एक दशकपछि बागदरबारमा रेक्ट्रोफिट हुँदै

2.35k
Shares

–आज टेन्डर हुँदै , दुई वर्षमा सम्पन्न गर्ने योजना
–साढे ७४ करोड लागत, आगामी आवदेखि काम शुरू हुने

काठमाडौं ।

जीर्ण बागदरबार एक दशकपछि जीर्णोद्धार हुने भएको छ । काठमाडौं महानगरपालिकाको मुख्यालय रहेको बागदरबारमा रेक्ट्रोफिट गरी जीर्णोद्धार गर्न लागिएको हो । २०७२ सालको वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त दरबारमा करिब साढे ७४ करोड रुपियाँमा रेक्ट्रोफिट हुन लागेको हो । करिब १७ रोपनी क्षेत्रफलमा फैलिएको बागदरबार दुई वर्षभित्र रेक्ट्रोफिट गरिनेछ । पुरातत्व विभागले हालकै अवस्थामा रेक्ट्रोफिट गर्न दिने निर्णय गरेपछि कामपाले रेक्ट्रोफिट गर्ने प्रक्रिया शुरू गरेको हो ।

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले सय वर्ष पुरानो दरबार संरक्षण गर्ने दायित्व विभागको भएकाले सोहीअनुसार नभत्काईकन रेक्ट्रोफिट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पुरानो नक्सामा जस्तो छ, त्यस्तै हुनुपर्छ । सोही आधारमा निर्णय गरेका हौं ।’

कामपाले रेक्ट्रोफिट प्रक्रियामा जाने विषयको सूचना आज बुधबार प्रकाशित गर्नेछ । ‘सोमबार निर्णय भयो, आज नोटिस आउँदै छ’ –कामपा स्रोतले भन्यो । विभागले रेक्ट्रोफिट शुरू गरेदेखि अनुगमन गर्ने जनाएको छ । यसअघि करिब ९० करोड रुपियाँमा रेक्ट्रोफिट गर्ने तयारी भइरहेको थियो । मूल्याङ्कन बढी भएको भन्दै मेयर बालेन्द्र साहले प्रक्रिया स्थगित गर्न निर्देशन दिनुभएको थियो ।

०७६ मा भूकम्पले क्षति भएको बागदरबार भत्काउने तयारी गर्दा सर्वोच्चले रोकिदिएको थियो । अर्थ मन्त्रालयको स्वामित्वमा रहेको सो दरबार कामपाको स्वामित्वमा छ । विसं २०६० पुस २८ गते तत्कालीन सरकारले उक्त दरबार कामपालाई भोगचलन गर्न दिएको थियो ।

अर्थ मन्त्रालयको भवन कामपाले लिएपछि कामपाले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भवन निर्माण गरेको थियो । भवन निर्माण सम्पन्न भएलगत्तै २०६० चैत २७ गतेदेखि महानगर मुख्यालय बागदरबारमा सरेको थियो ।
अघिल्लो कार्यकालका मेयर विद्यासुन्दर शाक्यले जीर्ण वागदबार भत्काएर ऐतिहासिक भवन बनाउने योजना गर्नुभएको थियो । मेयर शाक्यको सो निर्णयविरुद्ध जनहित संरक्षण मञ्चका तर्फबाट वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, रमा पन्त खरेल र सम्पदा जोगाउ अभियन्ता सञ्जय अधिकारी र गणपतिलाललगायतले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

सर्वोच्चले २०७५ चैत ५ गते भूकम्पले क्षति पुगेको बागदरबारलाई आवश्यकता अनुसार हावापानीबाट जोगाई थप क्षति हुन नदिने गरी संरक्षण गर्न आदेश दिएको थियो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलासले सो निर्णय गरेको हो ।

‘उक्त संरचनालाई थप हानि हुन नदिने कार्य र उपाय तत्कालै अवलम्बन गर्न गराउन नेपाल सरकार अर्थ मन्त्रालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग र महानगरपालिकाको नाममा निर्देशनात्मक आदेशसमेत जारी गरिएको छ ।
अदालतले १५ दिनभित्र पुरातत्व विभागका महानिर्देशकको संयोजकत्वमा काठमाडौं महानगरपालिकाका, उपत्यका विकास प्राधिकरण, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको प्रतिनिधि वा पुरातत्वविद्, इतिहासकार, संचरनाविज्ञ, वास्तुविद्, आर्किटेक्ट इन्जिनियर सम्मिलित विज्ञ टोली बनाउन परमादेश दिएको थियो ।

लामो समयसम्म काठमाडौं महानगरपालिकाले मुख्य कार्यालयका रूपमा प्रयोग गरेको सुन्धारास्थित बागदरबारमा हाल कामपा महानगर प्रहरी बलको मुख्य कार्यालय छ । ‘तल्लो तलामा हामी बसेका छौं, माथिल्लो तला जीर्ण छ’ –कामपा प्रहरी बल प्रमुख राजुनाथ पाण्डेले भन्नुभयो ।

‘भवनका झ्याल,भ¥याङ, शौचालयजस्ता संरचनाहरू प्रयोग गर्न नसकिने अवस्थामा छन् । कामपाले चालू आबबाट रेक्ट्रोेफिट शुरू गरेपछि २ वर्षमा तयार गर्ने योजना बनाएको छ । हरेक वर्षको बैठकमा वागदबार रेक्ट्रोफिट र जीर्णोद्धार गर्ने भन्दै रकम विनियोजन गर्ने गरेको थियो । बल्ल आगामी आवमा जीर्णोद्धार शुरू हुने आशमा छांै’ –कामपाका प्रवक्ता नवीन मानन्धरले नेपाल समाचारपत्रसँग भन्नुभयो । इतिहासमा बागदरबार सन् १८०५ मा भीमसेन थापाले निर्माण गरेको उल्लेख छ ।

पुरातत्व विभागको सहमतिमा यसअघि वसन्तपुरको नौतले, गद्धी बैठक, त्रिचन्द्र कलेज र घण्टाघरलगायतका संरचना रेक्ट्रोफिट भइरहेको छ । विभागले पुराना राणाकालकालका जीर्ण सबै दरबार जीर्णोद्धार गर्ने तयारीमा रहेको जनाएको छ । विभागले २०७४ कात्तिक १५ गते महानगरलाई लेखेको पत्रमा ‘दरबारको भित्री जग बलियो रहेको र सबलीकरण गर्न सकिने उल्लेख गर्दै रेक्ट्रोफिट गर्न सुझाव दिएको थियो ।

विसं २०७५ भदौमा बागदरबार भत्काउन बोलपत्र आह्वान गरेको थियो । भत्काउन झन्डै ३ करोड रुपियाँको हाराहारीमा टेन्डरसमेत परेको थियो । चौतर्फी विरोध भएपछि रोकिएको थियो । अब भने पक्कै रेक्ट्रोफिट हुने सम्भावना रहेको कर्मचारीको भनाइ छ । विभागका महानिर्देशक प्रधानाङ्गले एक साताअघि पुरानै शैलीमा बनाउने निर्णय गरी कामपामा पठाइएको जानकारी दिनुभयो ।