दुबईमा अलपत्र परेका पाँच नेपाली युवाको उद्दार


काठमाडौं।

दुबईमा अलपत्र परेका पाँच नेपाली युवालाई सरोकार केन्द्र नेपालको समन्वयमा मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबईले उद्दार गरी सोमबार नेपाल फर्काइएको छ।

उद्दार गरिएकामा शिवम थापा मगर, दिपेन्द्र कार्की, विशाल कोली, छकबहादुर थापा र सोमबहादुर थापा रहेका छन्। उनीहरूमध्ये चार जना तीन महिना अघि Shan AB International नामक म्यानपावर कम्पनीमार्फत तथा एक जना Link International मार्फत एक महिनाअघि दुबई पुगेका थिए।

उनीहरूले सबैले लेबर भिसामा जनही १ लाख ८० हजार रुपैयाँ बुझाएर रोजगारका लागि दुबई गएका थिए। तर, काम दिनुपर्ने कम्पनीले सम्झौता अनुसारको तलब तथा सेवा नदिएको र जब पीडितहरूले गुनासो राखेपछि उल्टै कुटपिट गरी कामबाट निकालिएको बताइएको छ। त्यसपछि उनीहरू सडकमा अलपत्र परेका थिए।

पीडितहरूले मिस्टर गुरुङ एन्ड रेस्क्यु टिमसँग सम्पर्क गरी उद्दारका लागि आग्रह गरेपछि उनीहरूलाई ३३ दिनसम्म सेफ हाउसमा राखी सरोकार केन्द्र नेपालको पहलमा नेपाल ल्याइएको हो।

सरोकार केन्द्र नेपाल र मिस्टर गुरुङ एन्ड रेस्क्यु टिम, दुबई पछिल्ला दिनहरूमा अलपत्र परेका नेपालीहरूको समस्यामा राहत दिने केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। ती संस्थाहरूले पछिल्लो दुई हप्तामा मात्र १० जना नेपालीको उद्दार गर्न सफल भएका छन्।