काठमाडौं।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, २०८१’ बाट पूर्वमन्त्री प्राध्यापक मानबहादुर विश्वकर्मालाई पुरस्कृत गरेको छ । बुधबार एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले प्राध्यापक विश्वकर्मालाई पुरस्कार प्रदान गरे । दलित समुदायमा शैक्षिक एवम् राजनीतिक जागरण ल्याउने, अधिकार सुनिश्चित गर्ने, मुलुककाे प्रजातान्त्रिक आन्दोलन एवम् मानवअधिकारका क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेवापत प्राध्यापक विश्वकर्मालाई सरकारले एक लाख नगद र ताम्रापत्रसहित उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो ।
राणाशासनमा नै दलित जागरणको आन्दोलनमा होमिएका दलित मुक्ति आन्दोलनका संस्थापक नेता भगत सर्वजित विश्वकर्माको सम्मानमा सरकारले २०७२ सालमा उक्त पुरस्कार स्थापना गरी राजनीतिक, सामाजिक, शैक्षिक र सांस्कृतिक क्षेत्र, दलित मुक्ति आन्दोलनको क्षेत्र, समाज सुधार अभियानको क्षेत्र, मानव अधिकारको क्षेत्र र सीप, कला, शिक्षा–साहित्य, संस्कृति, लेखन तथा अध्ययन अनुसन्धानको क्षेत्रमा योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष पुरस्कृत गर्दै आएको छ । सन् १९४८ मा अर्घाखाँचीको सन्धिखर्कमा जन्मिएर विद्यालयस्तरसम्मको अध्ययन गाउँबाटै शुरु गरी भारतको राँची विश्वविद्यालयबाट एमएस्सी गरेका प्राध्यापक मानबहादुर विश्वकर्माले वि.सं.२०३४ सालदेखि प्राध्यापन शुरू गरेका थिए ।
राष्ट्रिय शिक्षा पुरस्कार,२०४३ बाट समेत पुरस्कृत विश्वकर्मा वि.सं. २०३४–२०४७ सालसम्म अमृत साइन्स क्याम्पस प्राध्यापन गरेका विश्वकर्माले काठमाडौ भ्याली क्याम्पस (काठमाडौं विश्वविद्यालयको) संस्थापक भई वि.सं २०४२–२०४९ सम्म प्राध्यापन गरेका थिए । तत्पश्चात् सक्रिय राजनीतिमा प्रवेश गरी शिक्षा, राजनीति र सामाजिक रुपान्तरणमा उनी क्रियाशील रहँदै आएका छन् ।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघको संस्थापक सभापति भई तीन कार्यकाल केन्द्रीय अध्यक्ष भए । उनी २०६२ सालदेखि लगातार चार कार्यकाल निर्वाचित केन्द्रीय सदस्य हुन । वि.सं. २०६३ सालमा क्याबिनेट स्तरको वातावरण, विज्ञान र प्रविधि राज्यमन्त्री, संविधान सभा सदस्य, प्रतिनिधि सभा सदस्य भए ।
नेपाल परिवार नियोजन संघको केन्द्रीय महासचिवसमेत भइसकेका विश्वकर्माले लामो समयसम्म पार्टीको केन्द्रीय प्रशिक्षक भई करिब ७० जिल्लामा पुगेर प्रशिक्षितसमेत गरेका छन् । ‘भेक्टर एनालाइसिस् : सर्टिफिकेट लेभल : टियू, नेपाली कांग्रेस र दलित पुस्तकका लेखकसमेत रहेका विश्वकर्माको पहलमा पार्टीभित्र सहमहान्त्री तथा केन्द्रीय सदस्यमा दलित आरक्षको व्यवस्था गर्नुका साथै दलित विद्यार्थीलाई उच्च शिक्षामा छात्रवृत्ति, एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनमा आरक्षण तथा निजामती सेवामा आरक्षण सिटको व्यवस्था गरिएको थियो ।
प्राध्यापक विश्वकर्माको नेतृत्वमा दलित समुदायका लागि राज्य संरचनामा प्रतिनिधित्व सुनिश्चित गर्न महत्वपूर्ण नीतिगत सुधारहरू गरिएका थिए । दलित संघको सभापति साथै नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुँदा दलितको लागि पार्टीबाटै नीति निर्माणमा दलितहरुको समावेशिता, सहभागिता, आरक्षण र दलित जागरणको लागी महत्वपूर्ण निर्णय गराए । नेपाली कांग्रेसको पार्टीमा दलितलाई एक जना पनि केन्द्रीय सदस्यमा आरक्षण थिएन । तर, मान बहादुर विश्वकर्मा खुल्ला केन्द्रीय सदस्य निर्वाचित भएपश्चात् उनकै पहलमा अहिले ९ जना केन्द्रीय सदस्य, एक जना सहमहामन्त्री साथै पार्टीको हरेक निकायमा आरक्षण कोटामा सहभागिता रहेका छन ।
शिक्षा क्षेत्रमा उनले दलित विद्यार्थीहरूका लागि एमबीबीएस, इन्जिनियरिङलगायत उच्च शिक्षामा छात्रवृत्ति र आरक्षण प्रणाली सुनिश्चित गरेका कारण वि.सं. २०५८ सम्म देशभर दलित समुदायबाट जम्मा दुई जना एमबीबीएस डाक्टर रहेका अवस्थामा हाल उक्त संख्या १५० भन्दा बढी पुगेको छ । त्यस्तै उनकै पहलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिर मेमोरियल कलेज र अन्य संस्थाहरूमा दलित विद्यार्थीका लागि आरक्षित सिट व्यवस्था गरिएको हो । प्राध्यापक विश्वकर्मा मन्त्री हुँदा निजामती सेवामा ९ प्रतिशत आरक्षणको नीति लागू गराएकै कारण हाल सयौं दलित कर्मचारीहरू प्रशासनिक सेवामा कार्यरत छन्, जसमा सहसचिव तहसम्मको पद पनि समावेश छ ।











प्रतिक्रिया