देशभर मनसुनी प्रभाव, धेरै ठाउँमा वर्षा र हावाहुरीको सम्भावना


काठमाडौं ।

देशभर हाल मनसुनी वायु सक्रिय रहेको छ भने भारतको उत्तर प्रदेश आसपासको न्यूनचापीय क्षेत्रको समेत असर परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको बताइएको छ।

बिहीबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भू-भागमा वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा हावाहुरीको सम्भावना रहेको छ। राति पनि आंशिकदेखि सामान्य बदली रहनेछ भने कोशी, मधेश र पहाडी भू-भागका केही स्थानमा वर्षा हुने अनुमान गरिएको छ।