काठमाडौँ ।
नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो १९ औं स्थापना दिवसका अवसरमा दुई जना पत्रकारलाई सम्मान गरेको छ।
एक समारोहबिच विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी र ‘नेपाली मातृभाषा विशिष्ट साहित्यिक पत्रकारिता सम्मान ‘भोजपुरिया माटी’ साहित्यिक पत्रिकाका सम्पादक रामप्रसाद साहलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले समर्पण गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले साहित्यिक पत्रकारिताले सर्जकहरू उत्पादन गर्न खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले नेपाली भाषा साहित्यको उन्नयनमा साहित्यिक पत्रकारिताले ऐतिहासिक योगदान गरेको कदापि भुल्न नसकिने बताउँदै समावेशी र समानताको आधारमा साहित्यिक पत्रकारले भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले बौद्धिक कृत्रिमता अर्थात् एआइमा संस्कृतिको अभाव रहेकाले लेखक ,साहित्यकार र पत्रकार त्रसित हुनुपर्ने अवस्था नरहे पनि यसको प्रयोग सजगतापूर्वक गर्न अनुरोध गर्दै साहित्यिक पत्रकारिताको विकासमा प्रज्ञा-प्रतिष्ठान लागिपर्ने बताए।
कार्यक्रममा सम्मानित व्यक्तित्वलाई नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले दोसल्ला ओढाएर सम्मान प्रकट गरे ।

कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक ईश्वरचन्द्र ज्ञवालीले सङ्घले साहित्यिक पत्रकारिताको विकासमा पुर्याएको योगदानबारे विशेष चर्चा गर्दै साहित्यिक पत्रकारिताले यथार्थ र स्वत्वलाई आत्मसात् गरेको बताए।अर्का विशिष्ट अतिथि वरिष्ठ पत्रकार तथा साहित्यकार पुरुषोत्तम दाहालले साहित्यिक पत्रकारिताको प्रबर्द्धनका लागि सरकारले भूमिका निर्वाह गर्नुपर्ने बताउँदै भाषा ,साहित्य र संस्कृतिको संरक्षणबिना समाज अघि बढ्न नसक्ने बताए ।
कार्यक्रमका विशेष अतिथि भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेलले साहित्यिक पत्रकारितालाई राज्यले जति उपेक्षा गरे पनि आफ्नै बलबुताले टिकेको बताए । सङ्घका वरिष्ठ उपाध्यक्ष वियोगी बुढाथोकीले साहित्यिक पत्रकारिता व्यक्तिले आफ्नै करबलमा टिकाएकोबारे चित्रण गरे ।
सम्मानित साहित्यिक पत्रकार शशी पन्थीका बारेमा सङ्घका उपाध्यक्ष रामप्रसाद पन्त र रामप्रसाद साहका बारेमा सङ्घका उपमहासचिव नवराज रिजालले उनीहरूको योगदानबारे चर्चा गरे । सम्मानित साहित्यिक पत्रकार द्वय ‘हाम्रो पुरुषार्थ’ साहित्यिक त्रैमासिकका सम्पादक शशी पन्थी तथा ‘भोजपुरिया माटी’का सम्पादक रामप्रसाद साहले साहित्यिक पत्रकारिता गर्दाका सहज असहज पक्षबारे धारणा राखे ।
कार्यक्रमका सभाध्यक्ष नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवालले सम्पूर्ण साहित्यिक पत्रकारहरूको साझा सङ्गठनका रूपमा सङ्घले पुर्याएको योगदान कसैले भुल्न नसक्ने बताए। मूलत:छापामाध्यम र विद्युतीय साहित्यिक पत्रकारितासँगसँगै हिड्न सक्ने बताउँदै सङ्घमा आबद्द हुने क्रम बढेको बताए ।
सङ्घका महासचिव चेतनाथ धमलाले स्वागत मनतव्य,सङ्घका केन्द्रीय सचिवालय सदस्य गणेश राईले धन्यवाद ज्ञापन तथा उद्घोषण सङ्घका कोषाध्यक्ष सूर्यप्रसाद लाकोजूले गरे ।











प्रतिक्रिया