सुत्ने कोठामा पुगेपछि लुगा खोलेर कुर्सीमा राखेर ढङ्ग्रङग विस्तारामा पल्टिएको एकैपटक विहान मात्रै आँखा खुल्थ्यो । तर, विहान उठ्दा ह्वास्स लुगाको गन्धले नजिक जानै सकिँदैनथ्यो । चुरोट र रक्सीको ठ्वास्स गन्थले पेट हुँडलेर बान्ता आउलाजस्तो हुन्थ्यो । स्वास्थ्यलाई पनि नराम्रो, पैसा पनि धुवाँमा उड्ने, अझ विहान चुरोटको गन्धले रिङ्गाटा नै लाग्ने भएपछि ‘एक बारको जुनीमा यस्तो कति सहनु हौ‘ ’भनेर जीवनभर चुरोट नछुने बाचा गरें । त्यहाँदेखि मैले चुरोटलाई चट्टै छोडेँ ।
००००
२५ वर्ष अगाडिको कुरा, अझ भनौ सन् १९९९ को डिसेम्बर ३१ तारिख दिन । बेलुका ७ बजेतिर काठमाडौंस्थित हायात होटलमा सहस्राब्दी ९मिलेनियम० भोज चलिरहेको थियो । सुकिला पहिरनमा सजिएका बेलायती पूर्वगोर्खा सैनिक राजेन्द्र गुरुङको नेतृत्वमा नेपाल प्रहरीको ब्यान्डले साकेला सिलीको सुमधुर धुन बजाइरहेको थियो ।
सांगितिक माहौलमा रातो फ्रेन्च वाइनका साथै ह्विस्की, ब्रान्डी, बकार्डी, मलेबु, टिमरिया र जिन एन्ड टोनिकका चुस्कीले घाँटी सिञ्चित गर्दै जल प्रवाह भइरहेको थियो ।अंग्रेजी नयाँ वर्ष लागिसकेको थियो । घडीको सुईले सायद, विहानको ४ बजाएको हुनुपर्छ । तारागाउँ हायात होटलमा कप्तान जोन कर्नर (जिटिआर) अथवा भोजका व्यवस्थापकले ‘बाहिर बस तम्तयार छन् कृपया त्यसतर्फ लाग्नु होला १’ बसिरहेको कुर्सीमाथि उभिएर सबैले सुन्ने गरी उर्दी जारी गरे । उनको आदेशपछि हामी केही नबोली पार्किङतर्फ गई फटाफट बस चड्यौं । करिब १ घण्टाको यात्रापछि धुलिखेलस्थित मिराबल रिसोर्टमा पुग्छौ । हामी त्यहाँ पुग्दा विहानको खाजा तयार भइसकेको थियो ।
सहस्राब्दीको पहिलो झुल्के घाम हिमश्रृंखला छिचोल्दै रिर्सोटको आँगनमा पोखिएको थियो । हामीले उषाको लाली किरण र सुनौला हिमालको दृश्यावलोकन गर्दै बिहानीको खाजा खायौं । खाजा खाएपछि पुनः बसमा चढेर हामी ललितपुरको मानभवन फर्कियौं ।
तर, मानभवनस्थित बेलायती सैनिक क्वाटरमा पुगेपछि बसमा खाएको खैनी, रातभरिको पार्टी र विहानको खाजा सबै ‘रिटर्न गिफ्ट’ भयो । आन्द्रा नै चुँडिएलाजस्तै गरी सबै फर्कियो । नयाँ वर्षको पहिलो विहानीमा आकाशको तारा देख्ने गरी बान्ता गरेको दिनदेखि मैले जिन्दगीमा खैनी, सूर्तीको नजिक पुग्ने आँट कहिलै गरिनँ । सधैंभरीका लागि बिदाबारी गरें ।
०००
२० वर्ष अगाडिको कुरा हो । श्रीमती तारासँग उत्तरी आन्ध्र महासागरदेखि ल्याइएको झिङ्गे माछा र इटालियन वाइनको स्वाद क्यास्चलमारा रेष्टुराँ मम्बल्स स्वान्जीमा लिइरहेको थियौं । दक्षिणी वेल्समा रहेको उक्त इटालियन रेष्टुराँ भौगोलिक रुपले अति राम्रो स्थानमा रहेको छ । अझ रोचक के छ भने त्यहाँदेखि नजिकै मभन्दा लगभग ५ वर्ष कान्छी क्याथरिन जिटा जोन्स (नायिका) र १५ वर्ष जति जेठी बन्नी टेलर (गायिका)का घर रहेका छन् ।
बेलायती सैनिक जीवन व्यतित गरिसकेपछि त्यस दिन माछा र रोटीसँग भरपुर वाइन पिइयो । त्यहाँदेखि निस्केर समुन्द्री किनारमा अंग्रेज चालकले पार्क गरेर राखेको मोटर नजिक जाँदै थियौं । मलाई अचानक रिङ्टा लाग्यो । सारा समुन्द्र ममाथि नै घोप्टिर आएझैँ भान भयो । सपना हो वा विपना केही थाहा भएन । शरीर थर्रर काप्यो । त्यसपछि थुँचुक्कै भुँइमा बसें । दुवै हात टाउकोमा राखे, शीर शिशिल भयो । तारा पनि आत्तिइन् । आज मेरो अन्तिम दिन रहेछ भन्दै देवी देवता, परिवार, आफन्त, इष्टमित्र सबैलाई सम्झिएँ । तीन लोक, चौध भूवनको यात्रा गरेर पुनः पृथ्वीमा पछारिएको दिनदेखि मैले हो, जाँडरक्सी पनि छोडेँ ।
रक्सी, चुरोट, खैनी, सूर्ती छोडेपछि स्वस्थ जीवनशैलीको यात्रा गर्न थालेको छु । यसले मेरो जीवनमा ठूलो परिवर्तन ल्याएको छ । अहिले मेरो शारीरिक, मानसिक स्वास्थ एकदम ठीक भएको छ । वास्तवमा स्वास्थ कति मूल्यवान रहेछ भन्ने कुरा मेरो सानो अनुभवमा बाँड्न त सक्दिन । तैपनि जीवन कालमा गरेको अनुभव चाहिँ सबैभन्दा ठूलो धन सम्पत्ति भनेको स्वास्थ शरीर नै रहेछ ।
अँ।।।स्वास्थको कुरा गर्दा मेरो शरीरको छालाको कुरा गर्नोस वा तौलको । मादक पदार्थ छोड्नाले मलाई ठूलो फाइदा भएको छ । अझै हरेक बेलुकी पश्चिमी दर्शनका पुस्तकका पानाहरु पल्टाउदा पल्टाउँदै म आरामले सुत्ने सक्ने भएको छु । बिहान उठेर ऐना हेर्दा शरीरको संरचनामा सुधार आएको महसुस गरेको छु । मलाई मानसिक पीडा पटक्कै छैन । छाल नआएको बेलाको सागरको पानीझैँ मन शान्त छ । सामाजिक सञ्जालमा असल र सकारात्मक विचार लेख्न थालेको छु । जसको परिणाम मित्रहरूको संख्या बढ्दै गएको छ । परिवारका सदस्यहरुसँग मात्र होइन, समाजमा राम्रो सम्बन्ध गाँस्न सफल भएजस्तो लाग्छ ।
मेहनतको कमाई थोरै भए पनि बचत गर्न सकिएको छ । नयाँ नयाँ स्थानमा पुगेर नयाँ कुरा सिक्ने, अनुभव गर्ने । घरमा फर्केर सन्तानहरूलाई तिनै नयाँ स्थानको नयाँ ज्ञान दिन सक्छु। त्यसबाट प्रेरित भएर बेलायतको प्रतिष्ठित युनिभर्सिटीहरू क्रमशः लिभरपुल र क्वीन म्यारीदेखि छोरा शल्य चिकित्सक र छोरी अधिवक्ता बनाउन सकेँ । यो सबै जाँडरक्सी छोडेर हासिल गरेको मेरो उन्नत उपलब्धि हो ।
जाँड, रक्सी, चुरोट, बिँडी र खैनी छोडेपछि उमेरले तीन बीसमा हिँडिरहँदा पनि जोस जाँगर भने भर्ती हुने बेलाको जस्तै छ । श्रीमतीको माया झन् बढेर गएको छ । हरेक साँझ विजय चोक, प्रयागमार्गका भट्टी पसलदेखि खुट्टा बाङ्गो टिङ्गो गर्दै डेरा फर्कदै गर्दा मूलढोका अगाडि उभिएर, हेर १ जड्याहको गति । यस्तालाई त जिउँदै बागमतीले बगाएर आउनु नि, किन नलगेको होला रु, ‘ बिग्रेको लाहुरे,’ भन्ने जस्ता शब्द सुन्न छोडेको दुई दशक भइसकेको छ । जे जति खाइयो, पिइयो । त्यो सबै इतिहास भइसकेका छन् । अहिले कुनै पश्चाताप छैन । किनभने कलेजोले नयाँ रुप लिइसक्यो । जीवन जिउने क्रममा जे जति गल्ती भए ती सबैले पाठ सिकाएका छन् । अझै सबैभन्दा ठूलो पाठ त ढकाल गाउँका पण्डित बाजेले उबेलामा ‘ किराँतीको छोरो हो । जाँडरक्सी छोडेपछि त्यसै मान्छे बन्छ । अझै म जस्तो बनारसमा पढ्ने अवसर पायो भने उच्च ओहदामा पुगेर हामीलाई नै शासन गर्ने खतरा पनि हुन्छ,’ भनेको अहिलेझैँ लाग्छ ।
– अक्सफोर्ड, इग्ल्यान्ड











प्रतिक्रिया