बिपी राजमार्गमा साउन १ गतेदेखि रातिमा सवारी चलाउन नपाइने


काठमाडौं।
बाढी, पहिरो र लेदोका कारण हुने सम्भावित जोखिम न्यूनीकरण तथा यात्रु सुरक्षालाई ध्यानमा राख्दै बिपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा रोक लगाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले साउन १ गतेदेखि ३१ गतेसम्म प्रत्येक दिन साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी सवारी आवागमन रोक्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार यो निर्णय काभ्रेभञ्ज्याङ–भकुण्डेबेशी हुँदै सिन्धुली जाने बिपी राजमार्ग खण्डमा लागू हुनेछ।

गत असोजमा रोसी खोलामा आएको बाढीका कारण राजमार्गको काभ्रेभञ्ज्याङदेखि कटुन्जेबेशीसम्म सामान्य क्षति पुगेको थियो भने कटुन्जेदेखि सिन्धुलीको सिमाना बोक्सी कुनासम्मको करिब २९ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।

यसअघि पनि असार ६ गतेदेखि राति ६:३० बजेदेखि बिहान ५ बजेसम्म बिपी राजमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको थियो। वर्षाका कारण बिपी राजमार्गमा पहिरो झर्ने सम्भावना उच्च भएकाले यात्रुहरूको सुरक्षाका लागि रातिको समय सवारी आवागमन रोकिएको प्रशासनले जनाएको छ।