लैङ्गिक अल्पसंख्यक पारालैंगिक पात्र (ट्रान्सवुमन) को कथामा बनेको फिल्म गुन्यु चोलो : द ड्रेसको गीत म फूल हुँ कि काँडा ललितपुरमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ।
लेखु सहयात्रीको शब्दरचना र संगीत तथा मनीषा पोखरेलको स्वर रहेको गीतमा आफूभित्र पनि प्रेमिल मनको माया गर्ने चाहना पोखिएको छ। आफूलाई माया गर्ने हो भने भागेर जान तयार तर माया गरेको प्रमाण दिन गीतमा आग्रह गरिएको छ। गीतको भिडियोमा नाजिर हुसेनले नृत्य गरेका छन्। नाजिरले महिलाको भेसमा गेस्चर र पोस्चरमा मेहनत गरेका छन्। भिडियोमा सुशील सिटौलालाई पनि प्रस्तुत गरिएको छ।
आगामी भदौ १३ गते रिलिजमा आउने फिल्म समुन्द्र भट्टले निर्देशन गरेकी छन्। फिल्ममा नाजिर हुसेनले पारालैंगिक महिला (ट्रान्सवुमन) को मुख्य भूमिकामा अभिनय गरेका छन्। नाजिरका साथमा सञ्चिता लुईंटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायतका कलाकारले अभिनय गरेको फिल्म नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा बनेको निर्देशक भट्टले जनाएकी छन्।
फिल्मको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ।फिल्मको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ। फिल्मको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ। फिल्ममा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन्। लिजाले हलिउड फिल्म ग्ल्याडिएटर– २ मा स्वर दिएकी थिइन्।
नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको फिल्म आकाश बुढाथोकी र भि–भन्से जानुबोनले निर्माण गरेका हुन्। जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता र अनुपम श्रेष्ठ सहयोगी निर्माता रहेको फिल्ममा लेखु सहयात्रीको गीत रचना र आलोक शुक्लाको छायांकन रहेको छ।











प्रतिक्रिया