काठमाडौँ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेका छन्। भाटभटेनी सुपरमार्केटको सहयोगमा निर्माण गरिएको उक्त भवन शिक्षण अस्पतालको ४३औँ वार्षिकोत्सवको अवसरमा महाराजगञ्जमा आयोजित विशेष समारोहबीच उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले नेपाल सरकारले ‘निरोगी नेपाल’ नाराका साथ जनस्वास्थ्यको सुधारमा काम गरिरहेको उल्लेख गर्दै नागरिकलाई रोगमुक्त बनाउने दिशामा सरकार प्रतिबद्ध रहेको बताए। “हामी बिरामी नभइ बाँच्न सकौं भन्ने सरकारको चाहना हो। त्यसका लागि आहार, विहार र जीवनशैलीमा सुधार गर्नुपर्छ,” उनले भने।
प्रधानमन्त्री ओलीले नागरिकमा रोग लागिहालेमा गुणस्तरीय, प्रभावकारी र सहज उपचार सेवा उपलब्ध गराउन राज्य जिम्मेवार रहेको बताउँदै शिक्षण अस्पतालजस्ता संस्थालाई जनताको भरोसा कायम राख्ने गरी काम गर्न आग्रह गरे। उनले चिकित्सकहरूलाई पनि आफ्नै स्वास्थ्यप्रति सचेत हुन सुझाउँदै व्यायाम र प्राणायाम गर्न आग्रह गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ र सावित्री गुरुङद्वारा अस्पताल भवन निर्माणमा गरिएको सहयोगको खुलेर प्रशंसा गरे। “कतिपय मानिसले पैसा कमाएर जुवा र क्यासिनोमा खर्च गर्छन्, तर गुरुङ दम्पतीले अस्पताल बनाउन दान दिनुभएको छ,” प्रधानमन्त्री ओलीले भने, “गुरुङ दम्पतीको दान दिने भावना र क्षमता अझ बढोस्, अनि अरु पनि त्यस्तो सकारात्मक योगदानमा लागुन्।”
उक्त विस्तारित सेवा भवन निर्माण भएसँगै शिक्षण अस्पतालले अझ बढी बिरामीलाई सेवा दिन सक्ने अपेक्षा गरिएको छ। भवनमा नयाँ आधुनिक सुविधा, उपकरण र विशेषज्ञ सेवा सञ्चालन गरिने अस्पताल स्रोतले जनाएको छ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि, त्रिवि शिक्षण अस्पतालका चिकित्सक, कर्मचारी तथा गुरुङ परिवारका सदस्यको उपस्थिति रहेको थियो।











प्रतिक्रिया