ढुङ्गासहितको पहिरोले लागेर एक जनाको मृत्यु,  दुई घाइते

6.3k
Shares

दोलखा।

दोलखाको विगु गाँउपालिका वडा नम्बर– १ हुरहुरे भन्ने ठाँउमा सानीमा हाईड्रो पावर कम्पनीको बाटो सर्वे गर्ने क्रममा माथिबाट खसेको ढुङ्गासहितको पहिरोले लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

ढुङ्गासहितको पहिरोले लागेर गम्भीर घाइते भएका सानीमा हाईड्रो पावर कम्पनीमा कार्यरत सव– इन्जिनियर नुवाकोट जिल्ला विदुर नगरपालिका वडा नम्बर– ४ का २९ वर्षीय सुनिल न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले बताए । 

बुधवार २ः३० बजे हुरहुरेमा ढुङ्गा सहितको पहिरो खस्दा बाटो सर्बेका लागि पुगेका सानीमा हाईड्रो पावर कम्पनीका सब इन्जिनियर न्यौपाने, रामेछापको लिखुतामाकोशी गाँउपालिका वडा नम्बर– ४ का २९ वर्षीय विशाल बुढाथोकी र सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नम्बर– १ भोटेचौरका २७ वर्षीय सन्दिप चौलागाई घाइते भएका थिए । 

घटना लगतै इलाका प्रहरी कार्यालय लामाबगरबाट पुगेको प्रहरी टोलीले तीनै जनालाई उद्धार गरेको र गम्भीर घाइते न्यौपानेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौँ लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक महतोले बताए । दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।