भारतीय चलचित्रकी दिग्गज अभिनेत्री सरोजा देवीको निधन


काठमाडौँ।

भारतीय फिल्म क्षेत्रमा लामो समयसम्म राज गरेकी प्रतिष्ठित अभिनेत्री सरोजा देवीको निधन भएको छ। ८७ वर्षको उमेरमा सोमबार बेंगलुरुमा उनको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ।

कन्नड, तमिल, तेलुगु र हिन्दी भाषाका २०० भन्दा बढी चलचित्रमा अभिनय गरेकी सरोजा देवी बहुभाषी अभिनय प्रतिभाका प्रतीक थिइन्। उनको योगदानका लागि भारत सरकारले उनलाई पद्म श्री, पद्म भूषण लगायतका उच्च सम्मानले सम्मानित गरिसकेको छ।

कर्नाटकका मुख्यमन्त्री सिद्धरामैयाले सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली दिँदै लेखेका छन्, “सरोजा देवीको नाम लिँदा ‘कित्तूर चेन्नम्मा’, ‘बब्रुवाहन’ र ‘अन्नाथांगी’जस्ता फिल्ममा देखिएको उनको अविस्मरणीय अभिनय याद आउँछ।”

दशकौंसम्म सांस्कृतिक र पारिवारिक चलचित्रमार्फत दर्शकको मन जितेकी सरोजा देवीको निधन भारतीय सिनेमाका लागि अपूरणीय क्षति भएको सिनेवृत्तमा भनिएको छ।