ललितकला प्रतिष्ठानको प्राज्ञसभा


नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १८औं प्राज्ञसभा सम्पन्न भएको छ।
प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली र प्रतिष्ठानका पूर्व कुलपति किरण मानन्धरद्वारा संयुक्त रूपमा शुभारम्भ गरिएको कार्यक्रममा कुलपति हार्तम्छालीले प्राज्ञसभाले ललितकला क्षेत्रमा नयाँ आधार तय गर्ने विश्वास व्यक्त गर्दै देशको परिवेश अनुकूल कला सिर्जना गर्ने वातावरण बनाउन कोसिस भइरहेको बताए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मैनालीले प्रतिष्ठानले सीमित स्रोत र साधनकाबिच गरेका काम प्रशंसनीय रहेको र यस्ता कार्यमा सधैं मन्त्रालयको साथ रहने बताए। पूर्व कुलपति किरण मानन्धरले प्रतिष्ठानले अहिले गरिरहेको कार्यको सराहना गर्दै प्राज्ञसभाले नेपाली ललितकला क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउन सफल हुने धारणा व्यक्त गरे।

प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले नेपालको ललितकला क्षेत्रलाई कस्तो बनाउने भन्ने कुरा ललितकलाकर्मीकोे मात्र हुटहुटीले नहुने चर्चा गर्दै सबैको सहयोग र सहकार्यमा मात्र त्यो सम्भव हुने बताए।

प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले स्रष्टाको भूमिका समाजलाई सकारात्मक दिशातर्फ लाने, सकारात्मक ऊर्जा प्रदान गर्ने हुनुपर्नेमा जोड दिंदै सामाजिक रुपान्तरण ललितकलाको अभियान मूलभावमा रही प्रतिष्ठानले काम गरिरहेको बताए। सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्राज्ञ सभा सफलताको शुभकामना व्यक्त गर्दै नेपालमा विभिन्न क्षेत्रबाट गरिने अनुसन्धानको काम प्रभावकारी हुनुपर्नेमा जोड दिए।
नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव कुश्मा महरा ‘प्रगति’ ले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानबाट धेरै सिक्न सकिने बताइन्।